बाइडेन प्रशासनले ल्याएको मे ३१ देखि लागु हुने एसाइलमको नयाँ प्रकृयाबारे जान्नैपर्ने कुराहरु


प्रकाशित मिति : जेष्ठ ८, २०७९ आईतबार

बाइडेन प्रशासनले आगामी मे ३१ देखि लागु हुनेगरी सिमाक्षेत्रबाट विना भिसा अमेरिका आउने एसाइलम आवेदकका सन्दर्भमा नयाँ नियम ल्याएको छ । विनाभिसा सिमाक्षेत्रमा आएका र नयाँ नियम अनुशार एसाइलम प्रकृया अगाडि बढाउने आवेदकको सम्पूर्ण प्रकृया ६ महिनामा पूरा हुने जनाइएको छ ।

अहिलेको प्रणाली अनुरुप ३ देखि ४ बर्ष लाग्दै आएको यो प्रकृया शीघ्र हुने भएको छ भने यसले अध्यागमन अदालतको भार समेत कम गर्ने अपेक्षा गरिएको छ । विगत २५ बर्षदेखि अमेरिकामा विना भिसा सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेलाई तीब्रगतिको देशनिकालामा राखेर दुईवटा प्रकृया अगाडि बढाउने गरिएको छ । एसाइलम अफिसरले उनीहरुको स्वदेश फर्कनका लागि डर विश्वसनीय भए नभएको निर्धारण गर्ने अन्तरवार्ता लिन्छन् । यदि यो अन्तरवार्ता उत्तिर्ण गरेको खण्डमा उनीहरुलाई एसाइलमबारे अन्तिम निर्णयका लागि अध्यागमन अदालतमा पठाइन्छ ।

तर नयाँ नियम अनुशार तीब्र गतिको देशनिकालाको प्रकृयामा रहेका र स्वदेश फर्कनका लागि डर विश्वसनीय भए नभएको निर्धारण गर्ने क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गरेकाहरुलाई अदालतमा नपठाई युएससीआईएसका एसाइलम अधिकारीले अन्तरवार्ता लिएर एसाइलम स्वीकृत गर्ने वा नगर्नेबारे निर्णय गर्नेछन् । २१ देखि ४५ दिनभित्र उनीहरुको अन्तरवार्ता हुने र कतिपय आवेदकको एसाइलम अदालत नगईकनै यही अन्तरवार्ताबाट स्वीकृत हुनेछ ।

यो अन्तरवार्तामा एसाइलम अस्वीकृत भएको खण्डमा भने आवेदकलाई अदालतमा पठाइनेछ । यो अवस्थामा आवेदकको एसाइलम स्वीकृत गर्ने वा नगर्नेबारे अदालतले नै निर्णय गर्नेछ । यो प्रकृया झण्डै ९० दिनकोमात्र हुनेछ । छोटो अवधि हुने भएकाले कतिपय आवेदकले वकिल खोज्नमा समस्या हुनसक्नेबारे चिन्ता समेत जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यागमन अदालतमा पठाइएको ३० दिनभित्र आवेदकको मुद्दाको पहिलो सुनुवाई हुनेछ । त्यसपछि उनीहरुलाई ३० दिनभित्र आफ्नो मुद्दाबारे प्रमाण पेश गर्नका लागि एउटा मौका दिइनेछ । त्यसको ३० दिनपछि आवेदकको मुद्दबारे अन्तिम सुनुवाई हुनेछ । यसरी युएससीआईएसका अधिकारीले अन्तरवार्ता लिएको ९० दिनमा अदालतले यसबारे टुंगो लगाउनेछ । यद्यपी एसाइलम आवेदकले आफ्नो मुद्दाबारे तयारी गर्न थप ३० दिन माग्नसक्ने भएकाले अधिकतम ४ महिनाभित्र मुद्दाको टुंगो लाग्नेछ ।

त्यसपछि या त आवेदकको एसाइलम स्वीकृत हुनेछ, या त अदालतबाट देशनिकालाको निर्णय हुनेछ । एसाइलम स्वीकृत भएको खण्डमा उनीहरुले अमेरिकामा काम गर्न र अन्य अधिकार पाउनुका साथै एकबर्षपछि ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । अस्वीकृत भएको खण्डमा आईसमार्फत देशनिकाला हुनेछ ।

यो नियम लागु हुने मिति वा त्योभन्दा पछाडि तीब्र गतिको देशनिकालाको प्रकृयामा राखिएकाहरुका सन्दर्भमा मात्र यो नियमले काम गर्नेछ । विगतमा तीब्र गतिका देशनिकालामा राखिएकाहरुका सन्दर्भमा पुरानै नियम लागु हुनेछ ।

यो नियम चरणबद्ध रूपमा लागू गरिने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । शरण खोज्नेहरूको सीमित संख्याबाट सुरु गरेर विस्तार गरिदै लगिने जनाइएको छ । तीब्र गतिको देशनिकालामा नपर्ने अभिभावक नभएका बालबालिकाहरुका सन्दर्भमा भने यो नियम लागु हुनेछैन ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसले शरणका लागि निश्चित एसाइलम आवेदन प्रकृया, देशनिकाला हुनबाट वैधानिक रोक र यातना विरुद्धको महासन्धि अन्तर्गत संरक्षण गर्ने नियममा पुनरावलोकन सहितको संयुक्त नियम जारी गरेका हुन् । यो नियम निष्पक्ष, व्यवस्थित र मानवीय अध्यागमन प्रणालीको लागि बाइडेन प्रशासनको खाका लागू गर्ने दिशामा एक प्रमुख कदम मानिएको छ ।

तीब्र गतिको देशनिकालाको प्रकृयामा राखिएकाहरुलाई योग्य भएमा सरक्षण प्रदान गर्ने र अन्यथा देशनिकाला गर्ने सन्दर्भमा एसाइलम प्रक्रियाको दक्षता र निष्पक्षता बढाउन थप कार्यात्मक र समझदार शरण प्रणाली निर्माण गर्नका लागि नयाँ नियम ल्याइएको बाइडेन प्रशासनले जनाएको छ । त्यस्तै अध्यागमन अदालतमा एसाइलमका मुद्दाको चर्को ब्याकलग घटाउने दिशामा समेत यो नियम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

सन् २०२१ को अगस्त २० मा प्रकाशित प्रस्तावित नियममा ५ हजारभन्दा धेरै प्रतिकृयाहरु आएक थिए । र अन्तिम नियममा नियामक परिवर्तनहरु गरिएको थियो । सार्वजनिक रुपमा आएका प्रतिकृयामा आधारित रहेर प्रस्तावित नियममा समेत परिवर्तन सहित अन्तिम नियम प्रकाशित गरिएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com