एसईई वैशाख ९ गतेदेखि हुने


प्रकाशित मिति : माघ २६, २०७८ बुधबार

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसइईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका एसइई परीक्षा चैत महिनामा हुँदै आएकामा यस वर्ष भने कोरोना महामारीका कारण पढाइको कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिनका लागि बोर्डले नियमित समयभन्दा एक महिना ढिलो गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डले आउँदो स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर परीक्षाको मिति निर्धारण गरेको उहाँले जानकारी दिनुभयो । यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ । परीक्षाको तालिका भने बोर्डले भोलि बिहान सार्वजनिक गर्ने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com