अमेरिकी अध्यागमन हिराशतमा सकृय संक्रमित १७ सयभन्दा धेरै, हिराशतमा एकसयभन्दा कम नेपाली


प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार

अमेरिकी अध्यागमन हिराशतमा संकृय संक्रमितहरुको संख्या १७ सय ६६ रहेको बिहिबार सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । सन् २०२२ सुरु भएयता अध्यागमन हिराशतमा संक्रमितको संख्यामा ५२० प्रतिशतले बृद्धि भएको छ ।

जनवरी ६ को तुलनामा अहिले अध्यागमन हिराशतमा रहेका सकृय संक्रमितको संख्या ६ गुणा बढी हो । जनवरी ६ मा अध्यागमन हिराशतमा सकृय संक्रमितको संख्या २ सय ८५ रहेको थियो । अध्यागमन हिराशतमा रहेकाहरुमध्ये कुल ८ प्रतिशत सकृय संक्रमित रहेको र उनीहरुलाई आइसोलेसनमा राखिएको जनाइएको छ ।

अमेरिकाका झण्डै २ सय अध्यागमन हिराशतहरु, काउन्टी जेल र नाफामुलक कैदहरुमा २२ हजार आप्रवासीहरुलाई राखिएको छ । महामारी सुरु भएयता अध्यागमन हिराशतमा कोरोना संक्रमण हुनेहरुको संख्या भने ३२ हजार भन्दा धेरै रहेको छ । अहिलेसम्म हिराशतमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ४८ हजार २ सय ४६ जना हिराशतमा रहेका आप्रवासीहरुले कोरोनाबिरुद्धको कम्तीमा एकडोज खोप लगाएका छन् । जुलाई २०२१ यता अध्यागमन हिराशतमा पुग्नेहरुको संख्या १ लाख ४१ हजार रहेको छ भने उनीहरुमध्ये रिहा भएर र देशनिकाला भइसकेर हिराशतमा अहिले रहेकाहरु २२ हजार छन् । जुलाई २०२१ भन्दा अगाडि अध्यागमन हिराशतमा रहेका अत्यन्तै कमलाईमात्र भ्याक्सिन दिइएको थियो ।

हिराशतमा रहेकाहरुमध्ये झण्डै ३८ प्रतिशतले भने भ्याक्सिन लगाउन अस्वीकार गरेको जनाइएको छ । जनवरी ५ सम्म हिराशतमा रहेका ६७१ जनाले बुस्टर डोज समेत लगाएका छन् । नोभेम्बरको अन्तिमदेखि अध्यागमन हिराशतमा रहेकाहरुलाई बुस्टर डोज आव्हान गरिएको थियो ।

आइसको हिराशतमा रहेकाहरुमध्ये ७६ प्रतिशतभन्दा धेरैको कुनै अपराधको रेकर्ड छैन । उनीहरुमध्ये अधिकांश गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्न खोज्दा पक्राउ परेर सिमाक्षेत्रका हिराशतबाट स्थानान्तरण गरिएकाहरु हुन् । झण्डै २४ प्रतिशत भने अपराध प्रमाणित भएका वा अभियोग पेन्डिङ रहेकाहरु हुन् ।

आइसबाट खसोखासलाई प्राप्त पछिल्लो तथ्यांक अनुशार अमेरिकाका अध्यागमन हिराशतमा रहेका नेपालीहरुको संख्या ७९ रहेको थियो । तर उनीहरुमध्ये कतिजनालाई कोरोना संक्रमण भएको छ भन्नेबारे थप जानकारी प्राप्त भएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com