अध्यक्ष थापाले गीता छोएर भने,” मैले राप्रपा फुटाइनँ तर पार्टी सैद्धान्तिक रूपमा विचलित भएको छ”


प्रकाशित मिति : फाल्गुन ७, २०७८ शनिबार

राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिका विषयलाई राजनीतिक आदर्शका रूपमा अगाडि बढाउने बताउनुभएको छ । काठमाण्डौमा आज आयोजित पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राजसंस्थालाई सम्मान तथा जनतामा केन्द्रित संवद्र्धनवादको चिन्तनलाई प्राथमिकतामा राखेर क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले मुलुकमा विसं २००७ देखि अहिलेसम्म विभिन्न रजनीतिक प्रणालीका साथै आधा दर्जन संविधान प्रयोग भइसकेको भए पनि स्थायित्व हुन नसकेकाले जनताको जीवनस्तर परिवर्तन हुन नसकेको बतउनुभयो । अध्यक्ष थापाले विविधताले भरिएको देशमा सबै जाति समुदायका मौलिक संस्कृतिको संरक्षण गरी सनातन हिन्दू राष्ट्र कायम गर्न सकेमा मात्र राष्ट्रिय एकता बलियो हुने विचार व्यक्त गर्नुभयो ।

विगतमा पार्टी ठूलो बनाउने नाममा आफूले अस्वभाविक सम्झौता गरेकामा पश्चाताप व्यक्त गर्दै उहाँले भन्नुभयो, “ सनातन हिन्दू धर्मालम्वीहरुको पवित्र धर्म ग्रन्थ गीता छोएर भन्छु मैले राप्रपा फुटाएको छैन, राप्रपा सैद्धान्तिकरूपमा विचलित भएको छ, जीवन्त राष्ट्रवादी शक्तिको खाँचो छ ।” अध्यक्ष थापाले विगत पाँच वर्षको अलमलले पार्टीको पहिचान गुमेकाले आफूहरू भूमिकाविहीन भएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष थापाले केही नेताले राप्रपा विभाजन गर्न सुझाव दिँदा पनि आफूले त्यो सुझाव इन्कार गरेको पनि बताउनु भयो। पार्टी फुटाएर बलियो पार्टी बन्छ भन्नेमा कहिल्यै विश्वास नगरेको बताउन भयो ।-RSS

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com