अमेरिकाको कामदार भिसा दिलाउने नाममा ठगहरु सकृय, पैसा माग्ने कम्पनी र दलालबाट सावधान


प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार

अमेरिकाको कामदार भिसा पठाउने नाममा ठगहरु सकृय हुने गरेका छन् । ठगहरुले निश्चित रकम माग्दै कामदार भिसा दिलाइदिने प्रतिबद्धता जनाउने गरेका छन् ।

रोजगारमा आधारित ईबी श्रेणीका ग्रिनकार्ड, आप्रवासी भिसा वा गैर आप्रवासी कामदार भिसा दिलाइदिने नाममा ठगहरुले मोटो रकम माग्ने गरेका छन् । नेपालमा समेत त्यस्ता ठगहरुले खुलेआम लाखौं रकम मागिरहेका रिपोर्टहरु आएका छन् ।

रोजगारमा आधारित पहिलो श्रेणीको ईबी वान ग्रिनकार्डका लागि रोजगारदाता वा लेबर सर्टिफिकेशन आवश्यक पर्दैन । आफैले वा वकिलको सहायतामा यो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिन सकिन्छ ।

ईबी टु ग्रिनकार्डका लागि राष्ट्रिय रुची छुट अनुशार रोजगारदाताका तर्फबाट जागिरको अफर वा लेबर सर्टिफिकेशनमा छुट प्राप्त गर्न सकिन्छ । छुट नपाएको खण्डमा रोजगारदाताका तर्फबाट यो ग्रिनकार्डका लागि आवेदन अगाडि बढाउनुपर्छ । त्यसका लागि ग्रिनकार्ड प्राप्त गर्ने व्यक्तिसँग रकम लिन मिल्दैन ।

ईबी थ्री ग्रिनकार्डका लागि रोजगारदाताका तर्फबाट जागिरको अफर र लेबर सर्टिफिकेशन अनिवार्य रहेको छ । यो श्रेणीको ग्रिनकार्डका लागि पनि ग्रिनकार्ड प्राप्त गर्ने व्यक्तिसँग रकम लिन मिल्दैन ।

यस्ता ठगहरुबाट बच्न न्युयोर्क निवासी कानुन व्यवसायी केशवराज सेडाईले केही टिप्सहरु समेत दिनुभएको छ । खासगरी पैसामा माग्ने कम्पनी र दलालबाट सावधान हुन उहाँले सचेत गराउनुभएको छ । अमेरिकन कम्पनीहरुले जागिरको अफर गर्दा उक्त कम्पनीको पृष्ठभूमि इन्टरनेटमा चेक गर्न उहाँले सुझाव दिनुभएको छ । साथै गुगल रिभ्यु पनि हेर्न सुझाव दिनुभएको छ ।

काठमाडौंको एउटा एजेन्सीले काम खोजिदिनेदेखि रोजगारमा आधारित ग्रिनकार्ड प्रकृयासम्मका लागि तोकेको शुल्क । एजेन्सीले काम खोजिदिएवापत सामान्य शुल्क लिनसक्नेबाहेक अरु प्रकृयाका लागि कामदारबाट रकम लिनु गैरकानूनी हो । यसको खर्च रोजगारदाताले बेहोर्नुपर्छ ।

यदि कम्पनी सही छ भने अमेरिकी कानुन अनुशार भिसा आवेदन दिइने व्यक्तिका लागि कुनै शुल्क नलिने उहाँले जानकारी दिनुभयो । यदि कम्पनीले पैसा मागेको खण्डमा आफू त्यसबाट टाढै रहन उहाँले सुझाव दिनुभएको छ ।

एचवानबी भिसाका लागि अमेरिकामा रहेको कम्पनीले रोजगारको अफर गरेको छ भनेमात्र उक्त रोजगारदाता कम्पनी वा उसको प्रतिनिधि वा उसको कानुन व्यवसायीलेमात्र अनलाइनमा गएर आवेदन दर्ता गर्नसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com