नेपालीलाई एसाइलम दिन नसकिने अमेरिकी पुनरावेदन अदालतको फैसला – ईकान्तिपुर


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

असार १४, २०७४- अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको समाचार इकान्तिपुरमा प्रकाशित भएको छ ।  एक मुद्धामा अमेरिकी पुनरावेदन अदालत, ‘युनाइटेड स्टेटस् कोर्ट अफ अपिल्स फर द सेकेण्ड सर्किट’ले नेपालको राजनीतिक परिदृश्य सकारात्मक बन्दै गरेको र आवेदकले उल्लेख गरे जस्तो भयावह स्थिति नरहेको स्पष्ट पारेको समाचारमा उल्लेख छ । सेकेण्ड सर्किटको फैसलाले एसाइललाई पूर्णरुपमा ब्लक नगरेपनि यो नजिरले एसाइलम स्वीकृत दर प्रभावित हुनसक्छ ।

समाचारमा जनाइएअनुशार थापा थरका एक नेपाली नागरिकको मुद्दामा अमेरिकी पुनरावेदनको सो निर्णयलाई सार्वजनिक गरिएको छ, जसले नेपाली नागरिक सम्बन्धित आगामी असाइलम मुद्दामा नजिरको काम गर्नसक्नेछ । आवेदक थापाले आफू नेपाली कांग्रेसको सक्रिय सदस्य रहेको र माओवादी विद्रोहीबाट आफनो ज्यानको खतरा रहेकोले भागेर अमेरिका पुगेको र यही नै शरण पाँउ भन्दै असाइलम गरेका समाचारमा उल्लेख छ ।

सन २०१४ को जुनमा, इमिग्रेसन सम्बन्धी न्यायधीशले मुद्दालाई अस्वीकृत गरेपछि आवेदकले पुनरावेदन अदालतलाई गुहारेका थिए । सेकेण्ड सर्किटको निर्णयमा भनिएको छ, ‘आवेदनमा उल्लेख भए जस्तो असुरक्षा एवम भयको स्थितिलाई अहिले नेपाल सरकारले नियन्त्रण गरिसकेको छ । आधारभूत रुपमै परिवर्तित नेपालको स्थितिले आफना नागरिकलाई अब कुनै खतरा पैदा गरेको छैन ।’

राष्ट्रपति ट्रम्पको कार्यकालमा असाइलमको प्रकृयालाई पहिले भन्दा कठिन बनाइएको अवस्थामा अदालतको यस्तो निर्णय आएको हो । मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिरेर ग्रिनकार्डको लागि उपयुक्त विकल्पका रुपमा रोजिदै आएको असाइलमको प्रकृया पहिले भन्दा निकै कठिन बनेपछि यसबाट कैयन नेपालीहरु पनि प्रभावित हुने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनका क्रममा जारी निर्देशिकाले पनि अमेरिकामा असाइलमलाई जटिल बनाएको हो ।

 

ट्रम्प प्रशासन र उनी निकटले अमेरिकामा ८० प्रतिशत एसाइलमहरु नक्कली हुने गरेको विश्वास राख्छ । नेपालमा माओवादी युद्ध समाप्त भएर युद्धको नेतृत्व गरेको पार्टी पटकपटक सरकारमा पुगेपनि अधिकांश नेपालीहरुले माओवादीका कारण नेपालमा फर्कन डर रहेको भन्दै एसाइलमको आवेदन दिने गरेका छन् । अधिकांश आवेदनमा माओवादीका कारण नेपाल फर्कन डर रहेको कथाहरु नक्कली हुने गरेका छन् ।

 

 

८ हजार १ सय २७ नेपालीलाई अमेरिकामा एसाइलम

हरेक वर्ष ठूलो संख्यामा नेपालीहरुका एसाइलमहरु स्वीकृत हुँदै आएका छन् । एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार आर्थिक बर्ष सन् २०१६ मा ३ सय १ जना नेपालीहरुले अदालतबाट एसाइलमका मुद्दा जिते भने सन् २०१७ को जनवरीसम्म ८४ जना नेपालीहरुले अदालतबाट एसाइलमका मुद्दा जितेका छन् । सन् २०१७ को अहिलेसम्मको अवधि र सन् २०१६ मा युएससीआईएसबाटै एसाइलमको आवेदन जित्ने नेपालीहरु ३ सयको हाराहारीमा रहेको भएपनि यकिन तथ्यांक भने युएससीआईएसबाट उपलब्ध हुन सकेन ।

युएससीआईएसको तथ्यांक अनशार सन् २०१५ मा ६१७ जना नेपालीहरुको एसाइलम आवेदन स्वीकृत भएको थियो जसमध्ये २५३ जना प्रतिरक्षात्मक र ३६४ जना नियमित एसाइलम पाउनेहरु थिए । त्यस्तै सन् २०१४ मा ५५४ जना नेपालीहरुका एसाइलम आवेदन स्वीकृत भएका थिए । जसमध्ये २५६ जना नियमित एसाइलम गर्नेहरु थिए भने २९८ जनाको प्रतिरक्षात्मक एसाइलम स्वीकृत भएको थियो । त्यसअगाडि सन् २०१३ मा एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या ८५४ रहेको थियो, जसमध्ये नियमित एसाइलम स्वीकृत हुनेहरु ४७३ जना रहेका थिए भने प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु ३८१ जना रहेका थिए । त्यसैगरी सन् २०१२ मा ९७५ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये ५७२ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने ४०३ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए । सन् २०११ मा ७४० जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये ४१७ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने ३२३ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए ।

सन् २०१० मा ६३९ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये ४०८ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने २३१ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए । सन् २००९ मा ६६५ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये ४९३ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने १७२ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए । त्यस्तै सन् २००८ मा ४९९ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये ३४७ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने १५२ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए ।

त्यसैगरी सन् २००७ मा ४१२ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये २८१ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने १३१ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए । सन् २००६ मा ३७६ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये २११ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने १६५ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए । सन् २००५ मा ३२२ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये २३७ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने ८५ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए । त्यसैगरी सन् २००४ मा २५६ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये १६३ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने ९३ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए ।

सन् २००३ मा अदालतबाट एसाइलमका मुद्दा जित्ने नेपालीहरु ६५ जना र सन् २००२ मा ४१ जना रहेको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ । त्यस्तै सन् २००१ मा अदालतबाट एसाइलमका मुद्दा जित्नेहरु ३५ जना र सन् २००० मा ४८ जना रहेका थिए । सन् १९९९ मा ४९ जना र सन् १९९८ मा १४ जना नेपालीहरुले अदालतबाट एसाइलमका मुद्दा जितेका थिए । युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीहरुमा भने सन् १९९७ मा ३ जना, सन् १९९८ मा १७ जना, सन् १९९९ मा १३ जना, सन् २००० मा १७ जना, सन् २००१ मा १९ जना, सन् २००२ मा ६९ जना, सन् २००३ मा १४३ जना रहेका थिए । यसरी हेर्दा अहिलेसम्म अमेरिकामा एसाइलम प्राप्त गर्ने नेपालीहको संख्या ८ हजार नाघिसकेको छ । सन् १९९६ मा नेपालमा माओवादी जनयुद्ध सुरु भएपछिमात्र अमेरिकामा एसाइलम गर्नेहरुको नेपालीहरुको संख्या बढेको हो । यो संख्यामा एसाइलम गरेर थपिएका परिवारका सदस्यहरुको संख्या समावेश छैन ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com