जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप र लागत बढ्दो


प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार

– गोपालप्रसाद बराल,
उमेरले ७० नाघ्नुभएका बर्दिबास नगरपालिका–७ मनहरीपुरका विन्देश्वर यादव तरकारी खेतीमा खटिनुभएको छ । पछिल्ला २० वर्षयता नगद आर्जनका लागि तरकारी खेती सुुरु गर्नुभएका यादवले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेश खानुभएको छैन ।

जम्मा सात बिघामध्ये तीन बिघामा तरकारी खेती गर्दै आएका यादवको जग्गामा अहिले भण्टा, खुर्सानी र लहरे (फर्सी, लौका, घिरौँला, करेला, बोडीआदि) मुख्य तरकारी बाली हुन् । खेती गर्न थालेर धान, मकै, कोदोसहितका अन्नबाली हुँदै सुर्ती, उखुजस्ता बाली भोगेर अहिले तरकारी बालीमा आई पुगेको यादवको अनुभव छ ।

पछिल्ला केही वर्षयता तरकारी खेतीमा लागत बढ्दै गएर प्रतिफल राम्रो आउन छाडेपछि अब के गर्ने भन्ने यादवमा चिन्ता बढेको छ । खासमा केही वर्षयता तरकारी बालीमा अत्यधिक किराको प्रकोप बढेको बताउने यादव अब त विषादीले पनि किरा चिन्न छाडेको बताउनुहुन्छ । “उ त्यहाँ भण्टाको बोट हेर्नोस्, कति थरीका दबाइ (विषादी) छरीसके, केही टेरेको छैन”, बारीका केही पात ओइलिँदै गएका भण्टाका बोट देखाउँदै यादवले भन्नुभयो, “सल्लाह दिने कोही जेटी, जेटिए (कृषि प्राविधिक)पनि भेटिँदैनन्, के गर्ने होला ?”

मौसमी तरकारीभन्दा बेमौसमी तरकारी बालीमा किरा र रोगको प्रकोप हुने गरेको उहाँको अनुभव छ । “म यहीँ हुर्केको हुँ, १५/२० वर्षअघि बालीमा यस्ता रोग लाग्दैन्थे, यी दबाइ पनि थिए कि थिएनन् रु अहिले त यी थरिथरिका किरा र रोगले हैरान नै पारेका छन् ।” पहिले बालीभित्र दुबो, मोथे र बन्सोजस्ता झार एकपटक गोडेपछि रोपेका बिरुवा हलक्क बढ्ने गरेका सम्झँदै उहाँले अचेल भने कैयन थरिका झार उम्रने र त्यसलाई मास्न दबाइ नै प्रयोग गर्ने गरेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिले धान, मकै, कोदो, गहुँजस्ता परम्परागत अन्न बाली लगाउने गरेको सम्झँदै उहाँले पछिल्ला वर्षमा क्रमशः समयमा पानी नपर्ने, कहिले बेमौसममै मुसलधार पानी पर्ने, लामो खडेरी पर्ने, शीतलहरको प्रकोप बढ्नेजस्ता समस्या बढेपछि सुर्ती खेती, उखु खेती हुँदै अहिले नगद आर्जनका लागि आफू तरकारी खेतीमा लागेको बताउनुभयो । पहिले महिना, नक्षत्रका आधारमा अनुमान गरेर बाली लगाउन गरिने तयारी पछिल्ला वर्षमा मेल खान छाडेपछि खेती पनि बदलिँदै जानुपरेको यादवको भनाइ छ ।

पछिल्ला १५/२० वर्षयता अनुकूल वर्षा नहुँदा कुलो चल्नु त परै जाओस् खानेपानीका इनार पनि सुक्दै गएर बर्सेनि रिङ (सुकेका इनार थप खनेर पक्की गोल थप्ने काम) हाल्नु परिरहेको यादवको थप चिन्ता छ । यसको ठ्याक्कै कारण थाहा नभए पनि बस्ती बढ्दै गएर वन फाँडिनु, कलकारखाना बढ्नु र जताततै नदीमा बालुवा, ढुङ्गा निकाल्न ठूलठूला मेसिन (उत्खननमा प्रयोग गरिने यान्त्रिक उपकरण) चल्न थालेपछि यस्तो भएको हुनसक्ने उहाँको अनुमान छ ।

पछिल्ला केही वर्षयता वन फाँडिदै गएपछि जङ्गली जन्तु नीलगाई, बँदेल, दुम्सी र बाँदर आतङ्कले पनि बालीनाली जोगाउन सकस परेको उहाँको भनाइ छ । उहाँजस्तै बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतो, जवाहर महतो, रामविनोद महतो र ब्रह्मदेव महतो पनि तरकारी खेतीमा जमेका किसान मानिनुहुन्छ । उमेरले ५० वर्ष नाघी सकेका उहाँहरु सबैको चिन्ता पनि यादवको जस्तै छ । छिमेकको भङ्गाहा नगरपालिका–४ का ६० वर्षीय सत्यनारायण यादव, ५७ वर्षीय रामजी यादव, ५४ वर्षीय चन्देश्वरराय दनुवार र ६७ वर्षीय रघु महरा पनि मौसमले साथ नदिँदा बर्सेनि खेती बदल्नुपरेको बताउनुहुन्छ ।

जिल्लाका किसानले भोगेका यी समस्या विश्वव्यापी समस्या भएको विज्ञ बताउँछन् । महिना र नक्षत्रका आधारमा पहिले गरिने गरिएको मौसमको अड्कलबाजी अब मिल्न छाडेको वन वातावरण क्षेत्रमा काम गरेर लामो अनुभव सँगाल्नुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ ।

विश्वव्यापी रुपले जलवायु परिवर्तनमा परेको असरले वर्षा, गर्मी, बाढी, पहिरोजस्ता प्रकोप र फरक खालका वनस्पति झार तथा वन्यजन्तुको फरक ठाउँमा चहलपहल बढेको यादवको भनाइ छ । यसरी मौसममा परेको प्रभावअनुसार आफूलाई ढाल्दै जानुको तत्काल विकल्प नरहेको उहाँ बताउनुहुन्छ ।

“जलवायु परिवर्तनको विश्वव्यापी असर छ, हाम्रा गरिब बस्ती , साधन, स्रोतको अभावमा यसबाट बढी प्रभावित छन्”, उहाँले भन्नुभयो, “गरिब किसानसम्म अब राज्यले यसअनुसारका सुविधा बढाएर अनुकूलन खेतीतर्फ अग्रसर गराउन सक्नुपर्छ ।” बालीनालीमा बढ्दो रसायनिक मलको निर्भरता र विषादीको बढ्दो प्रयोगलाई निरुत्साहित गरेर प्राङ्गारिक खेती प्रणालीमा किसानलाई फर्काउन अब ढिलाइ गर्न नहुने उहाँको भनाइ छ ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com