उम्मेदवार छनोटले खैलाबैला


प्रकाशित मिति : असार ३, २०७४ शनिबार

असार ३, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा स्थानीय निकायको निर्वाचनमा उम्मेदवार छनोट विवादले खैलाबैला मच्चिएको छ । विवाद कांग्रेस सभापतिसमेत रहेका देउवासमक्ष पुगे पनि समाधान हुन सकेको छैन ।
जिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र निवर्तमान सभापति रघुवर भट्ट पक्षबीच उम्मेदवार छनोटमा देखिएको विवाद छताछुल्ल भएको छ । दुवै पक्ष देउवाको छत्रछायामा हुर्केका भए पनि पछिल्लो पटक उम्मेदवार छनोटमा पानी बाराबारको अवस्थामा पुगेका छन् । मल्ल पक्षले एकलौटी रूपमा जिल्लामा ‘टिकट’ वितरण गरेको आरोप लगाएको छ । भट्ट पक्षले भने विधिअनुसार उम्मेदवार छनोट गरेको दाबी गरेको छ । विवाद यतिसम्म चुलिएको छ कि वडा अध्यक्ष र सदस्यहरूको उम्मेदवार छनोटमा मल्ल पक्ष सहभागी भएको छैन ।
जिल्लामा मनोनयन गर्ने दुई दिन अघिसम्म भट्ट पक्षले वडा उम्मेदवार छनोट गरिरहेका बेला मल्ल पक्ष ‘बहिष्कार’ को अवस्थामा सदरमुकाममा भेटियो । डडेल्धुरा कांग्रेस उपसभापति करुणाकर भट्टले सबैका नेता देउवा भएको उल्लेख गर्दै उम्मेदवार छनोट एकतर्फी भएको बताए । ‘वडा, गाउँ, नगर समितिबाट सिफारिस भएका व्यक्तिलाई पूरै बेवास्ता गरियो,’ उनले कान्तिपुरसँग भने, ‘उम्मेदवारलाई टिकट वितरण एकतर्फी भयो, यसमा हाम्रो असहमति हो ।’ भट्ट पक्षका एक नेताले जिल्ला पार्टी सभापति मल्लले वडा समितिबाट एकपक्षीय ढंगले उम्मेदवार सिफारिस गरेका कारण विवाद भएको दाबी गरे । ‘सभापति पक्षले वडा समितिदेखि एकलौटी सिफारिस गर्‍यो, जिल्ला समिति बहुमतले त्यसलाई अस्वीकार गरेको हो,’ ती नेताले भने, ‘विधिअनुसार उम्मेदवारलाई टिकट वितरण भएको हो । निर्वाचनपछि पार्टी पद्धतिअनुसार कारबाही हुन सक्छ ।’
डडेल्धुराका स्थानीय तहका लागि राजधानीबाट उम्मेदवार छनोट गरेपछि गत सोमबार र मंगलबार सदरमुकाममा मल्ल पक्षले हातमा कालोपट्टी बाँधेर विरोध गरेको थियो । उक्त पक्षले बागबजारदेखि प्ले कार्ड बोकेर मौन जुलुस गरेको थियो । उनीहरूले उम्मेदवार छनोट सच्याउनुपर्ने माग गरेको भए पनि प्रधानमन्त्री देउवाले बेवास्ता गरेको बताए । ‘शेरबहादुर दाइले चाहेमा अझै सच्याउन सक्नुहुन्छ,’ करुणाकरले भने, ‘शेरबहादुर र आरजु भाउजूलाई कुरा लगाउनेले विवाद समाधान गर्न दिएनन् ।’
डडेल्धुरामा दुई नगरपालिका र पाँच गाउँपालिकामा उम्मेदवार छनोटमा एकतर्फी भएको दाबी मल्ल पक्षले गर्‍यो । ‘अजयमेरु गाउँपालिकाको उपमेयरबाहेक कुनै पनि स्थानीय निकायमा एकलौटी भयो,’ कांग्रेस महाधिवेशन प्रतिनिधि हरिप्रसाद भट्टले भने, ‘शेरबहादुर दाइलाई सबैको साझा नेता हुन नदिने पक्ष हावी भएकाले यो विवाद आयो ।’
जिल्लामा विवाद भएपछि दुवै पक्ष देउवा निवासमा डेरा जमाएर बसेका थिए । अन्तत: भट्ट पक्षलाई देउवा पत्नी आरजुको समर्थन भएपछि विवाद झन् बढेको स्थानीय नेताको भनाइ छ । जिल्लाकी पुरानो महिलानेत्री नारुदेवी ओझाले सभापति देउवाले पटकपटक अमरगढी नगरपालिकाको उपमेयर बनाउने आश्वासन दिएको भए पनि अन्त्यमा नदिएको गुनासो गरिन् ।
‘मैले काठमाडौं बूढानीलकण्ठमा पटकपटक भेट्दा तिमी नै उपमेयरको उम्मेदवार हो भन्नुभयो, अन्त्यमा दिनुभएन,’ उनले गुनासो गरिन्, ‘यतिबेला मलाई लोग्नेको मृत्यु हुँदाभन्दा बढी पीडा भएको छ ।’ सदरमुकामको अमरगढी नगरपालिकाको उपमेयरको टिकट पाएकी पार्वतीदेवी झुकाल ओझाभन्दा कनिष्ठ नेत्री हुन् ।
अजयमेरु गाउँपालिका उपप्रमुख उम्मेदवार कमला विष्टले उम्मेदवार छनोट न्यायोचित नभएको बताइन् । उक्त गाउँपालिकामा आफूले प्रमुख पदमा दाबी गरे पनि पूर्वाग्रही ढंगले उपप्रमुखमा सीमित गरेको आरोप लगाइन् । ‘आरजु भएको जिल्लामा महिलालाई टिकट दिन अन्याय भयो,’ महिला संघ जिल्ला अध्यक्षसमेत रहेकी उनले भनिन्, ‘यसले महिलाको मनोबल घटाएको छ ।’ उनले ‘माथि भनिदिने मान्छे भए मात्र टिकट पाउने’ अनुभव गरेको बताइन् । डडेल्धुरामा भागेश्वर गाउँपालिका प्रमुखको उम्मेदवारमा पूर्वपार्टी सभापति रघुवर भट्टकी छोरी कौशिला छनोट भएकी छन् । उनी एक मात्र गाउँपालिका प्रमुखकी उम्मेदवार हुन् । कांग्रेसनिकट बुद्धिजीवी प्रेमबहादुर बोहराले मल्ल र भट्ट पक्षले पद्धतिभन्दा पदलाई महत्त्व दिएका कारण विवाद भएको बताए । ‘जिल्लास्तरमा सहमति  गर्न नसक्दा बढी समस्या आयो, विवाद केन्द्रमा गयो, विवाद झन् बढ्यो,’ उनले भने, ‘दुवै पक्षले ‘लेनदेन’ गर्न जानेनन् । विवादले पार्टीलाई घाटा हुन सक्छ ।’
डडेल्धुरा कांग्रेसको विगत हेर्ने हो भने कांग्रेस सभापति देउवानिकट हुने दौडका कारण चर्को विवाद हँ‘दै आएको छ । गत पार्टीको जिल्ला अधिवेशनमा देउवाको चाहनाविपरीत कर्णबहादुर मल्लले जिल्ला सभापति जितेका थिए । त्यसपछि उनीप्रति देउवा र आरजु रुष्ट बनेका थिए । जिल्ला अधिवेशनको असर हाल स्थानीय निर्वाचनमा उम्मेदवार चयनमा देखियो । पूर्वपार्टी सभापति रघुवर भट्ट पक्षलाई देउवा र आरजुले विश्वास गर्छन् । त्यसकारण पार्टी सभापति मल्ल पक्षलाई ‘माइनस’ गरेको बुझाइ छ । पछिल्लो समय पनि जिल्लामा एकछत्र ‘राज’ गर्दै आएका देउवा निकट हुने दौडमा विवाद देखिएको हो ।
विगतदेखि नै देउवाले आफूअनुकूल कहिले एक र कहिले अर्को गुटलाई निकट बनाएका छन् । ‘देउवापछि को नेता हुने भन्ने मुख्य विवाद हो, त्यही विवाद टिकट वितरणमा पनि देखियो,’ एक जिल्ला नेताले भने । कुनै बेला पार्टी सभापति मल्ल देउवाका विश्वासपात्र थिए भने भट्ट बाहिर थिए । हाल मल्ल बाहिर र भट्ट देउवानिकट छन् ।
‘पार्टी होइन, व्यक्ति हेर्छौं’
पहिलेको बगरकोट, भागेश्वर र रुपाल गाभिएर बनेको भागेश्वर गाउँपालिकाका गाउँबस्तीका बजार, चोक चौतारा यति बेला चुनावी छलफलका केन्द्र बनेका छन् । जताततै चुनाव चिहन अंकित ब्यानर झुन्ड्याइएका छन् । यात्रु बोक्ने गाडीसमेत पार्टीका झन्डा फर्फराउँदै ग्रामीण सडकमा हुइँकिरहेका देखिन्छन् ।
दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा मतदाताहरू कुन दलको कुन उम्मेदवार छनोट गर्नेबारे यसपालाको चुनावमा भने विगतको भन्दा फरक ढंगले छलफल गरिरहेका छन् । उनीहरू गाउँको प्रतिनिधि छनोट गर्न निकै सचेत छन् । ‘राम्रो प्रतिनिधि छान्न सके मात्र गाउँको विकास हुन सक्छ,’ भागेश्वर गाउँपालिका ४ का शिक्षक सुरत साउदले भने, ‘यो चुनावपछि गाउँमा विकास होला भन्नेमा सबैले विश्वास गरेका छन् । त्यसैले यसपटकको चुनावमा पार्टी हेरेर मात्र भोट दिनेवाला छैनन्, राम्रो व्यक्ति हेरेर भोट दिने मन बनाएका छन् ।’ गाउँपालिकामा समेत ठूलो बजेट आउने कुराले पनि मतदाताहरूमा उत्साह थपेको छ । विगतमा पहँ‘च हुनेहरूका घर आँगनमा मात्रै विकास निर्माण पुगेको देखेका उनीहरू अब आउने बजेटको बाँडफाँडमा अनियमितता हुन नदिनका लागि पनि भोट दिँदा राम्रो उम्मेदवार छनोट गर्नुपर्ने बताउँछन् । ‘विगतमा पहुँच भएका व्यक्तिले करोडौं बजेटमा हाली मुहाली गरे,’ बगरकोटका स्थानीय जयराज भट्ट भन्छन्, ‘अब बजेट सोझै आउने भयो, सबैले थाहा पाउँछन् निगरानी बढ्छ र काम राम्रो हुनेछ ।’ यहाँका मतदाताहरू एकलौटी रूपमा कुनै पार्टीको जित नहुने बताउँछन् । प्रमुख र उपप्रमुखमा पार्टीगत रूपमा मतदान भए पनि वडा अध्यक्षदेखि सदस्य पदमा भोट दिँदा नातागोता, गाउँ, समाज र आफ्नो क्षेत्रको व्यक्तिलाई छनोट गर्ने सम्भावना बढी देखिन्छ । जयराज भट्टका अनुसार स्थानीय जनताले त्यही व्यक्तिलाई रुचाउनेछन् जसले उनीहरू सँगै बसेर गाउँवासीका सुखदु:खमा साथ दिँदै आएको हुन्छ ।
बगरकोट बजारमा लामो समयदेखि व्यापार व्यवसाय गरी बसेका प्रेमराज चटौत पनि धेरै वर्षपछि हुन लागेको यसपटकको चुनाव विगतको भन्दा फरक हुने बताउँछन् । उनले पार्टी मात्र हेरेर नभई यसपाला व्यक्ति हेरेर भोट दिने मतदाताहरूको मनस्थिति रहेको बताए । ‘लहरै एउटै दलको सातै ठाउँमा मतदान गर्ने सम्भावना कमै छ,’ उनले भने, ‘उम्मेदवारका आकांक्षी धेरै भए, टिकट वितरणमा धेरैले चित्त दुखाएका छन् । त्यसैले उम्मेदवार हुन नपाएका बीचमै जिताउने–हराउने खेल हुन सक्छ ।’

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com