भुक्तानी ढिलाइले बिपीमा बिमा सेवा बन्द हुने अवस्थामा


प्रकाशित मिति : फाल्गुन १८, २०७८ बुधबार

–देवेन्द्र कार्की

लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ ।

एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै आएको बिमा सुविधा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै स्वास्थ्य बिमा बोर्डलाई प्रतिष्ष्ठान प्रशासनले पत्र लेखेको छ । स्वास्थ्य बिमा बोर्डको सहकार्यमा प्रतिष्ठानले स्वास्थ्य विमितलाई निःशुल्क सेवा दिँदै आएको थियो । बिमा सेवावापत बिमा बोर्डले प्रतिष्ठानले पेस गरेको कागजातका आधारमा मूल्याङ्कन गरी भुक्तानी गर्ने प्रावधान छ । गत कात्तिकदेखि प्रतिष्ठानले दाबी गरेको रकम बोर्डले भुक्तानी नगर्दा प्रतिष्ठान सञ्चालनमा समस्या आउने देखिएको अस्पतालका प्रशासकीय अधिकृत अशोक साहले जानकारी दिनुभयो ।

विमितको कागजपत्रसहित साप्ताहिकरूपमा प्रतिष्ठानले भुक्तानी दाबी गर्ने गरेको छ । प्रतिष्ठानले दाबी गरेको मूल्य बोर्डले रुजु गरेर भुक्तानी पाउने गरेको थियो । महिनामा रु तीन करोडभन्दा बढीको दाबी हुने गरेको छ । बिमाका कर्मचारीले प्रतिष्ठानले दाबी गरेको शोेधभर्ना रकमको मूल्याङ्कन नै नगरीदिँदा प्रतिष्ठानलाई दैनिक कार्य सञ्चालनका लागि समस्या भएको अस्पतालका निर्देशक प्रा डा गौरीशङ्कर साहले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विसं २०७४ देखि बिमा सुविधा दिँदै आएको प्रतिष्ठानलाई बोर्डले भुक्तानी गर्न रु २६ करोड देखिएको छ । गत कात्तिक २८ यता कुनै दाबी स्वीकृत नगरेको साहले बताउनुुभयो । प्रतिष्ठान स्वशासित संस्था भएकाले यहाँका कर्मचारी, चिकित्सक तथा पदाधिकारीका लागि प्रतिष्ठान आफैँले तलबभत्तालगायतका सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ । आन्तरिक आम्दानीले नै प्रतिष्ष्ठान चलाउनुपर्ने बाध्यता भएको प्रतिष्ठानको मुख्य आम्दानी भनेकै बिरामीको सेवाबाट हो ।

दैनिक प्रतिष्ठानमा आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत बिमाबाट आउने गरेका छन् । बिमा सुविधा हुनेलाई प्रतिष्ठानले ‘जिरोमा विलिङ’ गर्दै आएको छ । प्रतिष्ठानको आम्दानीको स्रोत नै बिमामा जोडिएपछि आर्थिक सङ्कट उत्पन्न भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणि पोखरेल बताउनुहुन्छ ।

कात्तिकयताको करिब रु १५ करोड र २०७४ सालदेखि नै बोर्डले पेन्डिङ गरेको रकम गरी रु २६ करोड भुक्तानी लिन बाँकी देखिएको उहाँले बताउनुभयो । पटक–पटक ताकेता गर्दा पनि बोर्डका कर्मचारीले जनशक्ति अभावको कारण देखाउँदै मूल्याङ्कन नगर्दा अस्पतालले भुक्तानी पाएको छैन । अस्पताल निर्देशक आफँै काठमाडौँ पुगेर भन्दासमेत सुनुवाइ नभएपछि आइतबार प्रतिष्ष्ठानले बिमा बोर्डले भुक्तानी रोकेका कारण एक महिनापछि बिमा सुविधाको सेवा दिन नसक्ने अल्टिमेटसहितको पत्र बोर्डलाई पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकारलाई समेत बोधार्थ दिएर बोर्डलाई पत्र पठाइएको छ ।

उधारोमा काम गरेर प्रतिष्ठान चलाउन गाह्रो भएको कुलपति डा ज्ञानेन्द्र गिरीले बताउनुभयो । हाल ५० प्रतिशत आम्दानीले मात्र प्रतिष्ठान चलाइरहेको बाँकी बिमा बोर्डमा पेन्डिङ भएको उहाँले बताउनुभयो । “प्रदेश नं १ र मधेस प्रदेशका बिमित जनतालाई सेवा दिइरहेका छौँ । तर बोर्डबाट आउने शोधभर्ना रोकिएपछि आर्थिक सङ्कट सुरु भयो”, गिरीले भन्नुभयो, “आफैँ कमाएर चलाउने संस्थाको समस्याबारे बिमा बोर्डको ध्यानाकर्षण होस् भन्ने हाम्रो मनासाय हो । बिमितलाई राम्रो सेवा दिन हामी प्रतिबद्ध छौँ र दिइरहेका छौँ ।”

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर वसौलाले बोर्डले कुनै पनि अस्पतालको भुक्तानी नरोकेको बताउनुभयो । उहाँले कर्मचारी अभाव र धेरै अस्पताल बिमामा जोडिएकाले समस्या भई केही ढिला भएको तर भुक्तानी भने कसैको नरोकिएको बताउनुभयो । “समयमा शोधभर्नाको कागजपत्र नपठाउने अस्पतालको भुक्तानी ढिलाइ भएको हुनसक्छ । हामीले रोक्ने भन्नेचाहिँ होइन”, उहाँले भन्नुभयो, “कात्तिक अगाडिको हिसाब मिलाउन धेरैको बाँकी छ । मिलाउँदै गएका छौँ ।” प्रतिष्ठानको हकमा मङ्सिरमा रु पाँच करोड भुक्तानी दिएको र बाँकी अब प्रक्रिया पु¥याएर तत्काल दिने उहाँको भनाइ छ ।

नेपालका सरकारी तथा निजी गरेर ४३७ अस्पतालले बिमा सुविधा दिँदै आएका छन् । ७७ जिल्लाका ५० लाख व्यक्तिले बिमा सुविधा लिँदै आएको उहाँले बताउनुभयो । प्रतिष्ठानमा दैनिक एक हजारदेखि एक हजार ५०० बिरामी बिमाबाट सेवा लिन आउने गरेको प्रतिष्ष्ठानले जनाएको छ । यो सङ्ख्या प्रतिष्ष्ठानका सेवाग्राहीको कूल सङ्ख्याको ६० प्रतिशत हो । साउनदेखि गत माघ मसान्तसम्म ६ हजार ५२८ जनाले बिमा सुविधा लिएको बिमा सम्पर्क कार्यालयको तथ्याङ्कमा उल्लेख छ । हालसम्म रु ७३ करोडको सेवा बिमामार्फत दिएको प्रशासकीय अधिकृत साहले जानकारी दिनुभयो ।

प्रतिष्ठानको आम्दानीको मुख्य स्रोत बिरामी र यहाँ अध्ययन गर्न आउने विद्यार्थी नै हुन् । कोरोना, लामो सयमदेखि प्रतिष्ठानमा भएको आन्दोलनको प्रभावले ५० प्रतिशत आम्दानी घटिरहेको बेला बिमावापतको भुक्तानी पनि समयमा नआउँदा झन् सङ्कट परेको प्रतिष्ठानले जनाएको छ । अस्पताल निर्देशक साहका अनुसार विगतमा विद्यार्थीबाट रु एक अर्ब आम्दानी हुने गरेको थियो । विदेशी विद्यार्थीबाट सबैभन्दा धेरै आम्दानी हुने गरेको थियो । विदेशी विद्यार्थी कोटासमेत कटौती भएका कारण आम्दानी घटेको उहाँको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com