राष्ट्रिय जनता पार्टी निर्वाचनमा नजाने निश्चित, नगए के हुन्छ ?


प्रकाशित मिति : जेष्ठ २८, २०७४ आईतबार

राजपा निर्वाचनमा नजाने निश्चित –

दोस्रो चरण स्थानीय निर्वाचन सार्न राजपाले गरेको प्रस्ताव सत्तारुढ दलहरूद्वारा अस्वीकार

मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचन सार्न गरेको प्रस्ताव सत्तारूढ दलहरूले अस्वीकार गरेका छन् । निर्वाचनमा राजपालाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको छलफलमा राजपाका नेताहरूले निर्वाचन सार्न माग गरेका हुन् ।

‘संविधान संशोधन, दल दर्ता र मुद्दा फिर्तासहितका हाम्रा मागमा सरकार जिम्मेवार देखिएन भन्दै राजपाका नेताहरूले दोस्रो चरणको निर्वाचन सार्न माग गर्नुभएको छ,’ बैठकमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले नयाँ पत्रिकासित भने, ‘तत्काल दुईतिहाइ नपुग्दा संविधान संशोधन प्रस्ताव रोकिएको भनेर प्रधामन्त्रीले फेरि पनि स्पष्ट पार्नुभयो । निर्वाचनपछि संविधान संशोधन हुने गरी अहिले निर्वाचनमा भाग लिन उहाँले आग्रह गर्नुभएको छ ।’

छलफलमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले राजपाले निर्वाचन सारेर आफूहरूलाई सहभागी हुने वातावरण बनाउन गरेको आग्रहलाई अस्वीकार गरिएको जानकारी दिए । ‘राजपाका साथीहरूले निर्वाचन सार्नुस् र हामीलाई सहभागी हुने वातावरण बनाउन राजनीतिक मुद्दा सम्बोधन गर्नुस् भन्नुभएको छ’ प्रकाशले नयाँ पत्रिकासित भने, ‘हामीले निर्वाचन सार्न सक्दैनौँ तर, दल दर्ता, चुनाव चिह्नका विषयलाई भने हल गर्न कोसिस गर्छौं, निर्वाचनमा आउनुस् भनेका छौँ तर, उहाँहरू निर्वाचनमा आउन सकारात्मक हुनुहुन्न ।’

राजपाका महन्थ ठाकुरले दल दर्ता, चुनाव चिह्न प्राथमिक विषय नभएको भन्दै संविधान संशोधन, स्थानीय तहको संख्या थप गर्नुपर्ने राजनीतिक विषयलाई छिनोफानो गर्नुपर्ने अडान राख्दै निर्वाचन सार्न माग गरेका थिए ।

छलफलमा सहभागी राजपा अध्यक्षमण्डलका सदस्य अनिल झाले राजनीतिक माग सम्बोधन नभएकाले निर्वाचनमा जान नसक्ने जानकारी दिए । ‘प्रधानमन्त्रीले अहिले माग पूरा गर्ने स्थिति भएन, निर्वाचनपछि एक साताभित्रै प्रक्रिया अघि बढाउँछौँ, निर्वाचनमा आउनुस् भन्नुभयो,’ झाले नयाँ पत्रिकासित भने, ‘हामीले संविधान संशोधन, जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप, मुद्दा फिर्ता, घाइतेको उपचारजस्ता विषय टुंग्याउन आग्रह गर्यौँ ।’ यी विषय टुंग्याउन समय लाग्ने भए निर्वाचन सार्न माग गरे पनि सत्तारूढ दलहरूले अस्वीकार गरेको जानकारी उनले दिए ।

यादव र भण्डारीले गरे तीन चरणको प्रस्ताव
सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा राजपा अध्यक्षमण्डलका नेताद्वय महेन्द्र यादव र शरत्सिंह भण्डारीले निर्वाचन तीन चरणमा पनि गर्न सकिने प्रस्ताव गरेका थिए । ‘हामीले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सक्छौँ भने तीन चरणमा गर्न किन सक्दैनौँ ?’ यादव र भण्डारीको भनाइ उद्धृत गर्दै कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधिले नयाँ पत्रिकासित भने, ‘अहिले एक र सात प्रदेशमा निर्वाचन गरौँ । हाम्रा माग सरकारले सम्बोधन गरेपछि प्रदेश– दुई र पाँचमा निर्वाचन गरौँ ।’

अध्यक्षमण्डलका महन्थ ठाकुर र अनिल झाले निर्वाचन सार्न आग्रह गरे पनि यादव र भण्डारीले निर्वाचन पनि नरोकिने तथा मधेसका मुद्दा समाधानका लागि पनि सहज हुने भन्दै तीन चरणमा निर्वाचन गर्न प्रस्ताव गरेका हुन् । तर, माओवादी केन्द्रका नेता प्रकाशले निर्वाचन सार्ने विषय आफूहरूले सोच्न पनि नसक्ने जवाफ दिएको बताए ।

आइतबार बिहान फेरि छलफल
शनिबारको छलफल निराशाजनक भए पनि प्रधानमन्त्री देउवाले आइतबार बिहान पुनः राजपालाई छलफलमा बोलाएका छन् । आइतबार बिहान साढे ९ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सत्तारूढ दल र राजपाबीच छलफल हुँदै छ ।

प्रधानमन्त्रीाले भने
संविधान संशोधनका लागि दुईतिहाइ जुटाउन हामीले पहिले पनि कसरत गरेकै हौँ । तर, सकेनौँ । हामीसँग दुईतिहाइ भएको भए पहिलो चरणको निर्वाचनपछि पनि संशोधनका लागि पहल गथ्र्यौं । तर, अहिले दुईतिहाइ नभएकाले पर्खनुपर्ने भएको छ । तपाईंहरूले सरकारलाई समर्थन पनि गर्नुभएको छ । हामी कांग्रेस, माओवादी तपाईंहरूसँग भएको समझदारीप्रति प्रतिबद्ध पनि छौँ । तपाईंहरू अब दोस्रो चरणको निर्वाचनमा आउनुस् । निर्वाचनलगत्तै हामी संविधान संशोधन गर्छौं । निर्वाचन हामी सबैको राष्ट्रिय एजेन्डा हो, निर्वाचन सार्ने कुरा नगरौँ ।

राजपाका नेता महन्थ ठाकुर र अनिल झाले भने
तपाईंहरूले निर्वाचनका लागि कानुन संशोधन पनि गरिदिनुभयो, तर संविधान संशोधन भएन । हाम्रो दल दर्ता पनि भएन, चुनाव चिह्न पनि पाएनौँ । दल दर्ता नहुने, चिह्न नपाउने, आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता नहुने, क्षतिपूर्ति नपाउने हुँदा हामी कसरी निर्वाचनमा जाने ? यसकारण निर्वाचनको मिति सारौँ ।

मधेसमा करिब साढे १३ हजार जनप्रतिनिधि
मधेसका २० जिल्लाका २७६ नगर वा गाउँपालिकाका प्रमुख हुनेछन् । त्यति नै संख्यामा उपप्रमुख हुन्छन् । ती स्थानीय तहमा करिब २६ सय वडाध्यक्ष निर्वाचित हुनेछन् । प्रत्येक वडाबाट चारजनाका दरले करिब १० हजार ४ सयजना सदस्य निर्वाचित हुनेछन् । त्यसरी हेर्दा मधेसका २० जिल्ला अहिलेकै स्थानीय तहको संख्याका आधारमा करिब साढे १३ हजार जनप्रतिनिधि निर्वाचित हुनेछन् । राजपा निर्वाचनमा सहभागी नहुने हो भने ती सबै अवसर गुमाउनेछ ।

राजपा निर्वाचनमा नगए के हुन्छ ?

एउटा धार छुट्छ
दोस्रो चरणको स्थानीय निर्वाचनमा राजपा सहभागी नहुँदा मधेस आन्दोलनको एउटा पक्ष राजनीतिक मूलधारबाट औपचारिक रूपमै अलग हुन्छ । मधेस आन्दोलनका पक्षधर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम निर्वाचनमा सहभागी भएकाले मधेसी राजनीति पूर्णतः अलग भने हुनेछैन । विश्लेषक तुलानारायण साहले मधेसमा निर्वाचन रोकिने सम्भावना भने नरहेको तर एउटा पक्ष छुट्दा राजनीतिक वैधानिकतामा भने प्रश्न उठ्ने टिप्प्णी गरे ।

मधेसको राजनीतिमा कित्ताकाट
उपेन्द्र यादव र विजय गच्छदारका दल निर्वाचनमा जाने, तर ६ वटा दल मिलेर बनेको राजपा निर्वाचनमा नजाने अवस्थामा मधेसको राजनीति औपचारिक रूपमा कित्ताकाट हुनेछ । अहिलेसम्मको विवाद काठमाडौं र मधेसको भन्ने थियो, अब मधेसभित्र नै निर्वाचन पक्षधर र निर्वाचनविरोधी हुनेछ । यस्तो कित्ताकाटले मधेसको समस्या झन् जटिल हुने साहको विश्लेषण छ । ‘राजपा निर्वाचनमा सहभागी नहुँदा मधेसभित्रै पनि धु्रवीकरण गराउँछ,’ साहले नयाँ पत्रिकासँग भने ।

दीर्घकालीन तनाव
अहिले निर्वाचनमा नजाने भनेको स्थानीय तहको नेतृत्वबाट पाँच वर्षसम्म पूर्णतः अलग हुनु हो । त्यस्तै स्थानीय तहमा भूमिकाविहीन भएको दल प्रादेशिक र संघीय निर्वाचनमा सहभागी हुने सम्भावना स्वतः कम हुन्छ । त्यसैले राजनीतिमा आफ्नो सान्दर्भिकता बचाइराख्न पनि राजपाले तनाव चर्काउन सक्छ । यस्तो अवस्थामा संविधानविरोधी समूहले वैधानिकता पाउने र द्वन्द्व बढ्ने साहको विश्लेषण छ । ‘राजपाविनाको निर्वाचनले मधेसमा राजनीतिक द्वन्द्व निरन्तर रहने खतरा देखिन्छ,’ साहले नयाँ पत्रिकासँग भने ।

राजपाका उदारवादीले पार्टी छाड्छन्
निर्वाचनमा सहभागी हुने विषयमा भएको अलमलले राजपाका जिल्ला र स्थानीय तहका नेताले पार्टी छाड्न थालेका छन् । स्थानीयस्तरका नेताहरू राजपा छाडेर उपेन्द्र यादवको संघीय समाजवादी फोरम, विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरम, कांग्रेस, एमाले र माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन् । जनप्रतिनिधिका रूपमा निर्वाचित भएर आफ्नो भूमिका बढाउन चाहने अन्य दलमा प्रवेश गर्दा राजपाको शक्तिमा क्षय हुनेछ ।

Source : Naya Patrika

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com