फेरि नेटवर्किङ धन्दा


प्रकाशित मिति : जेष्ठ ३०, २०७४ मंगलबार

स्थान    :    सिद्धार्थ फुडल्यान्डको हल, पुरानो बानेश्वर, काठमाडौं

समय    :    आइतबार बेलुकी ९ बजे

ठूलो हलको पारदर्शी सिसाका झ्यालभरि पत्रिका टाँसिएको छ, ताकि बाहिरबाट हेर्दा हलभित्रको वातावरण नदेखियोस् । हङकङ, मलेसिया र भारतको बैंग्लोरबाट अनलाइन सम्पर्कमा आएका प्रशिक्षकहरू हलको अग्रभागको ल्यापटपमा देखिइरहेका थिए । २९ युवतीसहित १ सय २ जना ठूलो प्रोजेक्टरमा तिनै प्रशिक्षकहरूका कुरा सुनिरहेका थिए ।

अचानक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारी हलभित्र छिरे । ‘सबै चुपचाप आफ्नो ठाउँमा बस्नुहोला । हामी प्रहरी हौं । तपार्इंहरूलाई चारैतिरबाट घेरा हालिएको छ’ भन्नासाथ हलमा रहेका सबै चलमलाउन थाले । के भएको हो ? के हुँदै छ ? कसैले मेलोमेसो पाइरहेका थिएनन् । एउटा ठूलो बस र हायस गाडीमा कोचाकच गरेर त्यतिका धेरै मान्छेलाई पक्राउ गरेर महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालयमा ल्याइपुर्‍याउँदा रातको साढे दस भइसकेको थियो । लाइन लगाएर पक्राउ परेकाहरूको प्रारम्भिक बयान लिँदा ब्युरोको आँगन भरिभराउ देखिन्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्युरोका स–साना कोठामा नअट्ने भएपछि २९ युवतीलाई ब्युरोमै राखियो भने अन्यलाई काठमाडौं परिसर टेकु पुर्‍याइयो । प्रारम्भिक बयान सकेर परिसरमा पुर्‍याउँदा बिहानको तीन बजिसकेको थियो । सबैले भय, त्रास र छटपटीमै अनिँदै रात बिताए । पक्राउ परेका सबैलाई थप बयानका लागि बिहान नौ बजे ब्युरो ल्याइएको थियो ।

यसरी पक्राउ परेका सबै जना नेपालको कानुनले गैरकानुनी ठहर्‍याएको नेटवर्किङ धन्दामा सामेल थिए । अनलाइनमार्फत चलाइने विवादित अन्तर्राष्ट्रिय ‘क्यु नेट’ नेटवर्कको सदस्य बनेकाहरूलाई अरू सदस्य कसरी बनाउने ? नयाँ सदस्य बनाएबापत कसरी कमिसन पाइन्छ र कसरी नेटवर्क विस्तार गर्ने भन्नेबारे त्यो हलमा तालिम दिइएको थियो । प्रहरीका अनुसार अनलाइनमार्फत विभिन्न व्यक्तिहरूको गिरोहले पछिल्ला डेढ वर्षयता गुपचुप रूपमा नेपालभित्र सञ्जाल फैलाइरहेका थिए ।

यसरी सदस्य बन्नेहरूलाई सुटुक्क विभिन्न होटलहरूमा जम्मा पारेर साताको दुई पटक अनलाइन र अफलाइन तालिम दिइन्थ्यो । प्रहरीका अनुसार कहिले विदेशबाटै अनलाइन तालिम दिइन्थ्यो भने कहिले विदेशीहरू तालिम दिनकै लागि नेपाल आउँथे । सदस्यहरूलाई छोटो समयमा मनग्गे पैसा कमाउन सकिनेलगायत प्रलोभन देखाइन्थ्यो ।
०००
धनगढी घर बताउने हरि जोशीलाई चिनेजानेकै साथीले क्यु नेटबारे बताए । ३ लाख ५० हजार रुपैयाँ तिरेपछि सदस्य बन्न सकिने र त्यसपछि अन्य नयाँ सदस्य बनाउँदै गएपछि कमिसन बढ्दै जाने थाहा पाएपछि उनी यो सञ्जालमा छिरे । सदस्यबापतको पैसा भने उनले काठमाडौंको एक होटलमा त्यसका एजेन्टलाई नगदै बुझाएका थिए ।

सदस्य बनेपछि उनले क्यु नेटको अनलाइन खाताको युजर आईडी र पासकोड पाएका थिए । जोशीले नयाँ सदस्य बनाएपछि त्यसबापत आउने कमिसन रकमको हिसाबकिताब त्यही अनलाइन एकाउन्टमा हेर्न मिल्थ्यो । साथै, नेटवर्क चलाउने गिरोहले ल्याउने नयाँ–नयाँ स्किमबारे पनि अनलाइनमार्फत नै जानकारी गराइन्थ्यो । अन्य सदस्य जस्तै जोशी पनि प्रत्येक आइतबार र बुधबार दिइने तालिममा सहभागी हुँदा पक्राउ परेका थिए ।

क्यु नेटका सदस्यहरूले इष्टमित्र, आफन्त, साथीहरू वा अफिसका सहकर्मीलाई गोप्य रूपमा विभिन्न क्याफे तथा रेस्टुरेन्टमा बोलाउँथे । क्यु नेटसम्बन्धी काउन्सिलिङ दिन्थे र सदस्य बने महिनाको १ लाखदेखि १५ लाख रुपैयाँसम्म कमाउन सकिने प्रलोभन देखाउँथे ।

३ लाख ५० हजार रुपैयाँ बुझाएर सदस्य बनेपछि प्रोडक्ट बाइङ अथवा टुर प्याकेज छानेर लिन पाइन्थ्यो । यसरी सदस्य बनेकाले अर्को दुई नयाँ सदस्य थप्यो भने ४ सय डलर अर्थात् ४० हजार रुपैयाँजति कमिसन दिइन्थ्यो । प्रत्येक सदस्यले कम्तीमा दुई सदस्य बनाउनैपर्ने नियम बनाइएको थियो । यसअघि अवैध घोषित भएर बन्द भएका गोल्ड क्वेस्ट र युनिटीजस्तै यसमा पनि धेरैभन्दा धेरै सदस्य बनाउनेले धेरैभन्दा धेरै कमिसन पाउने नियम बनाइएको थियो ।

धेरै पैसा तिरेर नम्बर बटुल्न पाइने नियम पनि क्यु नेटले बनाएको थियो । ५ यूबी शीर्षकको प्याकेज पाउन ३५ सय डलर तिर्न सकिने नियम बनाइएको थियो भने ५ हजार डलर तिरे ७ यूबी शीर्षकको प्याकेज पाइन्थ्यो । जति धेरै पैसा तिर्‍यो, उति उपल्लो नम्बर पाइने र त्यसैका आधारमा विश्वका विभिन्न देशका सुपरमार्केटमा किनमेल गर्दा छुट पाइने र नयाँ सदस्य बनाउँदा धेरै कमिसन पाइनेलगायत विशेष अफर थिए । केन्द्रीय अनुसन्धान ब्युरोले क्यु नेटको अवैध सञ्जालमा कति नेपाली सदस्य बनिसकेका छन् र कति रुपैयाँ फसेको छ भनेर हिसाब निकालिसकेको छैन ।

ब्युरोका एसएसपी शेरबहादुर बस्नेतले थप अनुसन्धान चलिरहेको र त्यसबारे विस्तृत जानकारी केही दिनमै पाइने बताए । प्रहरीले पक्राउ गरेकामध्ये धेरैजसो व्यापारी, व्यवसायी, शिक्षक तथा विभिन्न बैंकका कर्मचारी छन् । प्रहरीले पक्राउ परेकामध्ये नेटवर्क विस्तारमा सक्रिय १४ जनालाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको छ । प्रकृति बुढाथोकी, श्वेता बस्नेत, सिर्जना सिंह, अंकिता श्रेष्ठ, विकल्प श्रेष्ठ, क्षितिज पौडेल, नरेश मल्ल, ओम गुरुङ, विशन गुरुङ, किरण जोशी, सुमित मानन्धर, सौरभ गोयन्का, सुमित श्रेष्ठ र प्रमेश मानन्धरलाई पक्राउ म्याद थपेर अनुसन्धानका निम्ति थुनामा राख्ने भएको छ ।

ब्युरोका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा सक्रिय र उपल्लो हैसियतमा काठमाडौंका सुमित श्रेष्ठ, सुमित मानन्धर, सौरभ गोयन्का र प्रमेश मानन्धर छन् । पछिल्लो डेढ वर्षमा सुमितले यही सञ्जाल विस्तार गरेर ५१ हजार ७ सय डलर आम्दानी गरेको उनको अनलाइन एकाउन्टमा देखिन्छ । त्यस्तै, प्रमेशको खातामा १० हजार डलर आम्दानीको रकम देखिन्छ । पक्राउ परेकाहरू अधिकांश गतिलो शैक्षिक पृष्ठभूमिका देखिन्छन् । प्रहरीका अनुसार सुुमित श्रेष्ठ चार्टर्ड एकाउन्टेन्ट हुन् भने गोयन्का एमबीए गरेका विद्यार्थी ।

ब्युरोका अनुसन्धान अधिकारीले पक्राउ परेका सबैको एकाउन्ट आईडी र पासकोड लिएर रातभर उनीहरूको खातामा रहेको रकम र कारोबारको प्रकृति हेर्ने प्रयास गरेको थियो । स्रोतका अनुसार एकैचोटि धेरै सदस्य पक्राउ परेको खबर हङकङस्थित मुख्यालयमा पुग्नेबित्तिकै उसले आफ्ना सदस्यहरूको खातासम्बन्धी विवरण गोप्य राख्न खाता बन्द गरिदिएको थियो । त्यसैले ब्युरोले केही सदस्यहरूको मात्रै आम्दानी र कारोबारसम्बन्धी विवरण फेला पारेको थियो । नेपाल सरकारले २०६६ माघ १६ गते नेटवर्क मार्केटिङलाई व्यवस्थित बनाउने भन्दै निर्देशिका जारी गरेको थियो । जुन २०६७ जेठ १० गते खारेज गरिएको थियो । २०६८ चैत १५ गते सर्वोच्च अदालतले नेटवर्क व्यवसाय नगर्नू/नगराउनू भनी नेपाल सरकारका नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो ।

के हो क्यु नेट ?

सन् १९९८ मा अस्तित्वमा आएको यो नेटवर्किङ कम्पनी १ सय ८० देशमा फैलिएको छ । स्थापनाकालमा यसको नाम क्वेस्ट नेट थियो । कालान्तरमा गोल्ड क्वेस्ट, क्यु आई लिमिटेडजस्ता नामबाट पनि यसले आफ्नो सञ्जाल विस्तार गरेको थियो । हङकङमा कर्पोरेट अफिस र मलेसियामा केन्द्रीय कार्यालय रहेको यसले कैयौं देशमा अवैध रूपमा लुकीछिपी आफ्नो सञ्जाल विस्तार गरिरहेको छ भने केही देशमा यसले वैधानिक हैसियतमै आफ्नो सञ्जाल विस्तार गरिरहेको छ । पिरामिड आकारको सञ्जालमा विस्तार हुने क्यु नेट यसअघिका अवैध नेटवर्क व्यवसाय युनिटी र गोल्ड क्वेस्टकै शैलीमा विस्तार हुने गर्छ ।

डलरमा कारोबार हुने भएकाले क्यु नेटमा अधिकांश पढेलेखेका र गतिलो पेसा व्यवसायमा लागेकाहरू जोडिएका छन् । भारतमा पनि विस्तार भएको क्यु नेटलाई अदालतले नै प्रतिबन्ध लगाएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार भारतमा पाँच लाख जना यसका सदस्य थिए ।

क्यु नेटलाई सन् २००५ मा श्रीलंका र इरानमा, सन् २००८ मा अमेरिका र क्यानडामा, सन् २००९ मा सुडानमा र सन् २०१० मा भारत र साउदी अरबमा प्रतिबन्ध लगाइएको थियो । क्यु नेटको मातृ संस्था गोल्ड क्वेस्टलाई नेपाल सरकारले सन् २००३ मै प्रतिबन्ध लगाएको थियो । त्यतिबेला राष्ट्र बैंकले गोल्ड क्वेस्टको सञ्जाललाई पूर्णतया ठगीको जञ्जाल रहेको बताएको थियो । इन्डोनेसियाका फाइनान्सियल सर्भिस अथोरिटीले यही जनवरीमा क्यु नेटलाई गैरकानुनी कम्पनीको सूचीमा राखेको थियो ।

आर्थिक रूपमा अर्बौं डलरको धनी मानिने यो कम्पनी एसिएन फुटबल कन्फिडेरेसन अर्थात् एफसी च्याम्पिनस लिगको सन् २००९ देखि २०१२ सम्मको सिजनमा प्रमुख सहयोगी संस्था बनेको थियो । यसका अलावा कैयौं अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा क्यु नेट प्रायोजक बनेको छ । हङकङ फुटबल क्लब र बहराइनको बास्केटबल क्लबको पनि प्रमुख प्रायोजक क्यु नेट हो ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com