यौन दुराचारको अभियोग लागेका कलाकारको मुद्दा पुनः अघि बढाइने


प्रकाशित मिति : असार ४, २०७४ आईतबार

एउटा अमेरिकी अदालतका न्यायाधीशले हास्य कलाकार बिल कोस्बीविरुद्धको मुद्दामा कुनै फैसला गर्न नसकेपछि अभियोजनकर्ताहरुले सो मुद्दालाई पुनः अघि बढाइने बताएका छन्।१३ वर्षअघि एक महिलालाई नशालु पदार्थ खुवाएर यौन दुराचार गरेको उनीमाथि अभियोग छ।

अदालतलाई सुझाव दिन गठित एक जुरी लामो छलफलपछि पनि कुनै निष्कर्षमा पुग्न सकेन।

नोरिसटाउन पेन्सिलभेनियाको अदालतमा कोस्बीविरुद्धको मुद्दामाथि ५३ घण्टासम्म बहस चले पनि अदालतबाट कुनै निर्णय आउन सकेन।

५० घण्टाभन्दा लामो समय चलेको छलफलपछि पनि जुरीका सदस्यहरु एकमत हुन नसकेपछि न्यायाधीश स्टिभन ओनिलले जुरीलाई खारेज गरिदिए।

उनले कोस्बीलाई धरौटीमा छोड्ने र उनी अभियुक्त नै रहने आदेश सुनाएका छन्।

७९ वर्षीय कोस्बीविरुद्ध सन् २००४ मा एक महिला एन्ड्रिया कन्स्टान्डलाई नशालु पदार्थ खुवाएर यौन दुराचार गरेको आरोप लागेको छ।

तर कोस्बीका वकिलले दुवैजनाको सहमतिमा यौन सम्बन्ध भएको दावी गरेका छन्।

धेरै महिलाले कोस्बीले आफूमाथि यौन हमला गरेको आरोप लगाएका छन् तर कानूनी सीमाका कारण एक महिलाले लगाएको अभियोगमात्रै अदालतमा पुगेको छ।

कोस्बीविरुद्धका अभियोग प्रमाणित भएको भए उनले १० वर्षसम्मको कैद सजाय भोग्नुपर्न सक्थ्यो।

बीबीसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com