लेते आसपासमा जहाज दुर्घटनाको खबर, स्थलगत पुष्टि गर्न सेना पैदल मार्गबाट घटनास्थलतिर
प्रकाशित मिति : जेष्ठ १५, २०७९ आईतबार
तारा एअरको हराएको विमान खोजी गर्नका लागि सेनाको टोली सम्भावित दुर्घटनास्थलतर्फ गइसकेको छ । मुस्ताङको लेते आसपासमा दुर्घटना भएको खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएका छन् ।
प्राधिकरणले सेनालाई जानकारी दिएपछि स्थलगत पुष्टि गर्नका लागि सेनाको टोली पैदल मार्गबाट गएको हो । मुस्ताङको लेतेको आसपासमा नौलीकोट भन्ने ठाउँमा घटना भएको स्थानीयहरुले खबर गरेका छन् ।
घाँसामा रहेको सेनाको पोष्टबाट पैदल मार्गबाट सेना गएको जनाइएको छ । उद्दारका लागि काठमाडौंबाट पनि एमआई १७ हेलिकोप्टर गइसकेको छ ।
विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जनाएको छ ।
तारा एयरको ९ एन–एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरले उडान भरेका थिए । चालकदलका सदस्य इताशव घिमिरे र किश्मी थापासहित सो जहाज ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको थियो ।
जहाज कमाण्ड गरेका क्याप्टेन घिमिरेसँग लेतेमाथिको आकाशबाट टावरसँग अन्तिमपटक कुरा भएको थियो। त्यो बेला घिमिरेले जोमसोम क्षेत्रको हावाको गतीको विवरण मागेका थिए ।
जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माले भने ‘शर्मालाई हावाको गतिबारे जानकारी दिएपछि म समिटको जहाजलाई अवतरण गराउनतिर लागे, त्यसपछि ताराको जहाजलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नै भएन।’
जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाईमा रहेको शर्माले जानकारी दिएका छन् ।
जोमसोम विमानस्थल ९ हजार फिट उचाईमा छ। घिमिरेलाई जानकारी दिँदा जोमसोमको हावाको गति २५ नटिकल माइल प्रतिघण्टा (४६.३ किमि)को गतिमा थियो।






