काठमाडौंमा फोहरबाट ग्यास निकाल्न सुरु, १४ किलोवाट बिजुली उत्पादन


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

असार १३, २०७४

काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत् रुपमा सुरु गरेको हो । कामपा वडा नं १२ र १९ का बासिन्दाले घरबाट निकालेको जैविक फोहरबाट बायोग्यास उत्पादन गरिनेछ ।

काठमाडौं म‌ंगलबार आयोजित कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरमा पूर्णरुपमा फोहर व्यवस्थापन गर्न सके यहाँको धेरै समस्या समाधान हुने बताए । यसबाट जैविक फोहर व्यवस्थापनका लागि पनि ठूलो सहयोग पुग्ने बताउँदै उनले आफ्नो घर र सहर सफा राख्नु नगरवासीको कर्तव्य रहेको औँल्याए । कामपा उपप्रमुख हरिप्रभा खड्गीले परम्परागत सोचमा परिवर्तन ल्याई फोहर व्यवस्थापनको दिगो कार्ययोजना निर्माण गरिनुपर्नेमा जोड दिइन् ।

कामपाका कार्यकारी अधिकृत ईश्वरीराज पौडेलले फोहरलाई ऊर्जाका रुपमा विकास गर्नका लागि कामपाले सुरु गरेको अभियानलाई सार्थक रुपमा अघि बढाउनुपर्ने धारणा राखे । युरोपेली सङ्घ नेपालका लागि राजदूत रिन्जे टिरिन्कले काठमाडौँलाई विश्वसामु सुन्दर सहरका रुपमा चिनाउन अत्यावश्यक रहेकामा जोड दिए ।

एकीकृत दिगो फोहरमैला व्यवस्थापन परियोजना सञ्चालनका लागि कामपाको २० प्रतिशत र युरोपेली सङ्घको ८० प्रतिशत गरी रु एक करोड ८२ लाख लगानी गरिएको छ । यसका लागि तीन मेट्रिक टन जैविक पदार्थबाट दैनिक ३०० किलोग्राम जैविक मल, १४ किलोवाट बिजुली र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन हुनेछ ।

परियोजना २०७० चैत १८ गतेदेखि सुरु गरिएको हो । सो परियोजनाको मुख्य लक्ष्य फोहरको स्रोत घटाउने तथा पुनःचक्रीय विधिबाट फोहरको प्रयोगसँगै फोहर नफाली आयआर्जनका लागि रुपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिनु हो । रासस 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com