नेपालबाट हराएर अमेरिका पुगेका पाँच मूर्ति फिर्ता, फिर्ता भएका मूर्तिको संरक्षण हुने प्रतिबद्धता
प्रकाशित मिति : जेष्ठ १०, २०७९ मंगलबार
नेपालबाट हराएर अमेरिकाको विभिन्न स्थानमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले आज आयोजना गरेको कार्यक्रममा ती मूर्ति सार्वजनिक गरिएको छ । फिर्ता भएका मूर्तिमा चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वरको मूर्ति, नागराजको मूर्ति, पद्मपाणि लोकेश्वरअर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र शाक्यमुनिको मूर्ति रहेको छ ।

चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बनेको यो मूर्ति सन् १९८० को आसपासमा पशुपति क्षेत्रबाट हराएको थियो । प्रस्तरको उमामहेश्वरको मूर्ति ललितपुर महानगरपालिका–११ गाःहिटी टोलमा रहेको थियो । यो मूर्ति सन् १९६० मा हराएको हो । यो मूर्ति १० औँ शताब्दीको हो । यो मूर्ति अमेरिकाको डेनभर आर्ट सङ्ग्रहालयको एसिया सङ्कलनमा भेटिएको थियो ।
नागराजको मूर्ति १२ औँ वा १३ औँ शताब्दीको हो । यो मूर्ति राजकीय स्वरुपको मानवाकार छ । यो मूर्ति सन् १९८२ मा नक्साल क्षेत्रबाट हराएको हो । पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति सन् १९५० तिर हराएको विभागले जनाएको छ । यो मूर्ति अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो ।

शाक्यमुनिको मूर्ति पनि सन् १९५० कै दशकमा हराएको हो । यो मूर्ति पनि अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो । युपिएस कार्गोले यी मूर्ति निःशुल्क फिर्ता गराउन सहयोग गरेको थियो । अमेरिकामा यी सामग्री सङ्ग्रह गरेका निकाय एवं कम्पनीले पनि सहयोग गरेको विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो ।
फिर्ता भएका सम्पदा सुरक्षा, संरक्षण, अनुसन्धानकर्तासम्मको पहुँचका लागि आजै राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ । मूर्ति साविककै स्थानमा स्थानान्तरणका लागि अनुरोध भई आएमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा २० कको प्रावधानअनुसार गर्न सकिने विभागले जनाएको छ ।

पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्छौँ : मन्त्री आले
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिएक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालबाट चोरी निकासी भई विदेश पुगेका र त्यहाँबाट फिर्ता ल्याइएका मूर्तिको संरक्षण गरिने बताउनुभएको छ । नेपालबाट हराएका तथा चोरी भएर अमेरिका विभिन्न सङ्ग्रहालय पुगेका विभिन्न शताब्दीका पाँचवटा मूर्ति आज नेपाल ल्याई पुरातत्व विभागलाई हस्तान्तरण गर्ने कार्यक्रममा मन्त्री आलेले नेपालको कला, सम्पदा, सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदालाई चोरी निकासी हुनबाट जोगाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो पहिचानको धरोहरको रुपमा रहेका सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदा मासिने र चोरी निकासी हुने क्रम बढेको छ, हामीले हाम्रा सम्पदाको संरक्षण गर्न जरुरी भएको छ ।” सोही कार्यक्रममा मन्त्री आलेले ऐतिहासिक, सांस्कृतिक महत्वका सम्पदाको संरक्षणमा सरोकार भएका सबै निकायले विशेषरुपमा ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले थप भन्नुभयो, “नेपाल कला सम्पदाको भरिपूर्ण देश हो, नेपालका सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदाले विश्वमै विशिष्ट र मौलिक पहिचान बोकेका छन्, हाम्रा पहिचानका धरोहरको सबैले संरक्षण गर्न जरुरी छ ।” सोही कार्यक्रममा विदेशी भूमिमा पुगेका नेपालका मूर्ति फिर्ता दिने तथा नेपाल ल्याउन सहयोग गर्ने सबैलाई मन्त्री आलेले धन्यवादसमेत दिनुभएको थियो ।
उक्त कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पि मिकालरले नेपालबाट चोरी निकासी भई अमेरिका विभिन्न सङ्ग्रहालयमा पुगेका नेपालका पुरातात्विक महत्वका सामग्री फिर्ता गर्दै जाने प्रतिबद्धता जनाउनुभएको थियो ।






