अन्तरराष्ट्रिय विमानस्थलको मुख्य समस्या ‘ल्याण्डफिल साइट’


प्रकाशित मिति : माघ १७, २०७८ सोमबार

जमुनावर्षा शर्मा / सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको समय सीमाभन्दा ६ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउँदै आए पनि विश्वव्यापी रूपमा फैलिएको कोभिड (१९ का कारण विमानस्थल निर्माणको समय एक वर्ष थप गरी २०२२ जुलाई १० सम्म धकेलियो । अहिले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण सम्पन्न भइसकेको बताइएको छ ।

सन् २०२२ जुलाई नजिकिँदै गर्दा पोखरालाई विश्वसँग जोड्न महत्वपूणर् मानिएको विमानस्थल नजिकै रहेको फोहोर विसर्जनस्थल व्यवस्थापनतर्फ समयमै नसोचिँदा अहिले यो मुख्य समस्याका रूपमा देखिएको छ । सुरक्षित उडानका लागि विमानस्थल दुई किलोमिटर क्षेत्रमा रहेको ल्याण्डफिल साइटलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थल जुलाईसम्ममा सम्पन्न हुने तर ल्याण्डफिल साइटको व्यवस्थान हुन नसके उडान सम्भव नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विमानस्थलको ९१ प्रतिशत काम सकिएको छ, अब बाँकी पनि समयमै सकिनेछ तर महानगरको जिम्मेवारीभित्र रहेको ल्याण्डफिल साइट समयमै स्थानान्तरण गरिएन भने उडानमा समस्या आउने छ ।” उहाँले महानगरलाई यस विषयमा पटकपटक लिखित र मौखिक रुपमा जानकारी गराइरहे पनि सोअनुरुप काम अघि बढ्न ढिलासुस्ती भइरहेको बताउनुभयो । “मुख्य समस्याका रूपमा रहेको ल्याण्डफिल साइडका लागि उचित स्थानको खोजी भइरहेको र छिट्टै यसको समाधान हुन्छ भन्ने आश्वासन मात्र महानगरबाट पाएका छौँ”, मुनाकर्मीले भन्नुभयो ।

पोखरा महानगरपालिका वडा नं १४ बाच्छेबडुवामा रहेको ल्याण्डफिल साइट हाल निर्माणाधीन विमानस्थलबाट करिब दुई किमीमा छ । उडानसम्बन्धी अन्तरराष्ट्रिय मान्यतानुसार विमानस्थलबाट १० किमीभित्र ल्याण्डफिल साइट हुनुहुँदैन । ल्याण्डफिल साइट नजिक हुँदा चिल, गिद्धलगायत चराचुरुङ्गीबाट हवाई उडान जोखिममा पर्न सक्ने देखिन्छ । लामो समयदेखि एकै स्थानमा आहारको खोजी र आसपासमा बासस्थान बनाइरहेका चरा त्यही ठाउँमा आहाराका लागि आइरहने हुँदा कम्तीमा ६ महिना अगाडिदेखि स्थानान्तरण गर्नुपर्ने मुनाकर्मी बताउनुहुन्छ । उहाँले डम्पिङ साइटको स्थान टुङ्गो लगाएर मात्र व्यवस्थापन गर्न सकिए चराबाट उडानमा आउने समस्या समाधानका लागि बाटो खुल्ने बताउनुभयो । पुरानो ठाउँमा बाक्लो माटाले पुरेर र बर्ड स्केरिङ डिभाइस राखेर त्यस क्षेत्रमा देखिने अन्य चराको समस्यालाई पनि व्यवस्थापन गर्न सकिने उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँका अनुसार अब विमानस्थलमा ‘फिनिसिङ’का केही काम बाँकी छन् । वर्षायाम शुरुअघि नै ‘अपडेट स्ट्रक्चर’लगायत कार्य सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो । यसबाहेक निर्माणाधीन विमानस्थलको पूर्वमा रहेको रिठ्ठेपानी डाँडाको उचाइ ४० मिटर काट्न बाँकी नै छ, त्यससँगै विमानस्थल सञ्चालनपूर्व नै पानीको निकासमा देखिएको समस्यालाई पनि समाधान गर्नुपर्ने हुन्छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयारी कार्यदलका संयोजक विक्रम गौतम विमानस्थल क्षेत्रमा ल्याण्डफिल साइट हुँदा त्यस क्षेत्रमा आउने चराका कारणले उडान जोखिम बढाउने भएकाले छिटोभन्दा छिटो व्यवस्थापन गर्नुपर्ने बताउनुहुन्छ । “अहिलेको प्रमुख समस्याका रूपमा विमानस्थल क्षेत्रमा पर्ने डम्पिङ साइट हो, अहिले त्यस क्षेत्रमा चराहरूको जुन गतिविधि छ, त्यसले उडानलाई चुनौती थप्छ, यस विषयमा महानगरले विशेष चासो दिएर सञ्चालनपूर्व नै स्थानान्तरण गर्नुपर्ने हुन्छ तर अहिलेसम्म पनि जग्गाको टुङ्गो लागेर काम अघि बढेको छैन”, गौतमले भन्नुभयो । उहाँका अनुसार महानगरको ढिलासुस्तीले उडान सञ्चालनमा चुनौती थप्ने छ ।

चरा विज्ञसँगको छलफलअनुसार तत्काल यसको व्यवस्थापन गर्न सके ४० प्रतिशत चराको गतिविधि त्यहाँबाट रोक्न सकिनेछ । त्यसबाहेक पनि विमानस्थल आसापास खोलाका किनार, फोहोर, नभचर बासस्थानका कारण पनि त्यस क्षेत्रमा देखिने चरालाई पनि रोक्नुपर्ने अर्को चुनौती छ । पोखरामा स्थानीयसँगै आगन्तुक चराको पनि चहलपहल बढी भएकाले गार्डिङ, साइरन, शिकारी र अन्य उपकरणको प्रयोग गरेर गतिविधि न्यूनीकरण गर्न सकिने गौतमले बताउनुभयो । चरा उडान शतप्रतिशत रोक्न सम्भव नहुने उहाँको भनाइ छ ।

“खुला आकाशमा चरा नभएको जहाज उडान परिकल्पना गर्न सकिँदैन, सकेसम्म चरालाई एभोइड गरेर उडान गर्नुपर्छ, बेलाबेलामा चरा जहाजमा ठोकिएको, जहाजले चरा हानेको समाचारहरू आइरहेका छन्, खुला आकाशमा जहाज र चरा उडान सँगसँगै हुने अवस्था आएमा हुन्छ ।” उहाँले ‘एक्सेप्टेबल लेभल अफ सेफ्टी’लाई ध्यान दिएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँका अनुसार पोखरा चराका हिसाबले अत्यन्त ‘भल्नरेबल’ ठाउँ भएकाले वर्षमा केही समय एयरपोर्ट बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । विशेष गरी सेप्टेम्बरमा धेरै चराले बच्चा पाउने र कोरल्ने गतिविधि हुने भएकाले त्यसलाई ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार महानगरले प्रस्ताव गरेका स्थानमध्ये उडानको प्राविधिक नियमअनुसार भलामको पसमराम जग्गा उपयुक्त हुन्छ । अन्तराष्ट्रिय अभ्यासअनुसार विमानस्थलको १० किमी ल्याण्डफिल साइट स्वीकार गर्न मिल्दैन । एउटा दूरीले नाप्ने विषय तथा अर्को भौगोलिक विशेषता, विमानस्थल र त्यस क्षेत्रको दूरीको सम्बन्ध पनि हेर्नुपर्ने उहाँको भनाइ छ । गौतमका अनुसार पोखरा विमानस्थल सञ्चालनका लागि १० समस्या रहेकामा पहिलोमा ल्याण्डफिल, दोस्रोमा रिठ्ठेपानी डाँडा कटान र तेस्रोमा नहर व्यवस्थापन तथा बाँकी सात नीतिगत समस्या छन् ।

रिठ्ठेपानी डाँडाको समस्या समाधान लगभग अन्तिम चरणमा पुगेको छ । महानगरको जिम्मेवारीभित्र रहे पनि ऊ एक्लैले मात्र सल्टाउन गाह्रो हुन सक्ने भएकाले प्रदेशका मुख्यमन्त्री तथा प्रधानमन्त्री, विभागीय मन्त्रीलाई समेत समस्याका बारेमा अवगत गराइएको उहाँले बताउनुभयो । “हामीले मुख्य समस्याका रूपमा सबैलाई ध्यानाकर्षण गराइरहँदा पनि जुन गतिमा काम हुनुपर्ने हो, त्यसअनुरुप भएको छैन । तसर्थ निर्माण अन्तिम चरणमा पुग्दा सो विषयमा गम्भीर भएर काम गर्न हामी महानगरलाई अनुरोध गर्दछौँ ।”

जग्गाको टुङ्गो छैनः कावा प्रमुख गुरुङ

विमानस्थल निर्माण अन्तिम चरणमा पुगेसँगै उडानलाई प्रभावित पार्ने डम्पिङ साइट व्यवस्थापनका लागि महानगर विशेष चासो दिएर प्रक्रियागत रुपमा अघि बढेको कार्यवाहक प्रमुख मञ्जु गुरुङले बताउनुभयो । “विमानस्थल नजिकै डम्पिङ साइट रहेकाले अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडानलाई जोखिममा पार्ने देखिएको छ, महानगरले विशेष चासोको साथ समिति बनाएर कामलाई अगाडि बढाएको छ । प्रस्तावित जग्गाहरूमा छलफल भइरहेको छ, यद्यपि अहिले नै जग्गाको टुङ्गो भने लागिसकेको छैन ।” उहाँले ल्याण्डफिल व्यवस्थापनका लागि बनेको समन्वय समितिले पोखराका तीन ठाउँ प्रस्ताव गरेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रस्तावित ठाउँमध्ये पोखरा (२० को सिमाना वडा नं १६ स्थित भलाम पसमरामको स्थानलाई उपयुक्त मानिएको छ ।

“हामी प्रक्रियागत रूपबाट अघि बढेका छांैँ तर ल्याण्डफिल साइट भन्नेबित्तिकै स्थानीयवासीले सहज रुपमा लिन नसक्ने र विरोध गर्ने प्रवृत्तिले पनि समस्या समाधानमा ढिलाइ भइरहेको छ, स्थानीयवासीसँगको समन्वयमा हामी अघि बढ्छौँ”, गुरुङले भन्नुभयो, “अहिले स्थानीयवासीको माग केही छैन तर ल्याण्डफिल साइट आफ्नो क्षेत्रमा ल्याउन दिन्न भन्ने उनीहरूको भनाइ छ, स्थानीयवासीलाई प्रस्तावित ल्याण्डफिलको गुरुयोजनाका बारेमा बुझाएर सहमति ल्याउने प्रयास गर्नेछौँ ।” उहाँका अनुसार नगरस्तरीय राजनीतिक दलसँग छलफल भएको र जिल्लास्तरीय राजनीतिक दलसँग पनि छलफल भइरहेको छ ।

ल्याण्डफिल व्यवस्थापनका लागि समन्वय समितिका सदस्य तथा वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले समितिले पोखरा ( १६ भलाम, पसमराम, वडा नं ३३ रङ्गेडाँडा र वडा नं १३ घारबेंसीलाई अध्ययन गरेर महानगरमा पेस गरेको बताउनुभयो । प्रस्तावित वडामध्ये उडान प्राविधिकका रुपमा उपयुक्त मानिएकाले भलाम क्षेत्रमा लैजान पहल भएको उहाँको भनाइ छ । विरोध गर्ने स्थानीयवासीलाई बोलाएर तिनको धारणा बुझ्ने योजनाका बारेमा राम्रोसँग बुझाउने कामसमेत भइरहेको जनाइएको छ ।

महानगरले २०५६ सालमा ल्याण्डफिल बनाउने बेलामा स्थानीयवासीको चर्को विरोध भएको र त्यसलाई चिरेर अघि बढ्न खोज्दा तत्कालीन नगर प्रमुखले दुव्र्यवहारसमेत भोग्नुपरेको उदाहरण दिँदै उहाँले ल्याण्डफिल साइटप्रतिको गलत बुझाइले समस्या हुने गरेको बताउनुभयो । लामाले महानगरको ५२ आँैं बैठकमा यसबारेमा निणर्य भए पनि जनताका पक्षमा, विकासका पक्षमा काम गर्छु भनेर आएका जनप्रतिनिधिले समेत यस विषयमा हस्ताक्षर गरेर टुङ्गो लगाउने विषयमा पछि हटेका कारण पनि समस्या समाधानमा ढिलाइ भइरहेको बताउनुभयो ।

विकासमा देखिएका समस्याका विषयमा साझा धारणासहित समाधानमा सरोकार पक्ष सबै लाग्नुपर्ने उहाँको भनाइ छ । लामाले ल्याण्डफिल साइडको समस्या पोखराको मात्र नभएर अन्तरराष्ट्रिय विमानस्थलसँग प्रत्यक्ष जोडिएकाले पनि नेपालकै प्रतिष्ठामा आँच आउन नदिन छिटोभन्दा छिटो टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

पोखरामा अन्तरराष्ट्रिय विमानस्थलका लागि चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब रु २२ अर्बका लागतमा निर्माण सम्पन्न हुँदै छ । विमानस्थलका लागि पोखरा-१४ छिनेडाँडामा विसं २०३२ मा तीन हजार एक सय रोपनी जग्गा अधिग्रहण गरिएकामा हाल तीन हजार ८९९ सय रोपनी क्षेत्रफलमा विमानस्थल बनेको छ । अन्तरराष्ट्रिय नागरिक उडड्यन सङ्गठनको मापदण्डानुसार फोर डी मोडलमा बनेको छ । विमानस्थलको धावन मार्गको लम्बाइ दुई हजार पाँच सय मिटर तथा आन्तरिक र बाह्य टर्मिनल भवन, एटिसी टावसहित १४ भवन निर्माण गरिएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com