यसपल्ट त मनै फाट्यो…?


प्रकाशित मिति : असार १२, २०७४ सोमबार

असार १२, २०७४- केही दिनअघि कान्तिपुरका सम्पादक सुधीर शर्मासमेतको टोलीले मधेसको यात्रा गरिएको विवरण छापिएको छ । शर्माले लेख्नुभएको छ, मधेसमा ‘उनीहरू’ र ‘हामी’ भन्ने भावना विकसित हँुदै गएको छ, मधेस र राज्यका बीच मतभेदभन्दा पनि मनभेद बढेको छ । यो यस्तै हो भने यो खतरनाक संकेत हो । हामीले यस संकेतलाई गम्भीरतापूर्वक लिनुपर्छ । बाँकी मुलुक चुनावमय भएको छ । तर प्रदेश नम्बर २ मा भने आन्दोलन र चुनाव–स्थगन छ ।
नेपालमा दोस्रो जनआन्दोलनले नयाँ युगको प्रवद्र्धन गर्यो । त्यति मात्र गरेन । दोस्रो जनआन्दोलन माओवादी जनयुद्धको ऐतिहासिक पृष्ठभूमिमा भएको थियो । तर त्यस दोस्रो जनआन्दोलनले एकातिर माओवादीको गुरिल्ला युद्धको कार्यनीतिलाई प्रश्नचिह्न लगाएको थियो । क्रान्ति दर्शनका हिसाबले सबैथरीका हिंसात्मक संघर्षको सीमा उजागर गर्यो । अर्कोतिर जनआन्दोलनले माओवादीले उठाएका सबैजसो सवालको औचित्य स्थापित गरेको थियो । माओवादीले मधेसप्रति विभेदभावका विरुद्ध समेत आवाज उठाएको थियो, यद्यपि माओवादी जनयुद्ध र मधेसको सम्पर्क कहिल्यै मधुर भएन । मधेसको भावनालाई नजरअन्दाज गरेर अन्तरिम संविधानको घोषणा भएपछि यो भावनामा टेकेर उपेद्र यादवले अन्तरिम संविधान डढाएका थिए । त्यसपछि लहान काण्ड टाढाको विषय रहेन । मधेस आन्दोलनले गुणात्मक रूपमा नयाँ उचाइ प्राप्त गर्यो । त्यसै आन्दोलनको शमन र थामथुम सरकारले मधेसका यावत् मागहरू पूरा गर्ने लिखित सम्झौता गर्योे । संघीय राज्यको यस्ता मागहरूमध्ये प्रमुख थियो । तर यति मात्र थिएन । भाषा र नागरिकताका सवाल पनि उठे । तत्कालीन सरकारले सबथोक गर्न सकारो । तर मधेस आन्दोलन यथावत् छ ।
मधेस आन्दोलनको तुजुक र ऊर्जाले नेपालका एकथरीका ‘राष्ट्रवादी’ हरूका बीचमा थरी–थरीका शंका उत्पन्न गरेको छ । पृथ्वीनारायण शाहको विजयदेखि आजसम्म मुलुकमा रहेको एउटा शक्तिशाली शासकीय समूहले मधेसलाई बिरानो सम्झियो । राणाशाहीका पालामा मधेसप्रति दुर्भावनापूर्ण सोचाइ विशेष बलियो भयो । यस्तो सोचाइका केही ऐतिहासिक कारण थिए । तर ऐतिहासिक कारणको आधारमा एउटा राष्ट्रिय राज्यको बलियो जग खडा हुन सक्दैन । २००७ सालको क्रान्तिले यस्तो सोचाइलाई तात्कालिक रूपमा परास्त गर्यो । राजा महेन्द्रको शासनकालमा मधेसप्रतिको भेदभावको पुनरावृत्ति भयो, पारस्परिक दूरी बढ्यो । महेन्द्रले राष्ट्रवादको संकीर्ण परिभाषा गरेर आफ्नो तानाशाहीलाई औचित्य प्रदान गरे । उनी एक हदसम्म सफल भए । महेन्द्रको राष्ट्रवाद नेपाली कांग्रेसको प्रखर प्रतिरोधलाई समेत मत्थर बनाउन सफल भयो । बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको व्याख्यामा यसको प्रतिध्वनि भेटिन्छ । त्यो थिएन भने मधेसले अगाडि सारेको प्रस्तावले एउटा प्रजातान्त्रिक म्ुलुकले चिन्तित बन्नुपर्ने खास कारण थिएन । कांग्रेस वृत्तमा कमसेकम कुनै अलमल हुनु हुँदैन थियो । तर अफसोस, हाम्राबीच यस्तो अलमल छ ।
मधेस आन्दोलनले संविधान संशोधनको माग लगातार गरिरहेको छ । संविधानले यस्ता माग अगाडि सार्ने र शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई उपलब्ध गराएको छ । मधेसले बाहेक कमरेड विप्लवको नेतृत्वमा रहेको समूह पनि संविधान र चुनावप्रति सकारात्मक दृष्टि राख्दैन । राजनीति आफैंमा यो अनौठो कुरो होइन । यति भएर पनि एउटा कित्तामा मधेसको ‘हठ’ भने अनावश्यक र दुराशयपूर्ण भन्ने धारणा बनेको छ । यसमा मधेसले पनि प्रतिक्रिया देखाउँदै छ । क्रिया–प्रतिक्रियाको यस जङ्गलमा सु्धीर शर्माले संकेत गरेझैं हामी र उनीहरू बेग्लै हो भन्ने भावनाको विकास भइरहेको बोध हुन सक्छ ।
एउटा कुरा सत्य हो— मधेस र मधेसीले नेपाली राज्यसँग एकाकार गर्न सकिरहेको छैन । आफ्ना समयमा गजेन्द्रनारायण सिंहले आफ्ना कार्यकर्तालाई सिकाएका थिए— यो देश निश्चय हाम्रो हो, तर राज्य भने होइन । गजेन्द्रनारायण सिंहको यो कथन आज पनि निराधार छैन । पुराना मधेसवादी कार्यकर्ताहरूलाई गजेन्द्र–वाणी अवश्य पनि सम्झना होला । गजेन्द्रनारायण सिंह नेपाली कांग्रेसको संस्कारमा हुर्किएका राजनीतिज्ञ थिए । के भन्दा र गर्दा आफ्नो गन्तव्यमा पुग्न सकिन्छ भन्ने राजनीतिको पनि उनलाई राम्रो हेक्का थियो । पञ्चायती व्यवस्थाको प्रतिकूल अवस्थामा गजेन्द्रनारायण सिंहले मधेस आन्दोलनलाई स्थापित गरेका थिए । उनले यस्तो गर्दा राष्ट्रिय दृष्टिकोणलाई ओझेल पारेका थिएनन् । अहिलेका केही मधेस नेताहरूको बोली वचन हेर्दा उनीहरूले गजेन्द्रनारायणलाई देखेको–चिनेको प्रतीत हुँदैन । कतिपय मधेसी नेताहरूको अभिव्यक्तिले नेपालमा विभाजनवादी राजनीतिलाई प्रश्रय दिएको छ । गैरमधेसी मूलका कतिपय ठूला नेताहरूले त्यसको प्रतिक्रियामा झन् ठूलो स्वरमा हाक्काहाकी विभाजनकारी राजनीति बोलेका छन् । मुलुक र जनताका लागि जीवनका सर्वश्रेष्ठ वर्ष जेल बिताउनुभएका साथीहरू सत्ताको राजनीतिको आवेशमा बगेका देखिन्छन् । सत्ताको राजनीतिको हानथापमा वर्तमान संविधान विवादास्पद बनेको हो । संविधान घोषणा गर्ने क्रममा शीर्षस्थ नेताहरूले तात्कालिक लाभ हेरे । दीर्घकालीन दृष्टि राख्न सकेनन् । टोमस जेफर्सन भन्थे— विनाशभन्दा विलम्ब राम्रो । त्यसो भन्दा, अहिले विनाश नै हुन आँट्यो भन्ने छैन । त्यसैले २ नम्बर प्रदेशको चुनाव सर्दा आकाश नै झर्योे भन्ने पनि होइन ।
लामो समयदेखि नागरिकताको सवालले नेपाललाई पिरोलेको छ । कांग्रेस र कम्युनिस्टका पुराना पुस्ताका नेताले नागरिकताको बारेमा कस्ता धारण राख्थे भन्ने कुरा २००९ को नागरिकता ऐनबाट थाहा पाइन्छ । २००७ साल लगत्तैपछि पनि भाषाका सम्बन्धमा विवाद उठेको थियो । त्यस विषयमा राष्ट्रिय नेताहरू स्पष्ट थिए । यी दुवै सवाल आज पनि जीवित छन् । तर यी दुई सवाललाई हेर्ने हाम्रो दृष्टिकोण फेरिएको छ । मधेस र बाँकी नेपालका बीचमा २००७ को क्रान्तिले नयाँ सम्बन्ध स्थापना गरेको थियो । मधेसले राणाकालीन हेपाइ र भेदभावबाट उन्मुक्ति पाएको थियो । २०१७ सालको राजा महेन्द्रको शाही कदमले मधेसलाई बलात पर धकेल्यो । मधेस पनि उसैगरी २०१७ शाही कदमको विरोधमा अग्रपंक्तिमा रह्यो । दुर्गानन्द झा र शिवचद्र मिश्रा सहिद भए । मधेसले प्रतिरोध गरिरह्यो । २०४६ मा प्रजातन्त्रको आगमनपछि मधेसले राहत पायो । तर त्यो राहत पर्याप्त भएन । दोस्रो जनआन्दोलनपछि मात्र मधेस–वाणी फुटेको छ । राष्ट्रिय रूपमा यसले सुनवाइ पाउनासाथ सुधीर शर्माको आलेखले उत्पन्न गरेको आशंका निर्मूल हुनेछ । मधेस आन्दोलनसँग विमति राख्ने मानिसले सर्वप्रथम एउटा कुरा बुझ्न आवश्यक छ । यो परदेशी आन्दोलन होइन । प्रजातान्त्रिक व्यवस्था, मूल्य मान्यता गहिरिंदै जाँदाको परिस्थितिको अभिव्यक्ति र विस्तार हो । प्रजातन्त्रको प्रयोगको तार्किक परिणति हो मधेसको असन्तुष्टि । यो एक राष्ट्रिय समस्या हो । परदेशीले खडा गरेको समस्या होइन । हामीले परदेशीलाई यसरी नै उड्किरहने हो भने लोककथाको गोठालाको बाघ आयो, बाघ आयो भन्ने कथा चरितार्थ हुन बेर छैन ।
राष्ट्रिय–राज्यको इतिहास पुरानो छैन । पुराना जमानाका राज्य वा साम्राज्यहरू आफूखुसी टुक्रिन्थे, गाँसिन्थे । राष्ट्रियताको उद्भवपछि यो परम्परा बन्द भएको छ । कार्डिनल रिसलुको नेतृत्वमा ‘वेस्ट फेलिया’ को सन्धि (सन् १६४८) भएपछि आधुनिक राष्ट्रिय–राज्यको सैद्धान्तिक आधार बन्न थालेको हो । आधुनिक राष्ट्रमा विविध भाषा, जातीयता हुन्छन् । तर राष्ट्रिय–राज्यले यी सबैप्रति समान दृष्टिकोण राख्छ । मधेसलाई नेपाली राष्ट्रप्रति कुनै प्रतिवाद छैन । उनीहरूले राज्यप्रति गुनासो राखेका छन् । त्यो अस्वाभाविक छैन । त्यस्तो गुनासोमा केही गैरजिम्मेदार प्रवृत्ति देखिएका छन् । रणनीति र कार्यनीतिका क्षेत्रमा पनि भूल भएका छन् । मधेसले उग्रराष्ट्रवादीको मन जित्ने प्रयास गरेका छैनन् । उल्टो उनीहरूलाई तर्साउन खोजेका छन् । मुलुकको भूराजनीतिक अवस्थाको सीमा–सामथ्र्य बिर्सिएका छन् । राजनीतिक यथार्थ एकातिर छ । कतिपय मधेसी नेताको भावना अर्कोतिर छ ।
सुधीर शर्माले भनेजस्तो मधेससँग हाम्रो मनभेद भइसकेको जस्तो लाग्दैन । मनभेद र मतभेदमा भाषाका दृष्टिले फरक छ । मतभेद मतैक्यमा पुग्छ । मनभेद भएको छ भने मिलाउन गाह्रो पर्छ । अरुणा लामाले गाएकी छन्— यसपल्ट त मनै फाट्यो केले सिउने केले टाल्ने हो… । मधेस र पहाडको सम्बन्ध यस्तो मनभेदमा पुगेको छैन भन्ने मेरो अनुभूति छ । पहाड–मधेस अझै परस्पर पराई भएका छैनन् । मधेसका शीर्षस्थ नेताहरूको बिहेवारीदेखिन खानपान चाड–तिहारमा हामी एकअर्कासँग नजिकिँदै गएका छौं । मन फाटेको छैन । मत मात्र बाझेको हो— खुला समाजमा यो स्वाभाविक हो ।
कुनै समय बीपीले भन्नुभएको थियो— राष्ट्रियताको मूलतत्व भनेको जनता हो, भूगोल होइन । पृथ्वीनारायण शाहले निर्माण गरेको भूगोलमा टेकेर राजा महेन्द्रले राष्ट्रियताको एउटा अत्यन्त संकीर्ण परिभाषा स्थापित गरे । एउटा राजा एउटा देश, एउटा भाषा एउटा भेषको नारा लगाए । यो गलत थियो । १९७१–०७२ मा बीपीले यसको प्रतिवाद गर्नुभएको थियो । बीपीको राष्ट्रियताको परिभाषा आज पनि प्रासंगिक छ । मधेसका जनतालाई उपेक्षा गरेर नेपालले राष्ट्रियताको स्वस्थ जग बसाउन सक्दैन । मधेस, पर्वत, हिमाल सबैले राम्रोसँग बुझ्नुपरेको छ । मिले पनि लडे पनि, दिबानी–फौजदारी जे गरे पनि यो दियादी झगडा हो । कौटुम्बिक कलह हो । मतभेद होस्, मनभेद नहोस् ।
राष्ट्रियताका व्याख्याकारले सधैं भनेकै छन्, ‘प्रजातन्त्र र राष्ट्र«वाद अन्यान्योश्रित छन् ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com