नेपाली योग प्रशिक्षक खड्काद्वारा वृक्षासनमा विश्व कीर्तिमान कायम


प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार

नेपाली योग प्रशिक्षक विक्रम खड्काले तीन घण्टा ५० मिनेटसम्म वृक्षासन (ट्रि पोज) मा बसेर विश्व कीर्तिमान बनाउनुभएको छ । लायन्स क्लब अफ काठमाडौँ च्याम्पिएनले आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खीलराज रेग्मीले उहाँलाई विश्वरेकड प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ले केही हप्ताअघि प्रमाणपत्र उपलब्ध गराएको थियो । उक्त प्रमाणपत्र आज खड्कालाई हस्तान्तरण गरिएको हो ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले वृक्षासनमा बसेर विश्व कीर्तिमान कायम गर्न सफल भएकामा खड्कालाई बधाई दिँदै विश्वमा नेपालको नाम राख्न सफल भएको बताउनुभयो ।

योग प्रशिक्षक खड्काले वृक्षासनको पुरानो रेकर्ड आफूले तोड्न सफल भएकामा खुसी व्यक्त गर्नुभयो । यसअघि वृक्षासनको विश्व रेकर्ड भारतीय नागरिक सनत रथको नाममा थियो ।

सन् १८ जुन २०२० मा बैङ्गलोरका सनतले एक घण्टा ६ मिनेट ५५.३ सेकेन्डसम्म वृक्षासनमा बसेर गिनिज बुकमा नाम लेखाउनुभएको थियो । योग प्रशिक्षक खड्काले काठमाडौँको गोंगबुमा न्यू लाइफ क्लिनिक सञ्चालन गर्दै आउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com