गाडीमा लेखिएका अश्लील सायरी हटाउँदै ट्राफिक प्रहरी


प्रकाशित मिति : असार २३, २०७९ बिहीबार

काठमाण्डौ ट्राफिक प्रहरीले गाडीमा लेखिएका अश्लील, अपाच्य सायरी र गजललगायत सामग्री हटाउन थालेको छ । प्रहरीले गाडीमा लेखिएका अश्लील, अपाच्य, गाली, कानुन विपरीत तथा समाजमा विकृती ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ लेखहरूलाई हटाउने वा मेट्न लगाउने अभियान सञ्चालन गरेको हो ।

गाडीमा लेखिएका त्यस्ता सामग्रीहरुले चालकको ध्यान मोडिइ दुर्घटना निम्त्याएको पाइएपछि अभियान नै ल्याइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नेपालको कानुन विपरीत महिला, बालबालिका, सिमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न पाइँदैन । अश्लील लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिक खलल, हिंसा र विकृती बढाएको तथा सडक सभ्यतामा पनि आँच पुर्‍याएकाले त्यस्ता गतिविधि रोक्नतर्फ लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै गाडीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको छ । ट्राफिक प्रहरीले चालक आसपास क्याबिनमा सजावटका लागि झल्लरलगायतका सामग्री तथा म्युजिक सिस्टम राख्न पनि निषेध गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com