ओबामा प्रशासनले स्थगित गरेका देशनिकालाका मुद्दा खोल्दै ट्रम्प प्रशासन


प्रकाशित मिति : जेष्ठ २८, २०७४ आईतबार

ओबामा प्रशासनले स्थगित गरेका हजारौं डिपोर्टेशनका मुद्दाहरु ट्रम्प प्रशासनले खोल्न थालेको रोयटर्सले जनाएको छ । मार्च १ देखि मे ३१ सम्मको अवधिमा मात्र संघीय अभियोजनकर्ताहरुले १३ सय भन्दा धेरै डिपोर्ट स्थगित गरिएका मुद्दाहरु पुन खोलेको एक्जुकेटिभ अफिस अफ इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ । ओबामा कार्यकालमा अपराधमा संलग्न भएका व्यक्तिकोमात्र डिपोर्ट स्थगित गरिएका मुद्दाहरु मात्र खोलिएपनि ट्रम्प कार्यकालमा भने अन्य आप्रवासीहरुका मुद्दाहरु पनि खोल्न थालिएको छ ।

ट्रम्प कार्यकालमा अहिले खोलिएका मुद्दाहरु ट्राफिक नियम उल्लंघन लगायनका सामान्य घटनामा संलग्नहरुका समेत रहेका छन् ।

सन् २००५ मा गैरकानुनी रुपमा अमेरिका छिरेका एल साल्भाडोरका नागरिकको सन् २०१४ को सेप्टेम्बरमा डिपोर्ट आदेश स्थगित गरिएकोमा गत महिना थन्काइएको उक्त मुद्दा पुन खोलिएपछि उनीजस्ता हजारौंका मुद्दाहरु खोलिएका समाचार आएका हुन् ।

स्थगित गरिएका डिपोर्टेशनका मुद्दा पुन खोल्न थालिएपछि नेपालीहरु पनि प्रभावित हुने भएका छन् । किनभने डिपोर्टको सम्भावना भएका कैयन नेपालीहरुले अमेरिकामा अभियोजन पक्षीय विवेक अर्थात् पीडीका आधारमा आफ्ना मुद्दाहरु स्थगित गराएका छन् ।

प्रशासनिक हिसाबले अदालतमा बन्द गरिएका मुद्दामा वर्क परमिट अस्वीकार, कैयन नेपालीलाई अप्ठ्यारो

प्रोक्यिुटोरियल डिस्क्रिशन अर्थात् पीडीका नामले चिनिने विशेष सुविधाबाट अमेरिकामा रहेका कैयन नेपालीहरुले अमेरिकामा लामोसमयसम्मका लागि बसेर डिपोर्टेशनको डरबिना काम गर्न पाइरहेका छन् ।

कुनै मुद्दामा पीडी प्रदान गरिएपछि त्यो मुद्दालाई अदालतको क्यालेण्डरबाट निकालेर पेन्डिङ स्टेटसमा राखिन्थ्यो भने व्यक्तिले अमेरिकामा बसेर लामोसमयसम्म वर्क परमिट प्राप्त गरेर काम गर्न पाउँथ्यो । मुद्दा हारेर देशनिकाला हुनुपर्ने डरका कारण कमजोर प्रकारका मुद्दामा आवेदकले पीडी लिने गर्थे र त्यो आधारमा प्राप्त वर्क परमिटबाट अमेरिकामा बसेर निर्धक्क काम गर्दै आएका थिए ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको प्राथमकितामा नरहेका व्यक्तिले ओबामा कार्यकालमा पीडी प्राप्त गर्दै आएका थिए । सन् २०१३ यता यसरी पीडी लिएर काम गर्दै आएकाहरुको संख्या झण्डै ६७ हजार रहेको छ ।

कसैको एसाइलमको मुद्दा न्यायाधिसले पीडीका आधारमा प्रशासनिक हिसाबले बन्द गर्दा आवेदकले पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्राप्त गर्दै आएका थिए । जसमा नेपालीहरुको संख्या पनि उल्लेख्य छ ।

तर पीडीका आधारमा युएससीआईएसले वर्क परमिट प्रदान गर्न वा रिन्यु गर्न अस्वीकार गर्न पनि छाडिसकेको छ ।


के हो पीडी ?

यदि कुनै व्यक्ति अध्यागमन अदालतमा देशनिकालाको प्रकृयामा रहेको खण्डमा वा अध्यागमन अदालतमा उसको एसाइलमको मुद्दा चलिरहेको सन्दर्भमा त्यो मुद्दालाई न्यायाधिसले अदालतको क्यालेण्डरबाट हटाएर प्रशासनिक रुपमा बन्द गर्नु नै पीडी हो । यसरी प्रशासनिक रुपमा बन्द भएको मुद्दाको सन्दर्भमा निर्णय नभएको एसाइलम मुद्दाको आधारमा व्यक्तिले अमेरिकामा काम गर्नका लागि वर्क परमिट प्राप्त गर्न सक्ने नियम छ । तर पछि आवेदकले चाहेको समयमा मुद्दा खोल्नसक्ने प्रावधान समेत रहेको थियो ।

आवेदकले न्यायाधिससमक्ष माग गरेको खण्डमा पीडीको सुविधा प्राप्त गर्न सक्छन् । खासगरी एसाइलमका मुद्दा जित्ने सम्भावना कम भएको अवस्थामा यो सुविधा अमेरिकामा बसेर काम गर्नका लागि निकै फाइदाजनक मान्ने गरिएको छ । किनभने यो सुविधा प्राप्त भइसकेपछि व्यक्तिले देशनिकालाको डरविना अमेरिकामा वर्क परमिट प्राप्त गरेर काम गर्न सक्ने प्रावधान रहेको छ ।

कानुन व्यवसायी खगेन्द्र जीसी भन्नुहुन्छ –‘ मुद्दा अदालतमा गएको अवस्थामा त्यसलाई प्रशासनिक रुपमा बन्द गरेर व्यक्तिले अमेरिकामा चाहेजति समय बसेर काम गर्न पाउने व्यवस्था पीडीले गरेको थियो । पीडीबाट धेरै नेपालीहरुले सुविधा लिएका थिए । केस जित्नसक्ने अवस्था नरहेको खण्डमा वा न्यायाधिसको अवस्था हेरेर पीडी लिनेहरुको संख्या धेरै छ । यो सुविधा अन्तरगत केस अगाडि बढाइदैन र केसलाई पार्कमा राखिन्छ । यस्तो केस चाहेको बेलामा पुन न्यायाधिसका अगाडि रिक्यालेण्डर गर्न सकिन्छ । प्राय सरकारले यसरी प्रशासनिक हिसाबले बन्द गरिएका केसहरु खोल्दैन ।’

कानुन व्यवसायी रमेश श्रेष्ठ भन्नुहुन्छ –‘प्राय असाइलम स्वीकृत हुने सम्भावना नभएमा आवेदकले यो सुविधा लिने गर्छन् । यो सुविधा लिइसकेपछि मुद्दालाई एक्टिभ डकेटबाट इन्एक्टिभ डकेटमा राखिन्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com