महामारी बेरोजगारी सहायता लिएकाले आज मध्यरातसम्म थप कागजात बुझाउनसक्ने, नत्र रकम फिर्ता गर्नुपर्ने


प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार

सन् २०२० को डिसेम्बर २७ पछि बेरोजगारी विमा अन्तरगत महामारी बेरोजगारी सहायता पीयुएमार्फत रकम लिएका र  मे महिनामा थप कागजात पेश गर्नका लागि सुचना पाएकाहरुले जुलाई १ सम्म थप कागजात नबुझाए पहिले लिएको रकम फिर्ता गर्नुपर्ने हुनसक्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । कागजातहरु आज मध्यरात अगाडिसम्म पठाउन सकिने न्युयोर्क डिपार्टमेन्ट अफ लेबरले जनाएको छ ।

डिपार्टमेन्ट अफ लेबरले थप कागजात पेश गर्न जानकारी गराउँदै सुचित गरेकोमा मे महिनामा थप कागजात पेश गर्नका लागि सुचना पाएकाहरुले जुलाई १ भित्र कागजात पेश गर्नुपर्ने भएपनि त्यो अगाडि सुचना पाएकाहरुका लागि जुन १ सम्मको डेडलाइन रहेको थियो ।

संघीय कानून अनुशार सुरुमा पीयुएका लागि आवेदन दिंदा पीयुए सुविधाका लागि योग्य भएको प्रमाणित गर्ने र साप्ताहिक रुपमा प्रमाणिकरण गरेको हुनुपर्ने भएको भन्दै थप कागजात मागिएको हो । रोजगार, स्वरोजगारको कागजात वा रोजगार तथा स्वरोजगार सुरु गर्ने योजना बनाएको प्रमाणित गर्ने कागजात पेश गर्नुपर्ने जनाइएको छ ।

सन् २०२० को डिसेम्बर २७ वा त्योपछि एकसाता वा त्योभन्दा बढीको पीयुए रकम लिएकाहरुले विगतमा कागजात बुझाएको भएतापनि फेरी बुझाउनुपर्ने जनाइएको छ । तोकिएको डेडलाइन भित्र रोजगार, स्वरोजगारको कागजात वा रोजगार तथा स्वरोजगार सुरु गर्ने योजना बनाएको प्रमाणित गर्ने कागजात पेश नगरेको खण्डमा लेबर डिपार्टमेन्टले त्यसपछि निर्णय पठाउनेछ । यद्यपी त्यस्तो निर्णय पुनरावेदन भने गर्न सकिनेछ ।

तोकिएको डेडलाइन भित्र कागजात नबुझाएको खण्डमा आउने निर्णयले तपाईलाई सम्पूर्ण अवधिका लागि पीयुए सुविधाका लागि अयोग्य सावित गर्नसक्छ । सन् २०२० को डिसेम्बर २७ पछि प्राप्त रकम बढी पठाएको ठहर गरिनेछ भने तपाईले उक्त रकम फिर्ता गर्नुपर्नेछ ।

तोकिएको डेडलाइन भित्र कागजात पेश गरिसकेपछि थप जानकारी आवश्यक परेको खण्डमा लेबर डिपार्टमेन्टले पीयुए लिएकाहरुलाई सम्पर्क गर्नेछ । वा निर्धारणपत्र मार्फत तपाईलाई पीयुए प्राप्त गर्न अयोग्य भएको ठहर गरिनेछ । पेश गरिएको कागजात पनि अस्वीकृत भएमा तपाईले सन् २०२० को डिसेम्बर २७ पछि पाएको रकम फिर्ता गर्नुपर्नेछ ।

कागजात पेश गर्नका लागि तपाईले लेबर डिपार्टमेन्टले पठाएको इमेल हेर्नुपर्नेछ । उक्त इमेलमा तपाइले कसरी कागजात पेश गर्ने भन्नेबारे जानकारी समावेश गरिएको हुन्छ ।

प्रमाणको रुपमा अघिल्लो बर्षको डब्ल्यु टु फर्म पेश गर्न सकिनेछ । यदि तपाईले सन् २०२० को मार्चमा पीयुए आवेदन दिनुभएको थियो सन् २०१९ को डब्ल्यु टु फर्म पेश गर्न सकिनेछ । डब्ल्यु टु फर्म नभएको खण्डमा सन् २०१९ को पेचेक स्टब पेश गर्न सकिनेछ । पेचेक स्टब बुझाउनेहरुले पूरै बर्षको नभई ५ वटासम्म पेचेक स्टब बुझाउनुपर्छ ।

पेचेक स्टब पनि नभएकाहरुले सन् २०१९ को आम्दानी र विदाको स्टेटमेन्ट समेत बुझाउन सक्नेछन् ।

यदि पीयुए आवेदन दिनु अगाडि काम गर्नुभको थिएन भने काम गर्ने योजनामा रहेको कागजात पेश गर्नुपर्नेछ । त्यस्तो अवस्थामा जागिरको अफर गरेको पत्र पेश गर्न सकिनेछ । जागिरको अफरको पत्र नभएको खण्डमा रोजगारदाताका तर्फबाट लेखिएको पहिले रोजगारमा राख्न चाहेको आशयको पत्र पेश गर्नुपर्छ ।

त्यस्तै स्वरोजगारहरुले २०१९ को ट्याक्स रिटर्न पेश गर्न सक्नेछन् । ट्याक्स रिटर्न नभएको खण्डमा १०९९ पनि पेश गर्न सकिनेछ । त्यस्तै संघीय वा राज्यको ट्याक्स आईडी नम्बर समेत पेश गर्न सकिनेछ । विजनेश लाइसेन्स वा विजनेश रिसिप्ट पनि पेश गर्न सकिनेछ । स्वरोजगार सुरु गर्न चाहेको विवरणसहित कुनै व्यक्तिले पत्र समेत तयार पारिदिन सक्नेछन् ।

यदि स्वरोजगार सुरु गर्ने योजना बनाएको तर महामारीका कारण नसकेकाहरुले विजेनश लाइसेन्स वा विजनेशका तर्फबाट राज्य तथा संघीय ट्याक्स आईडी नम्बर, व्यवसायको लिखित योजना वा लिजका कागजात समेत पेश गर्न सकिनेछ ।

यसबारे थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com