सङ्घर्ष गरे सफलता आफैँ आउँछः मुक्त कमैँयाबाट मिल मालिक बनेका केशवको कथा


प्रकाशित मिति : फाल्गुन २२, २०७८ आईतबार

शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित मुक्त कमैँया बस्तीका केशव डगौरालाई विगतमा जस्तो अहिले मजदुरीमा जाने चटारोे छैन । घर खर्च चलाउनका लागि आर्थिक अभावसमेत छैन ।सहजरुपमा परिवारको खर्च चल्न थालेको छ । उहाँले घरमै कुटानीपिसानी मिल सञ्चालन गरेपछि को जीवनशैली नै परिवर्तन भएको छ । कुटानीपिसानी मिलसँगै केशवले घरमै बङ्गुर फार्म र किराना पसल सञ्चालन गर्नुभएको छ । निकै सङ्घर्ष गरेर प्रगति गर्नुभएका केशवको विगतका जीवन निकै सङ्घर्षपूर्ण रहेको छ ।

“कमैँया मुक्तिको घोषणापश्चात् पुनःस्थापन भएपछि कमाउने साधन केही थिएन”, उहाँले भन्नुभयो, “मजदुरी गरेर जीविका चलाउँदै आएका थियौँ । दिनभरि मजदुरी गर्दा रु ५० मात्रै ज्याला पाइन्थ्यो । त्यसले घर खर्च चालाउन सकिने अवस्था थिएन । सबै मजदुर एकजुट भयौँ । मजदुरी गर्ने ठाउमा ज्याला बढाए मात्रै काम गर्ने निधो गरेपछि ज्यालाको रकम बढाएर रु १०० कायम भयो । त्यसबाट परिवारको खर्च चलाउन केही सहज भयो ।” मुक्त कमैँयाका लागि बस्तीमा सिकर्मी कामका लागि तालिम आयो । त्यसमा केशव पनि सहभागी हुनुभयो ।

सीप सिकेपछि मजदुरीबाट आउने ज्यालाभन्दा बढी रकम पाइन थालेकाले परिवारका लागि खर्च जुटाउन सहज हुँदै आयोे । गरिबी निवारणका लागि बस्तीमा समूह गठन भयो । “समूहमा आबद्ध भए”, केशवले भन्नुभयो, “समूहबाट केही रकम कर्जाका लिए । त्यसबाट पुनःस्थापन हुँदा पाइएको पाँच कट्ठा जग्गामा तरकारीखेती गरेँ त्यसबाट तीन महिनामै रु २५ हजार हात लाग्यो । तरकारीखेतीको रकमबाट चार वटा बङ्गुरपालन गरेँ । बङ्गुर बेचेर समूहबाट लिएको कर्जा तिर्न पनि भ्याएँ ।”

“मनमा बस्ती वरपर कसैले नगरेको काम गर्नका लागि कुरा खेल्न थाल्यो । निकै सोच विचार गरेपछि कुटानीपिसानीको मिल सञ्चालन गर्ने निधो गरँे । मिल सञ्चालन गर्नका लागि बङ्गुर बेचेको केही रकम थियो ।” उहाँले बताउनुभयो, “पुनःसमूहबाट रु ५० हजार कर्जा लिएँ । धान कुट्ने उपकरण, आटा बनाउने चक्की र एक वटा डिजेल इञ्जिन राखेर काम सुरु गरेँ । कुटानीपिसानी मिलबाट आम्दानी बढ्दै गयो र त्यसपछि पैसाका लागि कसैसँग हात थाप्न नै परेन ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समूहबाट थप रु एक लाख कर्जा लिएर मिलमा लगानी गरी विद्युतीय मोटर पनि जडान गरेपछि केशवको आम्दानी झन बढ्न थाल्यो । हाल मिलमा उहाँले रु छ लाख लगानी गरी आधुनिक कुटानीपिसानीका उपकरण जडान गर्नुभएको छ । यसबाट मासिक रु २५ हजारदेखि रु ३५ हजारसम्म आम्दानी हुन्छ । मिलकै कमाइबाट पालिएका बङ्गुरबाट वार्षिक रु ७० हजार र किराना पसलबाट रु १५ हजार मासिक आम्दानी हुने गरेको छ ।

नौ जनाको परिवारको खर्चसमेत व्यवसायबाटै आएको आम्दानीबाट धानिएको छ । छ कोठाको पक्की घरसमेत केशवले निर्माण गर्नुभएको छ । मिलबाट कमाई हुने पैसाबाटै छोराछोरीको बीमासमेत गरिएको छ । बाह्र वर्षको उमेरमै कमैँया बसेर केशवले काम गर्नुभएको हो । “पैँतीस वर्षको उमेरसम्म कमैँया बसेर काम गरेँ”, उहाँले भन्नुभयो, “जीवनमा सङ्घर्ष गर्न सिकेकाले भोकै रहनुपरेको छैन । अरु जस्तै सहजरुपमा जीवनयापन गर्न सकिएको छ ।”

“समाजमा सम्मान र आदर पनि उत्तिकै पाइन थालेको छ ।” भविष्यका लागि केशवले बैंकमा रकम बचतसमेत गर्दै आउनुभएको छ । “लगनशील भएर कार्य गरे जीवनमा सफलता अवश्य पाइन्छ”, उहाँले भन्नुभयो, “सङ्घर्ष गरे थोरै पुँजीले पनि धेरै कमाई गर्न सकिँदोरहेछ । त्यसका लागि धैर्यता आवश्यक छ ।”-RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com