Follow @khasokhasmag

छोरो च्यापेरै स्कुल जान्छिन् किशोरी


प्रकाशित मिति : असार १६, २०७४ शुक्रबार

असार १६, २०७४- अहिले टिफिन समय भएको छ । कोही विद्यार्थी ग्राउन्डमा खेलिरहेका छन्, कोही क्यान्टिनमा खाजाका लागि झुम्मिएका छन् । क्यान्टिनको अर्को छेउमा स्कुले पोसाक लगाएकी एउटी किशोरी बच्चालाई दूध चुसाइरहेकी छन् ।

बिहान १० बज्न १५ मिनेट बाँकी छँदै कुममा झोला झुन्डाएर, पिठ्युँमा छोरा बोकेर उनी स्कुल आउँछिन् । छोरालाई नर्सरी कक्षामा छाडेपछि प्रार्थनाको लाइनमा पुग्छिन् । मध्यान्न टिफिन समयमा छोरालाई दूध चुसाउँछिन्, खाजा खुवाउँछिन् । फुर्सद भयो भने साथीहरूसँग खेल्न पनि भ्याउँछिन् कहिलेकाहीं । पाँचौं पिरियडपछि छोराको छुट्टी हुन्छ, त्यसैले छैटौं र सातौं पिरियड छोरालाई काखमै राखेर पढछिन् ।
सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत भूमिका परियार बल्ल १८ वर्षकी भइन् । उनको तीन वर्षीय छोरा रिदम पनि सँगै छन् । आमा ९ कक्षामा पढछिन् भने छोरा रिदम नर्सरीमा । बिहान १० नबज्दै र दिउँसो ४ बजेपछि दुईवटा झोला दुईपट्टि, पिठ्युँमा छोरा बोकेर स्कुल आउनु र डेरामा फर्कनु उनको दैनिकी हो । साबिक मराङ गाविसस्थित जनविकास माविमा ८ कक्षा पढदै गर्दा १४ वर्षको उमेरमा उनको परिवारले पल्लो गाउँ साबिक रुम गाविस–२ खबाङका २८ वर्षे किरण परियारसँग विवाह गरिदिएको हो । १५ वर्षकै उमेरमा उनी आमा बनिन् । स्कुल जाने क्रम छुट्यो । ‘बाबा–आमाले बिहे गर्नुपर्छ, हामीले टीकाटालो गरिसक्यौं भनेपछि म पनि खुरुखुरु गएँ । विवाह भन्ने नै थाहा भएन । गर्भवती भएपछि बल्न चेत खुल्यो,’ उनले भनिन् ।

बिहेपछि पढाइ छुटेकी उनी चारवर्षपछि मात्र विद्यालय जान थालिन् । यसमा पनि एउटा दु:खद घटना कारण छ । गत वर्ष डालेघाँस काट्ने क्रममा भूमिका लडिन् र ढाड भाँचियो । ६ महिनासम्म आफैं दिसा–पिसाब स्याहार्न नसक्ने गरी घाइते भइन् ।

लामो उपचारपछि भूमिकाको ढाडमा केही सन्चो त भयो तर पूरै सोझो नहुने भयो । उपचारमा धेरै खर्च भएपछि परिवारमा कचकच पनि थपियो । अब उनलाई पढेर सक्षम हुनुपर्छ भन्ने लाग्न थाल्यो ।
‘मेरा लागि यो बाध्यता थियो, त्यसैले छोरा बोकेर स्कुल आउँदा लाज वा अप्ठ्यारो केही लागेन । त्यसैले पढेर केही गर्छु भन्ने चाहनाले चार वर्षपछि स्कुल आएकी हुँ,’ उनले दृढ स्वरमा भनिन्, ‘गाउँमा हुर्केको, गाउँको स्कुलमै पढेर लामो समयसम्म पढाइ छोडेकी मजस्ती किशोरी आमालाई सहरी वातावरणमा फेरिएको पाठ्यक्रम बुझ्न गाह्रो भएको छ तर जसरी पनि पढाइ पूरा गर्छु, गर्छु ।’

घाइते भएपछि गाउँमा खेतीपाती र बस्तुभाउ सम्हालेर जीविकोपार्जन गर्ने अवस्था रहेन । त्यसैले भूमिकाले निर्णय गरिन्, सदरमुकाम झर्ने र पढाइलाई निरन्तरता दिने । सदरमुकाम बेनीमा एउटा कोठा भाडामा लिई डेरामा बस्दै विद्यालयको पढाइलाई पुन: निरन्तरता दिएकी उनका पति किरण रोजगारीका लागि अहिले कुवेतमा छन् ।

‘उनमा दृढ इच्छाशक्ति र उच्च मनोबल छ । भूमिकाको समस्यालाई ख्याल गरी उनको पढाइलाई कभर गराउन कक्षामा पनि चासो राख्ने गरेका छौं,’ विद्यालयका सहायक प्रध्यानाध्यापक लेखबहादुर हमालले भने, ‘उनको पढाइलाई निरन्तरताका लागि विद्यालयका तर्फबाट गर्ने सबै सुविधा र सहयोग गर्नेछौं ।’

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com