आयोगले गठबन्धन चिन्दैन,जुन चिह्नबाट जित्यो त्यही दलको हुन्छ: प्रमुख निर्वाचन आयुक्त


प्रकाशित मिति : श्रावण २९, २०७९ आईतबार

निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पु-याउन आह्वान गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउन आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ ।

आमसञ्चार माध्यममका सम्पादक तथा प्रमुखसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचन सफल तुल्याउन महत्वपूर्ण भूमिका रहेको मुलुकका जिम्मेवारी आमसञ्चार माध्यमबाट यसअघि जस्तै सकारात्मक भूमिका प्राप्त विश्वास व्यक्त गर्नुभयो । आयोगले निर्वाचन कार्यतालिका निर्माण, निर्देशिका एवं कार्यविधि तर्जुमा/परिमार्जन, राजनीतिक दल दर्ता आह्वान, आर्थिक व्यवस्थापन कार्यविधि, बजेट तर्जुमा र मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले गठबन्धनलाई निर्वाचन आयोगले नचिन्ने बताउँदै भन्नुभयो, ‘कानुनतः गठबन्धनलाई आयोगले चिन्दैन,जुन चिह्नबाट जित्यो त्यही दलको हुन्छ, निर्वाचनमा उम्मेदवार भएकाहरूको मात्र चुनाव चिन्ह राख्ने हो । निर्वाचनमा भाग नलिएका पार्टीको चुनाव चिन्ह मतपत्रमा राखिदैन ।’

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा हालसम्म एक करोड ८२ लाख कूल मतदाता र करिब १० हजार ८२५ मतदानस्थल रहेको आयोगले जनाएको छ । त्यसैगरी अस्थायी मतदान केन्द्रबाहेक करिब २२ हजार ५०० मतदान केन्द्र रहनेछन् । आगामी निर्वाचनका क्रममा करिब रु १० अर्ब खर्च हुने आयोगले जनाएको छ ।

त्यसैगरी आयोगले मतदातास्थलको पुनरावलोकन, सामनुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम र अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि आह्वान गरेको छ । निर्वाचन आचारसंहितालाई थप व्यावहारिक बनाउने, सञ्चारमाध्यमलाई स्वनियमन गर्न प्रेरित गर्ने, सामाजिक सञ्जालमार्फत हुने राजनीतिक विज्ञापनको अनुगमन गर्ने र निर्वाचन खर्चप्रतिको धारणा र त्यसको वास्तविकताप्रतिको बुझाइ स्पष्ट गर्ने आयोगको सोच छ । आयोगले खर्चको सीमा सूत्रमा आधारित प्रणाली अवलम्बन गरी आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com