अमेरिकाले यो आर्थिक बर्षमा थप ३५ हजार अस्थायी गैर कृषि कामदार भिसा उपलब्ध गराउने, को योग्य ?


प्रकाशित मिति : चैत्र १९, २०७८ शनिबार

अमेरिकामा आर्थिक बर्ष २०२२ को दोश्रो आधाका लागि थप ३५ हजारअस्थायी गैर कृषि कामदार भिसा एचटु बी उपलब्ध गराइने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ लेबरले थप भिसा उपलब्ध गराउने नियमको संयुक्त घोषणा गरेका हुन् ।

अप्रिल १ देखि सेप्टेम्बर ३० भित्र अस्थायी गैर कृषि कामदारलाई रोजगार दिन चाहने रोजगारदाताहरुका लागि यी भिसाहरु उपलब्ध हुनेछन् । श्रम बजारमा कामदारको माग बढी भएकाले अतिरिक्त भिसाहरु उपलब्ध गराइएको बाइडेन प्रशासनले जनाएको छ ।

३५ हजारमध्ये २३ हजार ५ सय भिसाहरु विगतमा यस्तो प्रकारको भिसा पाएका र पुन काममा आउन चाहनेहरुका लागि उपलब्ध हुनेछ । विगत तीन आर्थिक बर्षमध्ये कुनै आर्थिक बर्षमा एच टु बी भिसा पाएर अमेरिका आएका वा ए टु बी स्टाटस स्वीकृत भएकाहरुका लागि यी भिसा उपलब्ध हुनेछन् ।

बाँकी ११ हजार ५ सय भिसाहरु भने विगतमा भिसा नपाएका नयाँ कामदारहरुले पनि पाउन सक्नेछन् । तर यी भिसाहरु हैटी, होण्डुरस, ग्वाटेमाला र एल साल्भाडोरका नागरिकका लागि सुरक्षित गरिएको छ ।

एच टु बी भिसा कार्यक्रमले अमेरिकामा रहेका रोजगारदातालाई कृषि बाहेकका अन्य क्षेत्रमा गैर अमेरिकन अस्थायी कामदार राख्न अनुमति दिन्छ । तर कामको प्रकृति भने अस्थायी हुनुपर्छ । साथै उक्त कामका लागि अमेरिकामा प्रयाप्त कामदार नभएको कुरा प्रमाणित गर्ने लेबर सर्टिफिकेशन प्राप्त गरेको हुनुपर्छ ।

गत जनवरीमा पनि आर्थिक बर्ष २०२२ को पहिलो आधाका लागि थप २० हजार गैर कृषि कामदार भिसा एचटु बी उपलब्ध गराइएको घोषणा गरिएको थियो । ती भिसाहरु मार्च ३१ अगाडि कामदार राख्न चाहनेहरुका लागि उपलब्ध गराइएको थियो ।

गत नोभेम्बरमा अमेरिकाले अस्थायी कृषि एच टु ए तथा गैरकृषि कामदार एच टु बी भिसाका लागि योग्य देशको सुची अपडेट गरेको थियो । जस अनुशार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी ६ नयाँ देशलाई सुचीमा थपेको थियो ।

अहिले अस्थायी कृषि कामदार अमेरिका पठाउनका लागि ८५ देश योग्य छन् अस्थायी गैर कृषि कामदारहरु अमेरिका पठाउनका लागि ८६ देशहरु योग्य छन् ।

सुचीमा नभएका देश बाहेक अन्य देशका आवेदकका सन्दर्भमा अमेरिकाको राष्ट्रिय रुचीमा परेको खण्डमा युएससीआईएसले तजविज अधिकारका आधारमा आवेदन स्वीकृत गर्न सक्नेछ । नेपाल सुचीमा रहेको छैन । तर विभिन्न अवस्थाको मूल्यांकन गरेर युएससीआईएसले नेपाली आवेदकको समेत अस्थायी कृषि तथा गैर कृषि भिसा आवेदन स्वीकार गर्न सक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com