‘भोट माग्दा अनेक थरि आश्वासन दिन्थे विश्वास लाग्दैनथ्यो तर अहिले घर बनेको छ भरोसा बढेको छ’


प्रकाशित मिति : फाल्गुन २६, २०७८ बिहीबार

–हुमकान्त पोखरेल

“निर्वाचनमा भोट माग्न आउँदा अनेक थरिका आश्वासन दिन्थे, तर विश्वास नै लाग्ने थिएन । अहिले घर बनेको छ, नेता र सरकारप्रति भरोसा बढेको छ ।” यो भनाइ गुल्मीका मदाने गाउँपालिका–३ सिर्सेनी पोखराका माया विश्वकर्माको हो ।

विश्वकर्मा सालझण्डी ढोरपाटन सडकखण्ड विस्तार गर्दा विस्थापित हुनुभएको थियो । छ वर्षअघि विस्थापित हुनुभएकी विश्वकर्मा अरुको घर, विद्यालय र त्रिपालमुनि बस्दै आउनुभएको थियो । तर अहिले सरकारले निःशुल्क घर उपलब्ध गराएसँगै उहाँ खुसी हुनुहुन्छ ।

सोही ठाउँका केशव सुनार पनि उक्त सडकखण्डबाट पीडित हुनुहुन्छ । विगतका स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा घर बनाइदिने आश्वासन दिँदा विभिन्न दलका नेता–कार्यकर्ता भोट माग्न आए । तर घर बन्ने कुरामा पत्यार नभएको उहाँ बताउनुहुन्छ । “घर बन्ने आशमा भोट हालेको तर पत्यार लागेको थिएन”, उहाँले भन्नुभयो, “नयाँ घर मिलेको छ, गाउँपालिकाप्रति आभारी छु ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ घर प्राप्त गरेका बोमलाल अर्यालले पनि अब आफूहरू ढुक्कसँग निदाउने प्रतिक्रिया दिनुभयो । भूकम्पमा चर्किएको घर सडक विस्तारको क्रममा पहिरोे गई जोखिममा थियो तर घर बनाउने आर्थिक उपाय नभएपछि उहाँ जोखिम मोलेरै उक्त घरमा बस्नुभएको थियो । “वर्षायाममा ठूलो पानी आउँदा कतिबेला बगाउँछ भनेर रातभर जाग्राम बस्थ्यौँ”, उहाँले भन्नुभयो, “अब नयाँ घरमा ढुक्कसँग निदाउन पाइने भयो ।” त्यसका साथै उहाँले आफूहरूलाई सानो भए पनि रोजगारीको व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

माया, केशव र बोमलाल त राज्यको तर्फबाट निःशुल्क घर प्राप्त गर्ने उदाहरणीय पात्रमात्रै हुनुहुन्छ । सिर्सेनी पोखरामा उहाँहरूजस्तै १७ जनाले नयाँ घर पाएका छन् । विसं २०७२ को भूकम्पमा उक्त घर सामान्य चर्किएका थिए । त्यसपछि सालझण्डी–ढोरपाटन सडक विस्तारका कारणले पहिरो जाँदा उहाँहरू विस्थापित हुनुभएको हो ।

विस्थापितमध्ये दुई परिवार छिमेकीको घरमा आश्रय लिँदै आएका थिए भने १५ परिवार जोखिम मोेलेरै चर्किएको घरमा बसेका थिए । विस्थापितलाई लक्ष्य गरी गाउँपालिकाले बस्ती निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । बुधबार एक कार्यक्रमको आयोजना गरी पूर्वमन्त्री एवं सोही क्षेत्रका सासंद गोकर्ण विष्टले पीडित परिवारलाई घर हस्तान्तरण गर्नुभएको हो ।

९९ लाखमा १७ घर

अहिले गाउँपालिकाको कूल ९९ लाख ४१ हजारको लागतमा १७ घर निर्माण भएका छन् । निर्माण भएका सबै घर दुई कोठे हुन् । जसमा निःशुल्क मिटरबक्स जडान गरिएको छ भने खानेपानीका धारा निर्माण गरिएको छ । बस्ती निर्माणका लागि मदाने गाउँपालिकाले आव २०७५र७६ मा रु १५ लाखमा १७ रोपनी जग्गा किन्यो । अर्को वर्ष अर्थात् २०७६र७७ मा घर निर्माण प्रक्रिया सुरु ग¥यो । उक्त वर्षमा घडेरी खन्नेदेखि घर बनाउनेसम्मको काम भएको थियो । तर घरको फिनिसिङ गर्न र खानेपानी सुविधा पु-याउन बाँकी थियो । बाँकी काम पालिकाले २०७७र७८ मा पूरा गर्दै पीडित परिवारलाई घर नै हस्तान्तरण गरेको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिनुभयो । “धेरै चुनौतीका साथ घर निर्माण भएका छन्”, उहाँले भन्नुभयो, “निर्वाचनमा गरेको बाचा पूरा गरेका छौँ ।”

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले घरको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । भौगोलिक विकटताका कारण विकासमा अप्ठ्यारो भए पनि ग्रामीण भेगमा घर निर्माण गर्नु ठूलो उपलब्धि भएको उहाँको भनाइ छ । राज्यले विपन्न नागरिकको लागि उपाहारस्वरूप घर प्रदान गरेको भन्दै नेता विष्टले आफूहरू दुःख–सुखमा सँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसका साथै सिर्सेनीमै सङ्घीय सरकारको लागतमा भूकम्प पुनःनिर्माणमार्फत ३२ घर बनेको विष्टले बताउनुभयो । “हाम्रो निरन्तरको प्रयासले आज बस्ती बन्न सफल भयो”, विष्टले भन्नुभयो, “तपाईँहरूको रोजगारीको विषयमा हामी छलफल गर्छौँ ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com