नेपाल-अमेरिका सम्बन्ध : सैन्य सम्बन्ध प्राथमिकतामा, आजदेखि एकमहिने संयुक्त सैन्य अभ्यास गर्दै


प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम हुने भएको छ । ‘एक्स व्यालेन्स नेल २२-५५३०’ नाम दिइएको संयुक्त सैन्य अभ्यास साउन ३१ गतेदेखि भदौ ३१ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।

२०६० सालदेखि नै नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स व्यालेन्स नेल’ विगत सरह नै यस वर्ष उनन्चालिसौँ संस्करण हुन लागेको सेनाले जनाएको छ ।

रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच संयुक्त अभ्यास सञ्चालन हुने छ ।

नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित उक्त संयुक्त तालिमरअभ्यासमा सशस्त्र द्वन्द्वको कानून र सैन्य निर्णय प्रकृया लगायतका विषयमा जानकारी गराइने छ । अभ्यास छाउनी र नगरकोटमा सञ्‍चालन हुने नेपाली सेनाले जनाएको छ ।

उक्त संयुक्त अभ्यासमा सहभागिताको लागि अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्लेक डुकाटेलको कमाण्डमा अभ्यासका लागि आवश्यक पर्ने सैन्य सामग्री सहित हिजो नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले भारतीय र चिनियाँ सेनासँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।   नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास सुरुवात गरेको थियो ।

जुन एक वर्षमा एक पटक नेपाल र अर्को पटक भारतमा गरि दुई पटक हुँदै आइरहेको थियो । तर कोभिड–१९ को संक्रमणको कारण संयुक्त तालिम नियमित रूपमा भने हुन सकेको छैन । त्यस्तै नेपालले चीनको जनमुक्ति सेनासँग सन् २०१७ देखि नेपाल–चीन ‘सगरमाथा मैत्रीपूर्ण’ संयुक्त सैनिक अभ्यास सुरु गरेको थियो ।-फाईल फोटो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com