सशस्त्र प्रहरीको कुरिनटार विपद् व्यवस्थापन शिक्षालय उत्कृष्ट, एसएसपी अञ्जनीकुमार पोखरेललाई ट्रफी हस्तान्तरण


प्रकाशित मिति : माघ ९, २०७८ आईतबार

सशस्त्र प्रहरी बलले आइतबार आफ्नो २१ औं स्थापना दिवस मनाउने क्रममा चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय उत्कृष्ट घोषणा गरेको छ । बलम्बुस्थित सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा केन्द्रीय निरीक्षणमा उत्कृष्ट भएको कुरिनटारको विपद् व्यवस्थापन शिक्षालयलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कृत गरेका हुन् ।

समारोहमा आईजीपी खनालले विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अञ्जनीकुमार पोखरेललाई ट्रफी तथा प्रशंसापत्र प्रदान गरेका छन् । सशस्त्र प्रहरीका १२ वटा तालिम शिक्षालय मध्येबाट विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार उत्कृष्ट भएको हो । पोखरेल संयुक्त राष्ट्रसंघमा प्रोफेसनल लेभल–३ मा छनौट भई न्युयोर्कमा ४ बर्ष कार्यरत रहेका थिए । यो स्तरमा नेपालबाट थोरै मात्र प्रहरी अधिकृत सफल भएका छन् ।

उत्कृष्ट शिक्षालय बन्न सफल कुरिनटारको विपद् व्यवस्थापन तालिम शिक्षालय ०५८ मंसिर १८ मा बेसक्याम्पको रुपमा स्थापना भएको थियो । सो बेसक्याम्प २०६७ वैशाखमा विपद् व्यवस्थापन तालिम शिक्षालयमा रुपान्तरण भयो । त्यसबेला नै नेपालमा पहिलोपटक विपद् व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । ०६८ मा मन्त्रिपरिषद्ले सो तालिम शिक्षालयलाई पहिलो विपद् व्यवस्थापन तालिम केन्द्रको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com