अमेरिकामा थप ३५ हजार अस्थायी गैरकृषि कामदार भिसा उपलब्ध गराउने नियम फेडरल रजिष्टरमा


प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार

अमेरिकाकामा अतिरिक्त ३५ हजार अस्थायी गैरकृषि कामदार भिसा उपलब्ध गराउने नियम आज बुधबार फेडरल रजिष्टरमा प्रकाशित भएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ लेबरले आर्थिक बर्ष २०२२ को दोश्रो आधाका लागि अतिरिक्त एच टु बी भिसाहरु उपलब्ध गराएको हो ।

यसबारेको सुचना फेडरल रजिष्टरमा पढ्न यहाँ क्लीक गर्नुहोला ।

यी भिसाहरु अप्रिल १ वा सोभन्दा पछि सेप्टेम्बर ३० भन्दा अगाडि थप अस्थायी गैरकृषि कामदारहरु राख्न चाहने रोजगारदाताहरुका लागि उपलब्ध हुनेछन् । गम्भिर प्रकारको कामदार अभाव भएको महत्वपूर्ण अवस्थामा थप अस्थायी गैरकृषि कामदारको माग पूरा गर्न यी अतिरिक्त भिसाहरु फलदायी हुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले बताएका छन् ।

यी भिसाहरु कामदारको संरक्षणका साथमा उपलब्ध रहेको मेयरकासको भनाई छ । यी भिसाले अमेरिकी कामदार उपलब्ध नभएका कामका लागि विदेशी अस्थायी कामदारहरुलाई सुरक्षित र बैध तरिकाले अमेरिका आएर आम्दानी गर्न मार्गप्रसस्त गर्ने उनले बताएका छन् ।

अतिरिक्त भिसाहरुमध्ये २३ हजार ५ सय भिसा पहिले नै अमेरिका आइसकेकाहरुलाई प्रदान गरिनेछ । विगत ३ बर्षमा अस्थायी गैर कृषि कामदार एच टु बी भिसा पाएका वा एच टु बी स्टाटस स्वीकृत भएकाहरुलाई ती भिसाहरु प्रदान गरिनेछ । बाँकी ११ हजार ५ सय भिसाहरुका लागि एल साल्भाडोर, ग्वाटेमाला, होण्डुरस र हैटीका नागरिकलाई प्राथमिकता दिइनेछ ।

आर्थिक बर्ष २०२२ को दोश्रो आधाका लागि तोकिएको अर्धवार्षिक ३३ हजार भिसाको कोटा गत फेबु्रअरी २५ मा नै पूरा भएको थियो । अस्थायी गैर कृषि कामदारभिसामा विदेशीहरुलाई अमेरिका ल्याउनका लागि अमेरिकी रोजगारदाताले उक्त कामका लागि अमेरिकामा कामदार नपाएको पुष्टी गर्नुपर्छ ।

रोजगारदाताले मे १८ बुधबारदेखि नै प्रकृया सुरु गर्न सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com