मन्त्री आलेको आदेशपछि सुदूरपश्चिममा जहाज चल्यो, जनता भन्छन्’बिरामीले उपचार पाउने भए’


प्रकाशित मिति : फाल्गुन २७, २०७८ शुक्रबार

सुदूरपश्चिमको बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमनस्थलमा नेपाल वायुसेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुलाई निकै सहज भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती जिल्लामा नेपाल वायुसेवाको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिनुभएको थियो । अहिले ती जिल्लामा उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीस्थित गेटा विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ हामीले यहाँका तीन जिल्लामा हप्तामा दुई पटक सोमबार र शुक्रबार नियमित उडान सुरु भएको छ र बाजुरा जिल्लामा यात्रु सङ्ख्याका आधारमा उडान गर्ने गरेका छौँ ।” निगमले सुदूरपश्चिमका तीन जिल्लामा आफ्नो हवाइ उडान सुरु गरेपछि यात्रुलाई पनि सहज हुनुका साथै यात्रु सङ्ख्यामा वृद्धि भएको गेटा विमानस्थल कार्यालयले जनाएको छ ।

यात्रु अभाव तथा जहाजको कमी भएको भन्दै निगमले सुदूरपश्चिममा केही समय पहिलेदेखि आफ्नो उडान सेवा बन्द गरेपछि निजी क्षेत्रका केही कम्पनीले यात्रु सङ्ख्याका आधारमा कहिलेकाहीँ उडान भर्दै आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुदूरपश्चिमका पहाडी जिल्लामा कालोपत्र गरिएका विमानस्थलमध्ये बैतडीको पाटन विमानस्थलमा भने निगमले अहिलेसम्म पनि आफ्नो हवाइ उडान सेवा सञ्चालन गर्न सकेको छैन । नेपाल वायुसेवाले उडान गर्न नसकेका कारण उक्त विमानस्थलमा निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी समिट एयरले उडान गर्ने गरेको बताइएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित जहाज सञ्चालनका लागि गृहकार्य सुरु भइरहेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाललाई सुदूरपश्चिममा साप्ताहिकरुपमा जहाज सञ्चालनका लागि नेपालगञ्ज बस्ने गरी वायुसेवाको एउटा जहाज पठाइएको छ भने केही समयभित्र यात्रु सङ्ख्याका आधारमा नियमित उडान गर्ने गरी तयारी हुँदैछ ।”

घर छेवैमा विमानस्थल भए पनि जहाज नआउँदा निकै दुखित भएका सुदूरपश्चिमका नागरिक अहिले नेपाल वायुसेवाले जहाज सञ्चालन गरेपछि यात्रा गर्नका लागि सहज भएको भन्दै निकै खुसी भएका डोटीको दिपायल सिलगढी नगरपालिका–३ का गणेशबहादुर साउँदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विमानस्थल कालोपत्र भएको वर्षौं भएको थियो तर जहाज नआउँदा दुःख लागेको थियो, अहिले जहाज आउन थाल्यो, यात्रा गर्न सहज भएको छ, हामी पनि खुसी भएका छौँ ।” दिपायलसहित यहाँका अन्य जिल्लामा रहेका विमानस्थलको थप बिस्तार तथा स्तरोन्नतिका लागि बजेट विनियोजन भई काम सुरु हुने प्रक्रियामा पुगेपछि नागरिकमा झनै खुशियाली थपिनुका साथै आकस्मिक उपचारका लागि लैजानुपर्ने बिरामीदेखि अन्य नागरिकलाई यात्राका लागि सहज भएको अछामका स्थानीयवासी तथा सञ्चारकर्मी विष्णु भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विमानस्थलमा जहाज नचल्दा आकस्मिक उपचारका लागि लैजानुपर्ने बिरामीदेखि अन्य नागरिकलाई यात्रा गर्दा निकै समस्या थियो, पैसा हुनेले हेली बुकिङ गथ्र्यो । नहुनेको अकालमै ज्यान जाने गर्दथ्यो, अहिले जहाज सञ्चालनपछि सबैलाई सहज भएको छ ।”-फाईल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com