अमेरिकी अध्यागमनमा बाइडेनका १ बर्ष: अध्यागमन बिल मृतप्राय, कागजपत्रविहिन निराश


प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडेनको एकबर्ष कागजपत्रविहिन आप्रवासीहरुलाई आशैआशामा राखेर बितेको छ । अध्यागमन सम्बन्धि नीतिका सन्दर्भमा यो बर्ष अर्को निराश बर्षको रुपमा अंकित भएको छ ।

बाइडेनले राष्ट्रपतिका रुपमा सपथग्रहण गर्ने बेलामा कागजपत्रविहिन आप्रवासीहरुलाई ग्रिनकार्डको बाटोमा लैजाने आशा देखाएका थिए । तर यो विषयमा अहिलेसम्म उल्लेख्य प्रगति हुन सकेको छैन ।

राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेको पहिलो दिन बाइडेनले बृहत अध्यागमन सुधारको अमेरिकी नागरिकता ऐन २०२१ सार्वजनिक गरेका थिए । जसमा ११ मिलियन कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने ८ बर्षको बाटो तय गरिएको थियो ।

विधयेकमा जनवरी १, २०२१ सम्म अमेरिकामा रहेका कागजपत्रविहिन आप्रवासीहरु यो बाटोबाट ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुने उल्लेख गरिएको थियो । डाका र टीपीएसले समेटेकाहरु तथा कृषि कामदारहरु अन्य मापदण्ड पूरा गरेको खण्डमा तत्कालै ग्रिनकार्डका लागि योग्य हुने र अरुका लागि ग्रिनकार्ड प्राप्त गर्न ५ बर्ष अस्थायी स्टाटसमा बस्नुपर्ने विधयेकमा व्यवस्था थियो ।

तर यो विधयेक क्यापिटल हिलमा मृत जस्तै भएको छ ।

त्यस्तै डेमोक्रेटिक सांसदहरुले कागजपत्रविहिनहरुलाई अध्यागमन राहत प्रदान गर्ने कैयन प्रयासहरु गरेपनि त्यस्ता कुनै प्रयास सफल हुन सकेनन् । रिपब्लिकन सिनेटरको समर्थन विना सामान्य बहुमतले नै बजेट प्रकृयाबाट पारित हुने खर्च विधयेकमा गरिएका यस्ता प्रयास पटकपटक पार्लियामेन्टेरियनबाट अस्वीकार गरियो ।

सुरुमा ८ मिलियन कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने प्रस्तावलाई सिनेटमा पार्लियामेन्टेरियनले बजेट प्रकृयाबाट पारित हुने बिलमा राख्न नमिल्ने भन्दै अस्वीकार गरेकी थिइन् । त्यसपछि डेमोक्र्याट्सहरुले निश्चित मितिभन्दा अगाडि अमेरिका आएका कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने प्रस्ताव अगाडि सारेका थिए । उक्त प्रस्ताव पनि पार्लियामेन्टेरियनबाट अस्वीकृत भएको थियो ।

त्यसपछि तेश्रो प्रस्तावमा सन् २०११ अगाडि अमेरिकामा आएका कागजपत्रविहिनहरुलाई १० बर्षको वर्क परमिट प्रदान गर्ने प्रावधान उल्लेख थियो । यो प्रस्तावमा कागजपत्रविहिनहरु सुरुको ५ बर्षसम्म परोल प्रकृयामार्फत वर्क परमिट लिएर अमेरिकामा देशनिकालाको डरविना बस्न पाउने विषय समेटिएको थियो । तर अब बजेट प्रकृयाबाट लाखौं कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डेमोक्र्याट्सहरुको प्रयासमा पूर्णविराम लागिसकेको छ ।

सिनेटमा अध्यागमन विधयेक पारित हुनका लागि फिलिबस्टर भोट अनिवार्य भएको छ । तर अहिलेको सिनेटमा ५० जना डेमोक्रेटिक र ५० जना रिपब्लिकन सांसदहरु रहेका छन् । फिलिबस्टर ६० भोटका लागि १० जना रिपब्लिकन सिनेटरको साथ आवश्यक हुन्छ । अध्यागमन सुधारका डेमोक्रेटिक एजेण्डामा रिपब्लिकनको साथ जुटाउन लगभग असम्भव भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com