अमेरिकामा हालै एसाइलम स्वीकृत भएको छ ? यसरी पाउन सकिन्छ १८४० डलर


प्रकाशित मिति : फाल्गुन ५, २०८० शनिबार

pexels-photo-164527.jpeg

अमेरिकामा एसाइलम स्वीकृत भइसकेपछि एसाइलीहरुले पुनर्वासका लागि विभिन्न खाले सुविधाहरु प्राप्त गर्छन् । तर उचित जानकारीका अभावमा कैयन एसाइलीहरुले यस्ता सुविधाहरु लिएका छैनन् ।

एसाइलीमात्र होइन, कैयन वकिलहरुसमेत यस्ता सुविधाबारे अनविज्ञ रहेका छन् । जसका कारण २० प्रतिशतभन्दा कम एसाइलीहरुलेमात्र त्यस्ता सुविधाहरु लिएका छन् ।

अमेरिकी सरकारको हेल्थ एण्ड ह्युमन सर्भिस डिपार्टमेन्ट अन्तरगत शरणार्थी पुनर्वास कार्यालयले यस्ता सुविधाहरु उपलब्ध गराउदै आएको छ । नगद सहायता, स्वास्थ्य सुविधा र रोजगार सुविधामात्र होइन, अँग्रेजी कक्षा र जागिरका लागि तालिम समेत उपलब्ध गराइदै आएको छ ।

तर यस्ता सुविधाहरु एसाइलम स्वीकृत भएको मितिले निश्चित अवधिभित्रमात्र लिनसकिन्छ । ग्रिनकार्ड आवेदन दिंदासमेत काम गर्ने निशुल्क स्वास्थ्य जाँचको सुविधा एसाइलम स्वीकृत भएको तीनमहिनाभित्र लिन सकिन्छ । शरणार्थी नगद सहायता र मेडिकल इन्सुरेन्स एसाइलम स्वीकृत भएको ८ महिनाभित्र लिनसकिन्छ ।

निशुल्क अँग्रेजी कक्षा, जागिरको तालिम, रोजगार सहायता लगायतका सुविधाहरु एसाइलम स्वीकृत भएको ५ बर्षभित्र लिन सकिने प्रावधान रहेको छ । एसाइलीले लिने सुविधाहरु उचित समयभित्र प्राप्त गर्नका लागि एसाइलम स्वीकृत हुने वित्तिकै पुनर्वास सेवासँग सम्पर्कमा रहन आवश्यक छ । मुख्य एसाइलीमात्र नभई उनीहरुका दम्पत्ति र छोराछोरीहरु समेत यी सुविधाहरु लिन योग्य हुन्छन् ।

100 US dollar banknotes
Photo by Viacheslav Bublyk

कतिपय एसाइलीहरु भविश्यमा अध्यागमन सुविधामा असर पर्ने डरले एसाइलीका रुपमा पाइने सुविधा लिन हिचकिचाएको पाइन्छ । तर एसाइलीका रुपमा लिइने कुनै पनि त्यस्ता सुविधाले भविश्यमा ग्रिनकार्ड वा नागरिकता आवेदन दिंदा कुनै नकारात्मक असर नपर्ने र ढुक्क भएर त्यस्ता सुविधा लिन सकिने कानून व्यवसायी ज्यासन जुबोको भनाई छ ।

यी सुविधाबारे थप जानकारीका लागि यहाँ हेर्नुहोला ।

मेरिल्याण्डमा हुनेहरुले एसाइली आउटरिच प्रोजेक्टमा सम्पर्क गर्न सक्नेछन् । बाहिर हुनेहरुले स्थानीय पुनर्वास कार्यालयमा सम्पर्क गर्नुपर्छ । स्थानीय डिपार्टमेन्ट अफ सोसल सर्भिसले पनि यसबारे एसाइलीलाई मद्दत गर्छ । उनीहरुसँग सम्पर्क एसाइलम स्वीकृत भएका कागजात लगायतका विवरणहरु आफूसँग राख्नुपर्छ ।

शरणार्थीले पाउने सुविधाहरुका अतिरिक्त पुनर्वास कार्यालयहरुले फुड स्ट्याम्प, मेडिकेड, भाडा सहायता लगायतका सुविधाका लागि समेत आवेदन दिन सघाउँछन् । कतिपयले घर खोज्न, परिवारको मिलन, वर्क परमिट र ग्रिनकार्ड आवेदनका लागि समेत सहायता उपलब्ध गराउँछन् ।

यी सुविधाका लागि कुन राज्यमा कहाँ सम्पर्क गर्ने ? थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

आठ महिनासम्म प्राप्त गरिने नगद सुविधा प्रति व्यक्ति हरेक महिना २३० डलर, २ जनाको परिवार भएमा हरेक महिना ३६३ डलर, तीनजनाको परिवार भएमा हरेक महिना ४८५ डलर र ४ जनाको परिवार भएमा हरेक महिना ६११ डलरसम्म प्राप्त गर्न सकिन्छ । यसरी ४ जनाको परिवार हुनेले ८ महिनासम्म झण्डै ५ हजार डलर प्राप्त गर्नसक्छ । एकजना भएपनि ८ महिनामा १८४० डलरसम्म नगद प्राप्त गर्नसक्छ । त्यस्तै ८ महिनाको अवधिसम्म अन्य अनुदान पनि प्राप्त गर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com