नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनलाई कारबाही गर्न माग गर्दै मेयर बालेनको उजुरी


प्रकाशित मिति : श्रावण ३, २०७९ मंगलबार

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले राष्ट्रिय दैनिक नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनलाई कारबाही गर्न माग गर्दै नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन्।

उक्त सञ्चारमाध्यमहरुले महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको साहको आरोप छ।

केही दिनअघि महानगरपालिकाले बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ एउटा फेसबुक पेजलाई फाइदा पुग्नेगरी छुट्याएको समाचार समाचारपत्र र हिमालय टिभीले प्रकाशन र प्रशारण गरेका थिए।

साहले उजुरीमा लेखेका छन्, ‘अमूक संस्थालाई बजेट बिनियोजित गरेको समाचार प्रकाशन तथा प्रशारण गरी पत्रकार आचार संहिता २०७३ को दफा ४ बमोजिम कर्तव्य पालना गरेको नदेखिएकोले सोही आचार संहिताको दफा ७ बमोजिम दुवै सञ्चारगृहलाई क्षतिपूर्ति सहितको कारवाहीको माग गर्दछु । ’

साहले सामाजिक सञ्जालमा लेखेका छन् – ‘सत्य कुरा हो, कुनै पनि पत्रकार र मिडिया सार्वजनिक पद वा सत्ताको प्रतिपक्षी हुनु पर्छ, अख्तियारको दुरुपयोग भएको छ कि वा ति संस्थाहरुले गलत काम गरेका छन् कि भन्ने भन्नेमा सजग रहेर जनमानसमा सूचना दिनु पर्छ । लोकतन्त्रको चौथो आधारस्तम्भका रुपमा पत्रकारितालाई हामी सँधै सम्मान गर्छौँ ।’

‘सँगसँगै यो पनि भन्न चाहन्छौँ कि पुर्वाग्रहपुर्ण प्रतिपक्ष र भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न सक्दैन । लोकतन्त्र र कानुनको पालना सबैले गर्नु पर्छ । यसैले केहि पहिले आएका भ्रामक समाचारहरुका लागि कानुन बमोजिम कारबाहीको गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छौँ ।’ –  साहले बताएका छन् ।

उनले अगाडि भनेका छन् – ‘आशा छ, आगामी दिनहरुमा पत्रकारिताले सहि र सत्य सूचना, समाचार मात्रै सम्प्रेषण गर्नेछ । नागरिकको सूचनाको हकलाई प्रदुषित गर्ने कार्यका विरुद्ध पत्रकारिताक्षेत्र नै जागरुक र सचेत हुनेछ ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com