भिसा सकिएको ४८ महिना ननाघेकालाई २०२२ को डिसेम्बर ३१ सम्म विना अन्तरवार्ता भिजिटर भिसा


प्रकाशित मिति : पुस २४, २०७८ शनिबार

सन् २०२२ को डिसेम्बर ३१ सम्म भिजिटर भिसा सकिएको ४८ महिना ननाघेकाहरुले विना अन्तरवार्ता भिसा नविकरण गर्न सक्नेछन् ।  यो सुविधा अन्तरगत विगतमा अमेरिकाको गैरआप्रवासी भिसा भएका र भिसा सकिएको ४८ महिना ननाघेकाहरुले दूतावासमा अन्तरवार्ता नै दिन नगई ड्रपबक्स सुविधाबाट नयाँ भिसा प्राप्त गर्छन् ।

पहिले भिसा सकिएको १२ महिना ननाघेकाहरुलाईमात्र विना अन्तरवार्ता सोही श्रेणीको नयाँ भिसा प्रदान गर्न सकिने प्रावधान रहेकोमा कोरोना महामारीका कारण त्यसलाई बढाउँदै लगिएको थियो । अमेरिका अन्य कैयन श्रेणीका भिसामा समेत अन्तरवार्ता छुटको व्यवस्था गरेको छ ।

त्यस्तै पहिले कुनै पनि प्रकारको भिसा लिएकाहरुलाई विना अन्तरवार्ता विद्यार्थी भिसा उपलब्ध गराउने नीतिमा पनि एकबर्ष म्याद थपिएको छ । एफ, एम र जे भिसा आवेदकहरुले विगतमा कुनै पनि प्रकारको भिसा प्राप्त गरेको भएमा विना अन्तरवार्ता सन् २०२२ को डिसेम्बर ३१ सम्म भिसा प्राप्त गर्नसक्नेछन् ।

अमेरिकी दूतावास काठमाडौं

अमेरिकी दूतावास काठमाडौंले नोभेम्बरदेखि लागु हुनेगरी विगतमा कुनै पनि प्रकारको भिसा लिएका एफ, जे र एम भिसा आवेदकलाई विना अन्तरवार्ता भिसा उपलब्ध गराउन सुरु गरेको थियो ।

एफ, एम र जे भिसामा अन्तरवार्ता छुट पाउनका लागि नेपालको नागरिक हुनुपर्ने वा विगत ६ महिनादेखि नेपालमा बसोबास गरेको हुनुपर्ने, विगतमा कुनै पनि प्रकारको अमेरिकाको भिसा जारी भएको हुनुपर्ने, अन्तिमपटक कुनै पनि प्रकारको भिसाका लागि दिएको आवेदन अस्वीकृत नभएको हुनुपर्ने, पछिल्लो भिसा खारेज भएको, चोरी भएको वा हराएको हुन नहुने लगायतका मापदण्ड तोकिएको छ ।

त्यस्तै विगतमा भिसा लिंदाको नाम, जन्ममिति, जन्मस्थान, राष्ट्रियता परिवर्तन भएको हुनुहुदैन भने परिवर्तन भएको खण्डमा उचित कारण पेश गर्नुपर्ने, विगतको अमेरिका भ्रमणका क्रममा अमेरिकाका अध्यागमन कानूनको पालना गरेको हुनुपर्ने मापदण्ड रहेको छ । विगतमा जारी भएको भिसा विद्यार्थी भिसा नै हुन जरुरी छैन, कुनै पनि प्रकारको गैर आप्रवासी भिसा जारी भएकाहरुले विना अन्तरवार्ता विद्यार्थी भिसा पाउन सक्ने प्रावधान ल्याइएको छ ।

विना अन्तरवार्ता भिसा प्राप्त गर्न आवेदकले सुरुमा अनलाइन प्रोफाइल बनाउनुपर्छ । त्यसपछि आवेदन प्रकृयामा लैजानुपर्छ । दुईप्रति अन्तरवार्ता छुट कन्फर्मेशन पत्र प्रिन्ट गरेर ६ वटामध्र्ये एउटा कागजात डेलिभरी सेन्टरमा आफ्ना कागजातहरु बुझाउनुपर्छ । पासपोर्टसहित सबै कागजातहरु डेलिभरी सेन्टरमा बुझाएपछि भिसा प्राप्त गर्न सकिन्छ । दूतावासमा कुनै अप्वाइन्टमेन्ट लिन आवश्यक पर्दैन ।

कागजात बुझाउँदा अनलाइनबाट प्रिन्ट गरेको अन्तरवार्ता छुटको पत्र, कम्तीमा ६ महिना अवधि भएको पासपोर्ट, पछिल्लो अमेरिकाको भिसा भएको पासपोर्ट, डीएस १६० भरेको कन्फर्मेशन पेज, शुल्क तिरेको रिसिप्ट, ६ महिनाभित्र खिचेको फोटो, आई २० को प्रतिलिपी र ओरिजिनल ट्रान्सक्रिप्ट, जे भिसाका लागि ओरिजिनल डीएस २०१९ लगायतका कागजातहरु पेश गर्नुपर्छ । फोटो विगतको भिसामा प्रयोग भएको भन्दा फरक हुनुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com