२०२१ मा अमेरिकामा अध्यागमनका क्षेत्रमा युएससीआइएसले गरेका १७ सुधार र परिवर्तन


प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार

युएससीआईएसले सन् २०२१ मा अमेरिकाको अध्यागमन नीतिहरुमा केही महत्वपूर्ण परिवर्तनहरु गरेको छ । एकबर्षमा धेरै चुनौतिहरुको सामना गर्दै सबैका लागि स्वागत र सम्भावनाहरूको राष्ट्रको रूपमा अमेरिकाको वाचा प्रतिबिम्बित गर्नेगरी अगाडि बढेको युएससीआईएसका निर्देशकको भनाई छ ।

१, खर्च घटाउन एजेन्सीले लागू गरेका उपायहरूको परिणामस्वरुप युएससीआईएसको वित्तीय स्वास्थ्यमा मा उल्लेखनीय सुधार भएको युएससीआइएसले जनाएको छ । साथै आप्रवासन परीक्षा शुल्कबाट राजस्व प्राप्तिमा अनुमान गरेभन्दा वृद्धि भएको छ ।

२, युएससीआईएसका कर्मचारीहरु र सेवाग्राहीहरुको स्वास्थ्य र सुरक्षा उच्च प्राथमिकतामा राखिएको युएससीआईएसले जनाएको छ । युएससीआईएसले कोभिड सम्बन्धी अस्थायी लचकताहरू जारी राखेको छ । जसमा निश्चित प्रकारका युएससीआईएसका अनुरोधहरू र सूचनाहरूको जवाफ दिनका लागि थप समय दिइएको छ ।

३, युएससीआईएसले आर्थिक बर्ष २०२१ मा २ लाख भन्दा धेरै रोजगारीमा आधारित ग्रिनकार्ड आवेदनहरू प्रशोधन गर्ने अभूतपूर्व चुनौतिको सामना गर्यो । एजेन्सीको सामान्य १ लाख १५ हजार मात्र होइन, कोभिड महामारीका कारण विदेश मन्त्रालयले सन् २०२० मा प्रकृयामा लैजान नसकेका थप १ लाख २२ हजार आप्रवासी भिसा नम्बरका आवेदन पनि प्रशोधन गर्ने चुनौति आयो । आर्थिक बर्षको २०२१ को अन्तिमसम्म युएससीआईएसले रोजगारमा आधारित १ लाख ७२ हजार ग्रिनकार्ड आवेदनहरु स्वीकृत गरेको छ, जुन अरु बेलाको भन्दा ५० प्रतिशत बढी हो ।

४, कोरोना महामारीका कारण अध्यागमन आवेदनहरुको प्रकृयामा भएको ढिलाईलाई सम्बोधन गर्न युएससीआईएसले विभिन्न विधिहरु अपनाएर ढिलाईलाई सम्बोधन गर्न महत्वपूर्ण प्रगति गरेको छ । लाखौं बायोमेट्रिकहरुको पुन प्रयोग गर्नुका साथै सन् २०२१ को जनवरीमा पेन्डिङमा रहेका १४ लाख बायोमेट्रिक अप्वाइन्टमेन्टलाई सेप्टेम्बरको अन्तिमसम्ममा १ लाख ५५ हजारमा झार्न सफल भयो । लकबक्समा कर्मचारीहरु बढाएर गतबर्षको जनवरीमा थुप्रिएका १० लाख आवेदनहरुलाई जुलाईसम्ममा सम्पूर्णरुपमा अगाडि बढायो ।

५, राष्ट्रपति जो बाइडेनको कार्यकारी आदेश अनुरुप युएससीआईएसका सेवा र सुविधामा अवरोधहरु पहिचान गर्ने क्रममा पूराना मापदण्डहरुलाई परिवर्तन गरेको छ । एसाइलम र शरणार्थी आवेदन स्वीकृत भएका परिवारका सदस्यहरूको अन्तर्वार्ता छुट दिने गरी पूरानै नीति कायम गर्यो भने एच, ई र एल भिसावाहकका आश्रित दम्पत्तिका सन्दर्भमा वर्क परमिट स्वत लम्बिने प्रावधानको व्यवस्था गर्यो । पेन्डिङ यु भिसा आवेदकलाई वर्क परमिट र देशनिकालाबाट संरक्षण प्रदान गर्ने नीति लिइयो ।

६, आर्थिक बर्ष २०२१ का युएससीआईएसले ८ लाख ५५ हजारलाई अमेरिकी नागरिकता प्रदान गरेको छ । महामारीका बीच भिडियोमार्फत अन्तरवार्ता लिनुका साथै महामारीका सुरक्षा मापदण्ड अपनाएर युएससीआईएसले नागरिकता आवेदन महामारी अगाडिकै अवस्था सरह प्रकृयामा लैजान सफल भयो । झण्डै ८ लाख ९५ हजार नागरिकता आवेदन पूरा गरियो भने ५२ हजार भिडियो अन्तरवार्ता लिनुका साथै ४० हजार नागरिकता वितरण समारोहहरु गरियो । अमेरिकी नागरिकताका लागि प्रोत्साहन गर्न ट्रम्पकालमा लागु गर्न खोजिएको नयाँ प्रश्न र परीक्षा प्रणालीलाई खारेज गरियो । सन् २०२१ को जनवरीको तुलनामा सेप्टेम्बरसम्म आउँदा पेन्डिङ नागरिकता आवेदनमा १४ प्रतिशत कमी आयो । विदेशमा रहेका सेनाहरु र योग्य परिवारका सदस्यका लागि नागरिकता आवेदनमा भिडियो अन्तरवार्ता र सपथग्रहण समारोहपनि भिडियोमार्फत गरियो । गतबर्षको मार्चदेखि ८ लाख भन्दा धेरै नागरिकता आवेदकका बायोमेट्रिकहरु पुन प्रयोग गरियो भने नागरिकतालाई प्रवद्र्धन गर्न आर्थिक बर्ष २०२२ मा ४० वटा संस्थालाई १० मिलियन डलर प्रदान गरियो ।

७, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले पब्लिक चार्जको ट्रम्पकालिन नियम हटाउन सन् २०२१ को मार्च १५ मा फेडरल रजिष्टरमा सुचना प्रकाशित गरेको थियो, जसले सन् २०१९ को पब्लिक चार्ज फाइनल नियमले घोषणा गरेको नियामक प्रावधानहरू हटायो । यसलाई सातौं सर्किट कोर्टले मार्च ९ मा नै खारेज गरेको थियो । ट्रम्पकालिन पब्लिक चार्जको नियम खारेज गर्दै अगस्त २३ मा युएससीआईएसले पब्लिक चार्जको फरक नियम बनाउनका लागि प्रस्तावित नियमका लागि समेत सुझावहरु माग गर्दै सुचना प्रकाशित गरेको थियो ।

८, युएससीआईएसले कार्यकारी आदेश बमोजिम शरणार्थी भर्ना कार्यक्रमको प्रभावकारिता, अखण्डता, सुरक्षा र पारदर्शिता सुधारका कदमहरू चाल्नको लागि विदेश मन्त्रालयसँग सहकार्य गरिरहेको जनाएको छ । अस्थायी रुपमा लगाइएको रोकपछि अमेरिकामा जनवरीदेखि शरणार्थी प्रवेश सुरु भएको छ । अफगानिस्तानबाट बिस्थापितहरुको पुनर्वासमा ध्यान केन्द्रीत गर्नका लागि गतबर्षको अन्तिमतिर शरणार्थी कार्यक्रम स्थगित गरिएको थियो । आर्थिक वर्ष २०२२ मा अधिकतम १ लाख २५ हजारसम्म शरणार्थीहरु अमेरिकामा पुनर्वास गर्न सकिनेछ ।

९, युएससीआईएसले परिवारको पुनर्मिलन टास्क फोर्समा सेवा गर्न जारी राखेको जनाएको छ र एक परोल प्रक्रिया स्थापना गरेको छ। आर्थिक बर्ष २०२१ मा लगभग एकसय व्यक्तिलाई परोल दिइएको छ । जसले ट्रम्प प्रशासनको शून्यसहिष्णुता र सम्बन्धित नीतिहरूबाट अलग बनाइएका परिवारहरूलाई पुनर्मिलनका लागि मद्दत गरेको छ ।

१०, मध्य अमेरिकी नाबालिग शरणार्थी र परोल कार्यक्रम पुन लागु गर्नुका साथै विस्तार समेत गरिएको छ । अन्तरवार्ताहरु पनि सुचारु गरिएको छ । ट्रम्प प्रशासनले सन् २०१८ को जनवरीमा यो कार्यक्रम खारेज गरेपछि बन्द गरिएका आवेदनहरु पनि सुचारु गरिएको छ । अमेरिकामा रहेकाहरुका लागि योग्यतामा विस्तार गरिएको छ । बालबालिकाहरुलाई यो कार्यक्रममा समावेश गर्न अभिभावकहरु ग्रिनकार्डवाहक, टीपीएसवाहक, पेन्डिङ एसाइलम आवेदक भएपनि हुनेगरी मापदण्डहरु सुधार गरिएको छ ।

११, युएससीआईएसले अफगानिस्तानमा अमेरिकालाई सहयोग गर्ने अफगान नागरिक र परिवारका सदस्यहरूलाई प्रशोधन गर्न संघीय रूपमा अनुमोदित आठ स्थानमा अस्थायी फिल्ड अफिसहरू र मोबाइल बायोमेट्रिक्स प्रशोधन स्टेशनहरू स्थापना गरेको थिउयो । यी स्थानमा अफगान नागरिकहरूले वर्क परमिटका लागि आवेदन दिए । उनीहरु योग्य भएको खण्डमा पुनर्वास सेवाहरूमा पठाइएको थियो । आर्थिक बर्ष २०२१ मा युएससीआईएसले ५२ हजार भन्दा बढी व्यक्तिहरूको बायोमेट्रिक्स सङ्कलन गर्नुका साथै २८ हजारबढी वर्क परमिटका आवेदनमा निर्णय गर्यो ।

१२, गत वर्ष युएससीआइएसले लगभग ३९ हजार एसाइलमका आवेदनहरु पूरा गर्न सफल भयो । सिमाक्षेत्रमा ४४ हजारको क्रेडिबल फियर निर्धारण गर्यो भने ४४ सयको रिजनेवल फियर निर्धारण गर्यो । सन् २०२१ को अगस्त २ मा फ्लोरिडाको तम्पामा नयाँ एसाइलम अफिस समेत स्थापना गरियो ।

१३,  सन् २०२१ को अगस्त २० मा प्रस्तावित नियम ल्याइयो, जसले सतावट वा यातनाको विश्वसनीय डर भएका व्यक्तिहरूलाई छिटो देशनिकाला क्रममा एसाइलमका लागि आफ्नो दाबी गर्न सक्ने गरी नियमहरू परिमार्जन गर्नेछ। यो नियम लागु भएमा यो नियमले निष्पक्षता र उचित प्रक्रियाको सुरक्षा सुनिश्चित गर्दै शिघ्र देशनिकालाको प्रक्रियामा क्रेडिबल फियर स्थापना गर्ने व्यक्तिहरूको सुरक्षा दावीहरूको थप प्रभावकारी न्यायको लागि अनुमति दिनेछ।

१४, टीपीएसका सन्दर्भमा आर्थिक बर्ष २०२१ मा युएससीआईएसले साउथ सुडान, बर्मा, सोमालिया, सिरिया, भेनेजुएला, यमन र हाइटीका लागि नयाँ वा थप गरिएको टीपीएस अन्तर्गत आवेदन र नवीकरणहरू स्वीकार गर्न थाल्यो । जुलाई २१ मा युएससीआईएसले बर्मा, सोमालिया, सिरिया, भेनेजुएला र यमनका लागि प्रारम्भिक टीपीएस दर्ता आवेदनहरू पनि अनलाइन मार्फत लिन थालियो । अगस्त ३ मा हैटीलाई १८ महिनाको टीपीएस प्रदान गर्दा प्रारम्भिक दर्ताका लागि अनलाइन फाइलिङ उपलब्ध गराइयो । भेनेजुएला, सिरिया र बर्माका लागि प्रारम्भिक आवेदन दर्ताको अवधि १८० दिनबाट १८ महिना बनाइयो । नेपाल लगायतको टीपीएसको अवधि सन् २०२२ को डिसेम्बर ३१ सम्मका लागि स्वत थप गरियो । नेपालसहित होण्डुरस, एल साल्भाडोर, निकारागुवा र सुडानको टीपीएसको अवधि पनि १५ महिना थप गरियो ।

१५, बाल्यकालमा अमेरिका आएकाहरुलाई संरक्षण प्रदान गर्ने डाका कायैक्रम सन् २०१२ मा सुरु भएदेखि सन् २०२१ को सेप्टेम्बर ३० सम्म युएससीआर्ईएसले ८ लाख ३५ हजार प्रारम्भिक अनुरोध र २३ लाख नविकरणका अनुरोध स्वीकृत गरेको छ । डाका नविकरण र वर्क परमिट प्राप्त गर्ने औषधी अवधि ५४ दिन रहेको छ । सेप्टेम्बर २८ मा होमल्याण्ड सेक्युरिटीले डाकाको संरक्षण र सुदृढीकरणका लागि प्रस्तावित नियम समेत ल्याएको छ ।

१६, यु भिसाका आवेदकको मात्रामा भएको बृद्धि र प्रतिक्षा सूची वा अन्तिम निर्णयमा जानका लागि पर्खिरहेका मुद्दाहरूको बढ्दो संख्यालाई सम्बोधन गर्न युएससीआईएसले सन् २०२१ को जुन १४ मा वास्तविक निर्धारण प्रक्रियाको घोषणा गर्यो । यस पहलबाट युएससीआईएसले यु भिसा याचिकाहरूको प्रभावकारी समीक्षा प्रदान गर्न र अपराध पीडितहरूलाई कार्य प्राधिकरण र स्थगित कारबाही थप समयमै उपलब्ध गराउन सक्षम हुनेछ।

१७, युएससीआईएसले अनलाइन फाइलिङ क्षमताहरू विस्तार जारी राखेको छ। अनलाइन फाइलिङका लागि आर्थिक बर्ष २०२० मा ६१ लाख अनलाइन एकाउन्ट रहेकोमा २०२१ मा ९० लाख पुगेको छ । यो बृद्धिदर ४८ प्रतिशत हो । आर्थिक बर्ष २०२१ मा १२ लाख भन्दा धेरै आवेदन अनलाइनबाट फाइल भएका थिए । युएससीआइएसले टीपीएस र निश्चित प्रकारका वर्क परमिट पनि अनलाइनबाट फाइल गर्नसकिने सुविधा २०२१ मा थप गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com