सिमाक्षेत्रबाट विना भिसा अमेरिका आउनेलाई मे ३१ पछि अदालत नगइकनै एसाइलम


प्रकाशित मिति : जेष्ठ ७, २०७९ शनिबार

सिमाक्षेत्रबाट विना भिसा अमेरिका आउनेलाई अदालत नगइकनै एसाइलम दिने नीति मे ३१ पछि लागु हुने भएको छ । 

यो नियम लागु हुने मिति वा त्योभन्दा पछाडि तीब्र गतिको देशनिकालाको प्रकृयामा राखिएकाहरुका सन्दर्भमा मात्र यो नियमले काम गर्नेछ । विगतमा तीब्र गतिका देशनिकालामा राखिएकाहरुका सन्दर्भमा पुरानै नियम लागु हुनेछ ।

यो नियम चरणबद्ध रूपमा लागू गरिने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । शरण खोज्नेहरूको सीमित संख्याबाट सुरु गरेर विस्तार गरिदै लगिने जनाइएको छ । तीब्र गतिको देशनिकालामा नपर्ने अभिभावक नभएका बालबालिकाहरुका सन्दर्भमा भने यो नियम लागु हुनेछैन ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसले शरणका लागि निश्चित एसाइलम आवेदन प्रकृया, देशनिकाला हुनबाट वैधानिक रोक र यातना विरुद्धको महासन्धि अन्तर्गत संरक्षण गर्ने नियममा पुनरावलोकन सहितको संयुक्त नियम जारी गरेका छन् । यो नियम निष्पक्ष, व्यवस्थित र मानवीय अध्यागमन प्रणालीको लागि बाइडेन प्रशासनको खाका लागू गर्ने दिशामा एक प्रमुख कदम मानिएको छ ।

नियमको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

तीब्र गतिको देशनिकालाको प्रकृयामा राखिएकाहरुलाई योग्य भएमा सरक्षण प्रदान गर्ने र अन्यथा देशनिकाला गर्ने सन्दर्भमा एसाइलम प्रक्रियाको दक्षता र निष्पक्षता बढाउन थप कार्यात्मक र समझदार शरण प्रणाली निर्माण गर्नका लागि नयाँ नियम ल्याइएको बाइडेन प्रशासनले जनाएको छ । त्यस्तै अध्यागमन अदालतमा एसाइलमका मुद्दाको चर्को ब्याकलग घटाउने दिशामा समेत यो नियम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

सन् २०२१ को अगस्त २० मा प्रकाशित प्रस्तावित नियममा ५ हजारभन्दा धेरै प्रतिकृयाहरु आएको र अन्तिम नियममा नियामक परिवर्तनहरु गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । सार्वजनिक रुपमा आएका प्रतिकृयामा आधारित रहेर प्रस्तावित नियममा समेत परिवर्तन सहित अन्तिम नियम प्रकाशित गरिएको जनाइएको छ ।

 

यो नियमले तीब्र गतिको देशनिकालाको प्रकृयामा राखिएका आप्रवासीले स्वदेश फर्कन डर भएको क्रेडिबल फियर स्थापित गर्न सकेको खण्डमा उनीहरुलाई एसाइलम स्वीकृत गर्ने अधिकार प्रकृयाको पहिलो चरणमा नै युएससीआईएसका अधिकारीहरुलाई नै प्रदान गर्दछ । जसका कारण उनीहरुको मुद्दा अदालतमा नपुग्दै युएससीआईएसका अधिकारीले नै एसाइलम प्रदान गर्न सक्नेछन् । अहिलेसम्म अध्यागमन अदालतलाईमात्र यसबारे निर्णय गर्ने अधिकार रहेको छ ।

नयाँ नियम अन्तरगत क्रेडिबल फियर अन्तरवार्तामा उत्तिर्ण भएकाहरुले समयमै युएससीआईएसका एसाइलम अधिकारीसमक्ष अन्तरवार्ताको मिति प्राप्त गर्नेछन् । त्यही अन्तरवार्ताका क्रममा योग्यहरुलाई युएससीआईएसका एसाइलम अधिकारीले नै एसाइलम स्वीकृत गर्न सक्नेछन् । अदालत जाने अवस्था आउनेछैन । आवश्यक परेमा यातना विरुद्धको महासन्धि अन्तर्गत संरक्षण दिने वा तत्काल देशनिकाला हुनबाट रोक्नेबारे पनि निर्णय गर्न सक्नेछन् ।

युएससीआईएसका अधिकारीबाट एसाइलम स्वीकृत नभएकाहरुलाईमात्र अध्यागमन अदालतमा पठाइनेछ । अध्यागमन अदालतले देशनिकाला गर्ने वा एसाइलम स्वीकृत गर्ने भन्नेबारे निर्णय गर्नेछ ।

त्यस्तै स्वेदश फर्कन डर भए नभएको निर्धारण गर्ने क्रेडिबल फियरको प्रकृयालाई यो नियमले विगतकै अवस्थामा फर्काएको छ । डोनाल्ड ट्रम्प प्रशासनले कैयन नीतिगत परिवर्तन गरेर क्रेडिबल फियरको प्रकृयालाई जटिल बनाएको थियो ।

सीमित अपवादहरू वाहेक एसाइलम र देशनिकाला हुनबाट बच्ने आवेदन लागि योग्यताको जाँच गर्ने सन्दर्भमा पनि अब सन् २०१८ भन्दा अगाडिकै नियम लागु हुनेछ । अर्थात् ट्रम्प प्रशाुसनले लगाएका विभिन्न प्रतिबन्धहरुलाई यो नियमले हटाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com