२० वर्षमुनिका गर्भवती २५ प्रतिशत


प्रकाशित मिति : असार १८, २०७४ आईतबार

असार १८, २०७४

कानुनत: २० वर्षअघि विवाह गर्न बन्देज छ । तर, दमौली अस्पतालमा प्रसूति गराउनेमा २५ प्रतिशत महिला २० वर्षमुनिकै छन् । २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका उनीहरूको विवाह भने १६ देखि १८ वर्षमा भएको पाइएको जिल्ला स्वास्थ्यको अनुमान छ । ‘कम उमेरमा विवाह नगर्न सल्लाह दिए पनि अझै उमेर नपुगी विवाहको चलन रोक्न सकिएन,’ दमौली अस्पतालका प्रमुख डा. पवनजंग रायमाझीले भने, ‘सानो उमेरको विवाहले उनीहरूको स्वास्थ्यमा पनि असर परेको छ ।’ स्वास्थ्य शिक्षाबारे विद्यालय तहमै बढी जानकारी गराउनुपर्ने उनले बताए ।
अस्पतालको तथ्यांकमा प्रसूति गराउनेमध्ये केही १४ वर्ष उमेरका किशोरी पनि छन् । ‘स्वास्थ्यको दृष्टिले चिन्ताजनक विषय भएकाले उनीहरूलाई सम्झाइबुझाइ पठाउने गरेका छौं,’ उनले भने, ‘कम उमेरमा गर्भवती हुँदा समस्या पर्ने सम्झाउन महिला स्वास्थ्य स्वयंसेविकाको सहयोग लिने योजना छ ।’ २० वर्षदेखि ३५ वर्षसम्म मात्र गर्भवती हँुदा स्वास्थ्य राम्रो हुने उनको सुझाव छ ।
३५ भन्दा माथिको उमेर पनि प्रसूतिका लागि उपयुक्त नभएको स्वास्थ्यको सुझाव छ । १९ वर्षभन्दा कम र ३५ भन्दा माथिको उमेरमा गर्भवती हुँदा मृत्युको जोखिम धेरै हुने जानकारी ग्रामीण तहसम्म पुर्‍याउन संयन्त्र बनाएको उनले बताए । कम उमेरका, हिंसाको सिकार भएकाले गर्भवतीलाई अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत नि:शुल्क उपचार गरिने सम्पर्क अधिकृत ऐश्वर्य भट्टराईले बताए । अस्पतालमा विभिन्न हिंसामा परेका तथा कम उमेरमा गर्भवती भएकाले जटिलता खेपेर आउने ६० जनाको हाराहारी भएको उनी बताउँछन् ।
पीडितका लागि अस्पतालले एक मनोसामाजिक परामर्शकर्तासहित ३ स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ । त्यस्तै एकद्वार उपचारका लागि जिल्ला न्यायधिवक्ता, प्रहरीको महिला सेल, महिला विकास कार्यालय र बार एसोसिएसनलगायत संस्थाबाट अस्पतालमै आएर सेवा दिने व्यवस्था छ । ‘कानुनी उपचार चाहिए जिल्ला न्यायाधिवक्ताले पनि अस्पतालको केन्द्रमै आएर सहयोग गर्नुहुन्छ,’ उनले भने, ‘प्रहरीले गर्ने अनुसन्धानलाई पनि अस्पतालमै गर्ने व्यवस्था गरिएको हो ।’ पीडितले कानुनी, स्वास्थ्य र मनोसामाजिक परामर्शसमेत एउटै स्थानबाट पाउने व्यवस्थाले गोप्यता राख्न पनि सकिएको उनले बताए ।
२ शय्या, मनोसामाजिक परामर्श कक्षसहितको कार्यालय अस्पतालले छुटयाएको छ । अभियानलाई समुदायमा प्रयोग गर्न हरेक विद्यालयमा महिला शिक्षिकालाई लैंगिक सम्पर्क व्यक्ति तोकिएको छ । महिला तथा बालबालिका कार्यालयले हरेक गाविस तहमा महिलाहरूकै अगुवाइमा निगरानी समूह पनि बनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com