मनाइयो राष्ट्रिय पोशाक एवं टोपी दिवस


प्रकाशित मिति : पुस १७, २०७८ शनिबार

जागरुक युवा अभियान नेपालको आयोजनामा नवौँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ । ‘नेपाली टोपी स् हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाएका हुन् । कोरोना जोखिम कायमै रहेकाले धेरै भीडभाड नगरी दिवस मनाइएको अभियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७१ देखि दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिएको छ । नौ वर्ष अघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।

नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनर्जागरण हुन थालेको छ । औपचारिकरूपमा राष्ट्रिय पोशाक हटाइएपछि युवा जागरुक भएर यो अभियान सुरु गरेका हुन् । उत्साही युवा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्दन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल, जनक कार्की र लक्ष्मण लम्सालले सुरु गरेको यो अभियान अहिले हजारौँ युवामाझ लोकप्रिय भएको छ । फाईल फोटो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com