बुटवल–१ मा स्वतन्त्र उम्मेदवार विजयी, नगरप्रमुखमा पाण्डेकै अग्रता


प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार

स्थानीय तह निर्वाचनको मतगणनाअनुसार जिल्लाको एक मात्र उपमहानगरपालिका रहेको बुटवल वडा नं १ को वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ ।

बुटवल उपमहानगर–१ बाट सुरु गरिएको उक्त वडाको अन्तिम परिणामअनुसार वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेदवार नरेन्द्रकुमार बस्नेत ६३६ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी २०७४ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट महेन्द्र लिङ्गलले ५५१ मत प्राप्त गर्नुभएको छ । वडाध्यक्षमा निर्वाचित बस्नेत २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएर पराजित हुनुभएको थियो ।

यस्तै वडा नं १ को सदस्य पदमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । उक्त वडाको महिला सदस्यमा नीलम गौतम, दलित महिला सदस्यमा प्रेमशिला धोबी, खुल्ला सदस्यमा अशोक राई र अदिल अहमद खान विजयी हुनुभएको छ ।

वडा नं १ को मतगणना सकिँदा नगरप्रमुख पदमा भने नेपाली कांग्रेसका प्रत्याशी खेलराज पाण्डेले नै अग्रता कायम राख्नुभएको छ । शुक्रबार सम्पन्न मतदानमा जम्मा १९७४ मत खसेकामा यस वडाबाट पाण्डेले ८४३ प्राप्त गर्नुभएको भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृगेन्द्रकुमार शेरचनले ४१४ र नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले ३४० मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुख पदमा राप्रपाकै भगवती पाण्डेले ४५८, नेकपा एमालेकी सावित्रादेवी अर्यालले ४१९ र नेकपा समाजवादीका चिनबहादुर गुरुङले ३४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै जिल्लाको शुद्धोधन गाउँपालिका–१ मा जनता समाजवादी पार्टीको वडाअध्यक्ष पदका उम्मेदवार एक मतले विजयी भएका छन् । उक्त वडामा जसपाका उदयराज गडेरियाले कांग्रेसका उम्मेदवारलाई एक मतले पछि पारेर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँले ९९२ मत पाउँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ९९१ मत प्राप्त गर्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com