एमालेको अवरोधका बीच राष्ट्रियसभा सञ्चालन
प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार
नेकपा (एमाले)को विरोधका बीच राष्ट्रियसभाको बैठक सञ्चालन गरिएको छ । बैठक प्रारम्भ हुने वित्तिकै एमालेका सांसदहरुले आसन ग्रहण नगरी बैठकमा विरोध जनाएपछि मौनधारणा लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका देवेन्द्र दाहाललाई बोल्न समय दिनुभएको थियो ।
सांसद दाहालले अघिल्लो अधिवेशन देखिनै आफूहरुले उठाउँदै आएको माग पूरा नभएको भन्दै यस अधिवेशनमा पनि आफूहरुको विरोध जारी नै रहेको सदनमा जानकारी गराउनुभएको थियो । उहाँले सरकारले सदन सञ्चालनमा रुची नदेखाएको आरोप लगाउँदै विगतमा एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाहीको सूचना प्रकाशित गर्नुपर्ने माग कायमै हुँदा सदनको अवरोध जारी नै रहेको जानकारी गराउनुभएको थियो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पटकपटकको आग्रहपछि पनि एमालेका सांसदहरुले उभिएर विरोध नै जनाइरहेपछि उहाँले कार्यसूचीलाई अघि बढाउनुभएको थियो । राष्ट्रियसभाको आजको बैठकको लोकतन्त्र र गणतन्त्र प्राप्तिका निम्ति ज्यान उत्सर्ग गर्ने ज्ञान अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो ।
प्रतिनिधिसभा बैठकमा आठ अध्यादेश पेश
प्रतिनिधिसभाको बैठकमा विभिन्न आठ अध्यादेश पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले, “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८”, “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८” र “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७८” पेश गर्नुभयो ।
यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले, “औषधि ९तेस्रो संशोधन० अध्यादेश, २०७९” र “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०७९” पेश गर्नुभयो । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले, “रेल्वे अध्यादेश, २०७८” र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०ले “फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८” एवं “यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८” पेश गर्नुभयो ।






