अमेरिकामा एसाइलम खोज्ने अवसर बिना नै निष्कासन गर्ने नीति कायम राख्न अदालतको आदेश


प्रकाशित मिति : जेष्ठ ७, २०७९ शनिबार

अमेरिकाको संघीय अदालतका न्यायाधिसले एसाइलम खोज्ने अवसर बिना नै निष्कासन गर्न अनुमति दिने कोरोनाकालिन नीति जारी राख्नुपर्ने आदेश दिएका छन् । लुजियानाका न्यायाधिसले टाइटल ४२ नामको उक्त नीति जारी राख्नुपर्ने फैसला गरेका हुन् ।

बाइडेन प्रशासनले आप्रवासीहरूलाई एसाइलम खोज्ने अवसर बिना नै निष्कासन गर्न अनुमति दिने महामारी सम्बन्धी नियमलाई सोमबारदेखि हटाउने योजना बनाएको थियो । तर अब अदालतको फैसलापछि बाइडेन प्रशासनको उक्त योजना असफल भएको छ ।

बाइडेन प्रशासनले अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । सन् २०१८ मा ट्रम्पबाट नियुक्त न्यायाधिस रोबर्ट समरहेजले बाइडेन प्रशासनविरुद्ध मुद्दा दायर गरेका २४ राज्यहरुलाई साथ दिदै ४७ पृष्ठ लामो निर्णय सुनाएका हुन् । ट्रम्पकालिन नीति खारेज गर्दे सीडीसीको निर्णय सुचना र कमेन्ट प्रकृयाबाट नगएको तथा नियम परिवर्तनका लागि यो प्रकृया आवश्यक पर्ने अदालतको ठहर छ ।

टाइटल ४२ नामको यो नीति ट्रम्प प्रशासनले सन् २०२० को मार्चमा ल्याएको हो । यो नीति मे २३ मा अन्त्य गर्ने योजनामा बाइडेन प्रशासन रहेको पछि २२ वटा राज्यले कोरोनाकालिन उक्त नियमलाई कायमै राख्न अदालतमा मुद्दा दायर गरेका थिए ।

लुजियाना, एरिजोना र मिजौरीले कोरोनाकालिन नियम कायम राख्न माग गर्दै लुजियानाको अदालतमा मुद्दा दायर गरेका थिए । ती राज्यहरुलाई अरु २१ वटा राज्यहरुले साथ दिएका थिए । टेक्सासले कोरोनाकालिन प्रतिबन्धहरु कायम राख्न माग गर्दै छुट्टै मुद्दा दायर गरेको थियो ।

टाइटल ४२ अन्तरगत अमेरिकी सिमाक्षेत्रमा आएका झण्डै १० लाख व्यक्तिलाई आर्थिक बर्ष सन् २०२१ मा एसाइलम खोज्ने अवसर बिना नै निष्कासन गरिएको थियो । बाइडेन प्रशासनको नीतिलाई अदालतले उल्टाएको यो नै पहिलो पटक भने होइन । एसाइलम खोज्नेलाई अदालती सुनुवाईसम्म मेक्सिको फिर्ता पठाउने नीति पनि बाइडेन प्रशासनले अन्त्य गरेकोमा अदालतले त्यसलाई उल्टाएर कार्यान्वयन गर्न आदेश दिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com