मतगणना या मतदान जे भएपनि बन्धक नबनाइयोस् : भरतपुर १९ वडावासी


प्रकाशित मिति : असार ४, २०७४ आईतबार

रत्ननगर (चितवन), ४ असार । “बर्खा लाग्ने बेला भो । अब धमाधम किसानलाई चटारो हुन्छ, चुनाव के हुने हो थाहा छैन, मतदान या मतगणना जे होस् तर छिट्टै होस् । अब हामी १९ का मतदातालाई बन्धक नबनाइयोस् ।” यो भनाइ हो भरतपुर–१९ शारदानगरका मतदाता बुद्धिमान तामाङको ।

आज बिहान भरतपुर–१० को शारदानगर टाउनमा पुग्दा तामाङ तरकारीका लागि फर्सीको मुन्टा केलाउँदै हुनुहुन्थ्यो । सँगै तीन÷चार जना मतदाता पनि थिए । जो पार्टीको प्रमुख आए पनि आफूहरुलाई केही फरक नपर्ने उनीहरुको भनाइ छ ।

शारदानगर टाउनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एमाले)का झन्डा फुङ्ग उडेका छन्, धेरै झन्डा च्यातिएका छन् । कतिपय च्यातिने अवस्थाका छन् । नयाँ झन्डा कसैले राखेका छैनन् । गाउँ घुम्दा धेरैका घरमा काँग्रेसका झन्डा देखिन्छन् । सूर्य र हँसिया हथौडा फाट्टफुट्ट देखिन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

झन्डा कुहिने बेला भइसक्दा पनि मतगणना या मतदान भन्ने विषय अनिर्णयको बन्दी हुँदा मतदातामा खासै उल्लास छैन । मतदाताको प्रतिक्रिया मिश्रित भए पनि अहिले पुनः मतदान हुनुपर्नेमा धेरैको मत देखिन्छ ।

एकाएक मतगणना रोकिएकामा अर्का मतदाता राजुभक्त लम्साल आक्रोशित हुनुहुन्थ्यो । “केही न केही निकास निकालियोस्, हामीलाई बन्धक नबनाइयोस्”– लम्सालले भन्नुभयो । उहाँ मतगणना गरे राम्रो हुने प्रतिक्रिया दिनुहुन्छ ।

जेठ १४ गते राति मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिको मतगणना रोकिएको छ । रोकिएको झन्डै एक महिना हुन लाग्यो । निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरे पनि सर्वाेच्च अदालतमा रिट दायर भएपछि अहिले तत्कालका लागि अघि नबढाउन अन्तरिम आदेश भएको छ ।

जेठ २८ र जेठ ३० गते हुने भनिएको सुनुवाइ रोकिएर असार ६ गतेका लागि सर्वाेच्चले सुनुवाइको समय तोकेको छ । निर्णय छिटो आउन नसकेकामा चिन्ता प्रकट गर्दै मतदाताले जनतालाई दुःख नदिन आग्रह गरेका छन् । भरतपुर– १९ को शारदानगरमा फेन्सी व्यवसाय चलाउँदै आएका कृष्ण खरेल भरतपुर १९ मा स्वतन्त्र रुपमा मूल्याङ्कन गर्ने अवस्थै नभएको बताउनुहुन्छ ।

गणतन्त्र भन्ने महसुस नै नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिले वडामा विभिन्न बहानामा दबाब सिर्जना गरिएको छ, खुसी लागेको छैन ।” पैंसट्ठी वर्षीय स्थानीय श्यामलाल महतो पटकपटक चुनावमा जाँदा आफूजस्ता बूढाबूढीलाई सकस हुने बताउनुहुन्छ । “बिरामी पनि छन्, खेतीपाती पनि छन्, यस्तो बेला गाह्रो हुन्छ, छिटो निर्णय आए राम्रो हुन्छ,” उहँ भन्नुहुन्छ ।

अर्का मतदाता उदयराज पराजुली जनताको मताधिकार च्यातिएपछि मतगणना हुँदा अधिकार हनन हुने भन्दै पुनः मतदान नै उपयुक्त हुने दाबी गर्नुहुन्छ । जे निर्णय भए पनि छिट्टै गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

सर्वाेच्चमा रिट दायर गर्ने एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक आफ्नो विद्युतीय सामान पसलमा काम गर्दैगर्दा भेटिनुभयो । मतदान कै निर्णय भए पनि छिटो गरे हुने उहाँको सुझाव छ ।

मतपत्र च्यात्ने बेलामा घटनास्थलमै रहेको बताउनुहुने विक देख्दादेख्दै दिउँसै रात पार्ने काम भएकामा चित्त दुखेको बताउनुहुन्छ । भरतपुर–१९ मा तीन वटा मतदान केन्द्र छ । किरणगञ्ज, गुञ्जानगर, शारदानगरलगायत क्षेत्र त्यहाँ समेटिन्छ । अहिले एमालेले छुट्टै चुनावी प्रचार अभियान चलाइरहेको छ भने काँग्रेस र माओवादी केन्द्रले संयुक्त चुनावी अभियान जारी राखेका छन् ।

काँग्रेस, माओवादी केन्द्र र एमालेका खाँटी कार्यकर्तासमेत जे हुने हो तत्कालै निर्णय आइदिए सजिलो हुने बताउँछन् । भरतपुर–१० रानीपोखरीकी इन्द्रकुमारी गुरुङ मतदाताले मान्छे हेरेर भोट दिने भनेको सुनेको बताउनुहुन्छ ।

तर जे निर्णय भए पनि छिट्टै भइदिए राम्रो हुने उहाँको भनाइ छ । उहाँलाई पुनःमतदान भए राम्रो लाग्छ । यता भोट पुनः गणना गरिदिए राम्रो हुने प्रतिक्रिया दिने स्थानीयवासी भीमबहादुर क्षेत्री अनिर्णयमा भने रहन नहुने तर्क गर्नुहुन्छ । एमाले भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार देवी ज्ञवाली जेठ १४ को घटनाक्रम बुझाउँदै अहिले मतदाताको घरदैलोमा लागेको बताउनुहुन्छ ।

यता काँग्रेस माओवादी केन्द्रको गठबन्धनकी उम्मेदवार रेणु दाहाल एक चरणको घरदैलो सकेर अर्काे चरणको अभियान सुरु गरेको र मतदातामा उत्साह थपिएको बताउनुहुन्छ । दुवै समूह अहिले मतदाता प्रभावित पार्न मत माग्न मै व्यस्त देखिन्छन् । भरतपुर–१९ मा तीन हजार सात सय ९७ मतदाता छन् । भरतपुरमा वडा नम्बर १९ को मतगणनाका क्रममा ९० मत च्यातिएपछि मतगणना रोकिएको थियो । अब गन्न बाँकी वडा नम्बर २० को मात्रै छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com