मार्च २८ पछि अमेरिकी नागरिकता प्रमाणपत्र आवेदनमा फोटो र हस्ताक्षरबारे नयाँ प्रावधान


प्रकाशित मिति : माघ १२, २०७८ बुधबार

अमेरिकी नागरिकता प्रमाणपत्र आवेदन एन ६०० का सन्दर्भमा फोटो र हस्ताक्षरबारे नयाँ प्रावधान लागु गरिने भएको छ । आगामी मार्च २८ देखि लागु हुनेगरी युएससीआईएसले फोटो र हस्ताक्षरका सन्दर्भमा नयाँ नीति लागु गर्न लागेको हो ।

बाहिर खिचिएको फोटोको प्रिन्टको साटो मार्च २८ पछि बायोमेट्रिक अप्वाइन्टमेन्टका बेलामा लिइने तस्वीरमात्र स्वीकार गरिने भएको छ । त्यस्तै हस्ताक्षरका सन्दर्भमा पनि नयाँ नीति अपडेट गरिएको छ ।

अहिले अमेरिकी नागरिकका छोराछोरीहरुले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नका लागि दिइने एन ६०० आवेदनमा बाहिर खिचिएको फोटोको प्रिन्टकपी पनि स्वीकार गरिदै आएको छ । एन ६०० आवेदन अनलाइनमार्फत पनि दिन सकिने भएकाले अहिलेसम्म त्यस्तो तस्वीरको डिजिटल कपी अनलाइनमा अपलोड गर्न समेत सकिन्छ ।

अपडेट गरिएको नयाँ नीति निर्देशिका

मार्च २८ पछि भने युएससीआईएसले एन ६०० आवेदकका लागि फोटो र हस्ताक्षरका लागि एप्लीकेशन सपोर्ट सेन्टरमा अप्वाइन्टमेन्ट उपलब्ध गराइने भएको छ । त्यहाँ उपस्थीत भएपछि युएससीआइएसले आफै फोटो खिच्नेछ भने हस्ताक्षर पनि प्रत्यक्ष रुपमा नै लिनेछ । मार्च २८ भन्दा अगाडि दिइएका आवेदनका सन्दर्भमा भने पूरानै नियम लागु हुनेछ ।

मार्च २८ वा त्योभन्दा पछि एन ६०० का आवेदकले आवेदन दिंदा फोटो पठाउन वा अपलोड गर्न आवश्यक हुनेछैन । एप्लीकेशन सपोर्ट सेन्टरमा खिचिने फोटोका लागि कुनै शुल्क लिइने छैन । एन ६०० आवेदकको विवरण एफबीआई पृष्ठभूमि परीक्षणका लागि नपठाइने पनि युएससीआईएसले प्रष्ट पारेको छ ।

यदि फोटो र हस्ताक्षरका लागि आवेदक तोकिएको समय र मितिमा एप्लीकेशन सपोर्ट सेन्टरमा उपस्थीत नभएको खण्डमा त्यस्तो आवेदन त्यागिएको आवेदनका रुपमा खारेज गरिने युएससीआईएसले जनाएको छ । कुनै कारणवश तोकिएको समयमा उपस्थीत हुन नसकेको खण्डमा त्योभन्दा अगाडि नै नयाँ अप्वाइन्टमेन्टका लागि अनुरोध गर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com