नागरिकको सुरक्षामा खटिएका प्रहरी आफैँ सुरक्षित छैनन्


प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार

कैलालीको टीकापुर नगरपालिका–७ स्थित प्रहरी चौकी कालाकुण्डा नेपाल–भारत सीमा क्षेत्र नजिकै छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष मानिएको माओवादीको आक्रमणबाट जीर्ण बनेको प्रहरी चौकी अहिलेसम्म पनि त्यस्तै अवस्थामा छ । त्यसै जीर्ण भवनबाट प्रहरीले नागरिकको शान्ति सुरक्षा दिँदै आएको छ । प्रहरी चौकीको अझै स्तरोन्नति हुनसकेको छैन ।

अस्तव्यस्त अवस्थामा रहेका भवनबाट नागरिकको सुरक्षा मात्रै होइन सीमा क्षेत्रबाट हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि समेत काम गर्नुपरेको छ । नागरिकको सुरक्षामा खटिएको प्रहरी आफैँ सुरक्षित छैन । बर्सातको समयमा प्रहरीले झनै पीडा खेप्नुपरेको छ । “पानी परेपछि चुहिन्छ । राम्रोसँग सुत्न पाइँदैन । खाना पकाउने भान्साको जस्ता खियाले खाइसकेको छ । खाना पकाएर खान सकिने अवस्था छैन”, प्रहरी चौकी कालाकुण्डाका इन्चार्ज रेवन्त बोहराले भन्नुभयो, “नागरिकको सुरक्षाका लागि खटिएका हामी नै सुरक्षित छैनौँ । कुन बेला के हुने हो थाहा छैन । न खानाको टुङ्गो छ न बस्नको नै ।”

भजनी नगरपालिका–८ स्थित प्रहरी चौकी जनकपुरको भवनको अवस्था पनि त्यो भन्दा फरक छैन । प्रहरीले करिब ४० वर्ष पुरानो भवनबाट नागरिकको सुरक्षा गर्नुपरेको छ । त्यो पनि आफ्नै भवन होइन । भाडामा लिएर बस्नुपरेको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल भण्डारी बताउनुहुन्छ । घर यति जीर्ण अवस्थामा छ कि घरको छत ढलानमा राखिएका सरिया देखिन्छन् ।

त्यो भन्दा ठूलो समस्या पथरैया नदी प्रहरीका लागि बनेको छ । नदीको किनारमै प्रहरी चौकी भएका कारण बाढी आउँदा सबैभन्दा पहिले त्यही प्रहरी चौकी डुबानमा पर्ने गरेको छ । “एकातिर बस्नको ठेगान छैन भने अर्कोतिर बाढी र डुबानको जोखिम त्यतिकै छ”, भण्डारीले भन्नुभयो, “प्रहरी चौकीका लागि जग्गा छ तर भवन निर्माण हुनसकेको छैन ।”

भजनी–५ पृथ्वीपुरमा रहेको प्रहरी चौकीको नाममा २३ बिघा जमिन छ । भारत सीमासँगै रहेको प्रहरी चौकी नाजुक अवस्थामा छ । छतका सरिया झरिसकेका छन् । त्यस्तै जटिल अवस्थामा बसेर प्रहरीले नागरिकको सुरक्षा गर्दै आएको छ । अहिलेको भवनले हिउँदको शीत पनि छेक्न नसक्ने प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक चरणसिंह बुढथापा बताउनुहुन्छ ।

भजनी नगरपालिकाको सहयोगमा भवन निर्माण कार्य सुरु भए पनि निर्माण सम्पन्न हुनसकेको छैन । भवन निर्माण सुरु भएको तीन वर्ष भइसक्दा पनि बजेट अभावका कारण भवन सम्पन्न हुननसकेको हो । नगरपालिकाले बहुवर्षीय आयोजनाका रूपमा निर्माण गर्ने भनिएको भवन अहिले बजेट अभावमा अलपत्र परेको छ ।

भवनको अवस्था देखेर भजनी नगरपालिकाले करिब रु ३६ लाख बराबरको सुविधा सम्पन्न भवन निर्माण गरिरहेको र छिट्टै निर्माण सम्पन्न गरेर प्रहरीलाई सो भवनमा व्यवस्थापन गर्ने भनिए पनि उपभोक्तामार्फत काम भएका कारण निर्माणमा ढिलाइ भएको छ । निर्माण सम्पन्न नभएकै भवनमा प्रहरी बस्दै आएको छ ।

जोशीपुर गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयको अवस्था पनि त्यस्तै छ । भवनको व्यवस्थापन हुन नसक्दा सेवा लिन आउने सेवाग्राहीले समेत निकै सास्ती खेप्दै आएका छन् । कार्यालय परिसरभित्र बर्सातको समयमा डुबान हुने र परिसर हिलाम्मे हुने गरेको छ । बस्नका लागि निकै समस्या हुँदै आएको प्रहरीको गुनासो छ ।

कैलारी गाउँपालिकास्थित सीमा प्रहरी चौकी रामपुरको कार्यालय कर्कटपाताले छाएको कच्ची घरमा रहेको छ । उक्त प्रहरी चौकीमा कार्यरत प्रहरीलाई पनि हिउँदमा चिसो थेग्न गा¥हो हुने गरेको छ । चैत वैशाख महिनामा हावाहुरीले घरको छाना उडाएर लैजान्छ कि भन्ने चिन्ताले सताउने गरेको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनक धानुक बताउनुहुन्छ । उहाँले गर्मी मौसममा गर्मी थेग्न नै मुस्किल हुनेगरेको बताउनुभयो ।-फाईल फोटो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com