अमेरिकी अध्यागमन लगायतका १११ टिप्स समेटिएको किशोर पन्थीको ‘जिरो माइल’ भोलिदेखि बजारमा
प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार
अमेरिकी अध्यागमन लगायतका १ सय ११ वटा टिप्स र जानकारीहरु समेटिएको खसोखासका प्रधानसम्पादक किशोर पन्थीबाट लिखित पुस्तक जिरो माइल भोलिदेखि बजारमा आउने भएको छ । काठमाडौंको धुम्बाराहीमा रहेको होटल अकामामा शनिबार दिउसो २ बजे पुस्तक लोकार्पण हुने भएको छ ।
पुस्तकमा अमेरिकामा आप्रवासी र गैर आप्रवासी भिसामा आउन चाहनेहरु र अमेरिका आइसकेकाहरुका लागिमात्र नभई अमेरिकाको अध्यागमन कानूनबारे उत्सुकहरुका लागि समेत जानकारीहरु समेटिएको छ । अमेरिकाको अध्यागमन कानूनको बारेमा सही जानकारी नहुँदा कैयन व्यक्तिले समस्या भोग्नु परेको र कैयन व्यक्ति दलालको फन्दामा परेर मानव तस्करीको शिकार समेत हुने गरेकाले उनीहरुलाई समेत पुस्तकले सही जानकारी प्रदान गर्ने लेखक पन्थीको विश्वास रहेको छ ।

पुस्तकमा अध्यागमनबारेमात्र नभई आप्रवासीहरुले ध्यान दिनुपर्ने अन्य विषयहरुमा समेत टिप्सहरु प्रदान गरिएको छ । अमेरिकाको जटिल अध्यागमन कानूनलाई सरल तरिकाले व्याख्या गर्ने प्रयास पुस्तकमा गरिएको लेखक पन्थीले जानकारी दिएका छन् । पुस्तकमा प्रदान गरिएका टिप्सहरु जानकारीको लागिमात्र भएको र आफ्नो आवेदन वा मुद्दाबारे कानूनी सल्लाहका लागि कानून व्यवसायीलाई सम्पर्क गर्न लेखकले सुझाव दिएका छन् ।
अमेरिका विश्वभरका आप्रवासीहरुको आकर्षक गन्तव्य रहेकाले जिरो माइलका रुपमा रहेको र अमेरिकाबाट आप्रपवासीहरुको नयाँ यात्रा समेत सुरु हुने भएकाले पनि जिरो माइलका रुपमा रहेकाले पुस्तकको नाम जिरो माइल राखिएको लेखकले बताएका छन् । पत्रकार पन्थीको यो दोश्रो पुस्तक हो । यस अगाडि उनको पहिलो पुस्तक कम्पन बजारमा आएको थियो ।
नेपालको गुल्मीमा जन्मेका किशोर पन्थी १२ बर्षदेखि न्युयोर्कमा रहेर पत्रकारिता गर्दै आएका छन् । उनी १० बर्षदेखि न्युयोर्कबाट प्रकाशन हुने ‘खसोखास’ का प्रधानसम्पादक हुन् । अध्यागमन, सामाजिक र राजनीतिक विषयमा कलम चलाउने उनीसँग नेपालमा टेलिभिजन, एफएम रेडियो र पत्रपत्रिकामा काम गरेको अनुभव छ । उनी अमेरिकामा अंग्रेजी सञ्चार माध्यममा पनि कलम चलाउँछन् । अमेरिकाको सिका युनिभर्सिटीबाट मानार्थ पीएचडीबाट सम्मानित उनले अमेरिकी राष्ट्रपति जो बाइडेनबाट हस्ताक्षरित प्रेसिडेन्ट्स लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्राप्त गरेका थिए ।

२८२ पृष्ठको पन्थीको पुस्तक जिरो माइल नमस्ते इन्टरनेशल मिडिया गु्रप पाइभेट लिमिटेडले प्रकाशित गरेको छ । पुस्तकको मूल्य नेपालमा ५ सय रुपैया र अमेरिकामा २० डलर रहेको छ । पुस्तक लेखकले आफ्ना स्वर्गीय भान्जा आषिस खनालप्रति समर्पित गरेका छन् । खसोखासकर्मी समेत रहेका खनालको गत मार्च २ मा २६ बर्षको उमेरमा स्वार्गारोहण भएको थियो । खनालको स्मृतिमा स्थापित आषिस फाउण्डेशनको शुभारम्भ पनि शनिबार आयोजित कार्यक्रममा नै हुनेछ । फाउण्डेशनले शिक्षा, स्वास्थ्य, संचार लगायतका क्षेत्रमा सामाजिक कार्य गर्नेछ ।






