एमसिसी टेबुल गर्न सहमति जुटेन, भोलि ३ बजे गठबन्धनका शीर्ष नेताको बैठक बस्ने


प्रकाशित मिति : फाल्गुन ४, २०७८ बुधबार

प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता टेबुल नहुने भएको छ ।

उक्त प्रस्तावलाई कार्यसूचीमा राख्ने/नराख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता गठबन्धनभित्रै दुई थरी मत आएपछि आज पेस नगर्ने स्थिति बनेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरुले यस प्रकारको राष्ट्रिय विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई सहमति नलिई अघि नबढ्ने विगतको अभ्यासलाई ध्यानमा राखेर निर्णयमा पुग्नुपर्ने बताउनुभएको थियो । प्रतिपक्षलाई विश्वासमा लिएर नजाँदा लोकतन्त्र ‘डिरेल’ हुने उहाँहरुको तर्क थियो ।

नेपाली कांग्रेसतर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू लगायतले सो प्रस्ताव पेस गर्नुपर्ने अडान राख्नुभएको थियो । बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)भने अनुपस्थित रहेको थियो ।

भोलि ३ बजे गठबन्धनका शीर्ष नेताको बैठक बस्ने
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उहाँहरुबीच बिहीबार अपराह्न ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने सहमति भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।-RSS

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com