विद्यार्थी नै राख्छन् शिक्षकको अभिलेख
प्रकाशित मिति : असार १३, २०७४ मंगलबार
असार १३, २०७४
सरस्वती मावि च्यारिबुक लेलेपमा कक्षा ६ की दावाफुटी शेर्पा शिक्षकले हाजिर गर्दा एउटा फाराम भर्दै थिइन् । रोल नम्बर १ भनेर बोलाउँदा जुरुक्क उठेर ‘यस सर’ भनेकी उनले बस्नेबित्तिकै आफूले भर्ने फर्ममा १०:३० लेखिन् ।
त्यो पहिलो घन्टी (पिरियड) मा आएका शिक्षक मिङमा ग्यान्जे शेर्पाको कक्षाकोठाको उपस्थिति समय थियो । उनले लेख्न थाल्दा ग्यान्जेअगाडि उभिएर हाजिर गर्दै थिए । यहाँका विद्यालयमा पहिलो कक्षामा शिक्षकले विद्यार्थीको हाजिरी गर्ने चलन छ । त्यही दिन मध्याह्न १२:३० बजे कक्षा ७ का दावा शेर्पा प्रधानाध्यापक राम तामाङकोमा गुनासो लिएर पुगे । चौथो पिरियड पढाउने विज्ञान शिक्षक मिथिलेश यादवले १२:२० बजे कक्षाकोठामा आउनुपथ्र्यो । १० मिनेटसम्म विद्यार्थीले प्रतीक्षामा रहे । त्यतिन्जेलमा पनि नआएपछि उनी प्रअकोमा पुगेका हुन् । ‘हाम्रोमा यादव सर आउनु भएन,’ उनले गुनासो गरेपछि प्रअले जवाफ दिए, ‘आज तालिममा हुनुहुन्छ, त्यसैले आउन सक्नु भएन, तिमीहरू नै पढेर बस ।’
बेलुका ३:४५ बजे ५ देखि १० कक्षासम्मका लिडर विद्यार्थी प्रअ कार्यकक्षमा भेला भए । उनीहरूले साथमा लगेको एकएक कपी प्रअ तामाङलाई बुझाए र छलफल थाले । दावाले विज्ञानको सर कक्षामा नआएको हेड सरले अर्को शिक्षक नपठाएको र सर नआउने कुराको जानकारी पनि नगराएको गुनासो गरे । प्रअले ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) को तालिमका कारण मिथिलेश सर कक्षा ६ मा जानुभएको र भोलि कक्षा ७ मा दिनभरि तालिम हुने जानकारी गराए ।
सामान्यतया राम्रा विद्यालयमा शिक्षक कक्षाकोठामा नआउनु अपवाद मानिन्छ । तर यहाँका हिमाली क्षेत्रका विद्यालयमा शिक्षकको अनुगमन विद्यार्थीबाट गर्न थालिएको छ । कक्षा ६ देखि १० सम्म प्रत्येक दिन बेलुका कक्षाकोठामा एक जना लिडर छानिन्छ । त्यो भोलिपल्टका लागि लिडर हुन्छ ।
उसले शिक्षक कक्षाकोठामा आएको र फर्किएको समय हेर्छ र लेख्छ । शिक्षकले कक्षाकोठामा पढाएको विषय, प्रयोग भएको शैक्षिक सामग्रीसमेत लेखिएको हुन्छ । त्यो फायल प्रत्येक बेलुका ४ बजे प्रअलाई बुझाउनुपर्छ र यसको समीक्षा प्रत्येक साताको शुक्रबार विषयगत शिक्षक र टिमलिडर विद्यार्थीबीच हुन्छ ।
यसको परिकल्पना रिड नेपालका कार्यक्रम संयोजक राजेन्द्र पन्तले गरेका हुन् । यसलाई व्यवस्थित गर्न रिडले ‘म गर्न सक्छु’ भन्ने शीर्षक राखेर पुस्तिका बनाएको हो । त्यो विद्यार्थीलाई उपलब्ध गराएको छ । पन्तले शिक्षक र विद्यार्थीबीचको आत्मीयता बढाउन र कक्षाकोठामा आउने समस्या छलफलबाट समाधान गर्न सहज बनाएको बताए । यसबाट शिक्षकहरूमा थप जिम्मेवारी बोध भएको र रचनात्मक बनेको लेलेपका शिक्षक राम गुरुङको अनुभव छ । रिड नेपाल लागू भएको फक्तालुङ गाउँपालिका साविकका इखाबु, तापेथोक, लेलेप र याम्फुदिन गाविसमा लागू गरिएको छ । अहिले निमावि र माविमा कार्यान्वयन गरिएको हो । यसको प्रभावकारिता हेरेर तल्लो कक्षामा पनि लागू गर्छांै, इखाबुमा भेटिएका पन्तले भने । यो कार्यक्रम पहिलो कञ्चनजंघा हिमाल आरोही बेलायती नागरिक जर्ज बेन्डले स्थापना गरेको संस्था हिमालयन फाउन्डेसनले सञ्चालन गरेको हो ।
‘सुरुमा त समस्या नै भयो, विद्यार्थी लगाएर हामीलाई अनुगमन गराउने भन्ने पनि लाग्यो,’ शिक्षक गुरुङले भने, ‘अभ्यस्त भएपछि गर्नुपर्ने काम रहेछ भन्ने बोध भयो ।’ एक महिनाअघि लागू भएको यसले याम्फुदिनको कञ्चनजंघा माविमा भने सुरुमै विवाद भयो ।