जाडो बढ्दा किन काटियो बिजुली : उपभोक्तालाई कुलमान घिसिङको यस्तो छ जबाफ !


प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार

रमेश लम्साल/ मङ्गलबार रातिदेखि देशभर नै वर्षा भयो । बुधबार त दिनभर नै पानी प-यो । जाडोको समयमा पानी पर्दा काठमाडौँ वरीपरीमा डाँडामा हिउँ पनि परे । चन्द्रागिरी त हिउँ खेल्नेको भीड नै लाग्यो । तर, यही बेला राजधानीका विभिन्न स्थानमा बिजुली काटियो । पुसको जाडोमा बिजुली काटिँदा धेरैले के भएको हो भनेर जिज्ञासा राखे । सामाजिक सञ्जालमा अघोषित लोडसेडिङ भएको त होइन भनेर चासो उत्पन्न भयो ।

विशेषगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रश्न तेस्र्याउँदै उपभोक्ताले चासो राखे । जाडोको समयमा सकेको जति बिजुली चलाऊ भन्दै आएको प्राधिकरणले किन बिजुली काटियो भन्ने बारेमा उपभोक्तालाई जानकारी त दियो, तर सबैले थाहा पाउन सकेनन् । वर्षात्का काराण बुधबार २०० मेगावाट बराबरको बिजुली प्रणालीले उपलब्ध गराउन कठिनाइ भयो । त्यसकारण उपभोक्तामा के भएको होला वा के गरेको होला भनेर चिन्ता वा चासो व्यक्त हुनु स्वभाविक नै थियो ।

आम रूपमा चासो व्यक्ति भए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भन्नुभयो, “एकै पटक धेरै स्थानमा ट्रान्सफर्मरहरूमा समस्या देखा परेकाले केही जटिलता पैदा भयो । पानीका कारण कतिपय स्थानमा समयमै मर्मत गर्न पनि कठिनाई भयो । त्यसकारण उपभोक्ताको तहबाट चासो हुनु स्वभाविक नै हो ।”

उहाँले बिजुलीको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको जानकारी दिनुभयो । प्राधिकरणको आग्रह अनुसार नै बिजुलीको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा केही स्थानमा समस्या उत्पन्न भएको र त्यो समस्या आजदेखि समाधान हुने उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले बिजुलीको आपूर्ति नभएर वा नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति माग आए पनि उपलब्ध गराउन सक्ने अवस्थामा प्राधिकरण रहेको बताउनुभयो । उहाँले काठमाडौँ उपत्यका भित्रको बिजुलीको माग व्यवस्थापनका लागि विभिन्न स्थानमा नौ वटा सबस्टेशन निर्माणको क्रममा रहेकाले ती सम्पन्न भएपछि दुई हजार मेगावाट बराबरको बिजुली उपलब्ध गराउन सकिने तथ्याङ्क पेश गर्नुभयो ।

“दीर्घकालीन रूपमा काठमाडौँ उपत्यकामा २ हजार मेगावाट बराबर बिजुली उपलब्ध गराउने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो, “केही ट्रान्सफर्मर लोडअनुसार फेरिरहेको र केही फिडरहरूमा आगलागी भएको कारणले समस्या आइलागे ।” उहाँले पछिल्ला केही दिनदेखि आपूर्ति व्यवस्थापनमा समस्या आएको जनगुनासो आएको र त्यो देशभर नभई काठमाडौँमा मात्रै भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो सप्लाइको कारणले उत्पन्न भएको समस्या होइन । सप्लाई नपुगेकाले हामीले आपूर्ति नभएको पनि होइन । काठमाडौँका सबै ठाउँमा यो समस्या आएको पनि होइन । केही ठाउँहरूमा मात्र समस्या भएको हो ।” उहाँले साँझको समयको अधिकतम माग हाल एक हजार ७०० मेगावाट र बिहान एक हजार ५५० मेगावाटदेखि एक हजार ६०० मेगावाटको हाराहारीमा रहेको जानकारी दिनुभयो ।

माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि बिहान र बेलुकाको अधिकतम माग व्यवस्थापनमा सहज भएको जानकारी दिँदै उहाँले बढी माग हुने साँझ बिहानको समयमा व्यवस्थापन गर्न सहज भएको बताउनुभयो । राजधानीमा जाडो बढेपछि बिजुलीको माग बढ्नु स्वभाविक रहेको उहाँको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष उपत्यकामा नै ८० देखि १०० मेगावाट बराबरको माग बढ्न गएको उहाँले विवरण पेश गर्नुभयो । वर्षातका कारण केही स्थानमा बिजुलीको माग अप्रत्यासित रूपमा वृद्धि भएकाले केही जटिला देखिनु स्वभाविक रहेको उहाँको भनाइ छ ।

प्राधिकरणका अनुसार काठमाडौँ उपत्यकामा मात्रै तीन हजार ७०० वटा ट्रान्सफर्मर छन् । हाल मुख्यगरी वितरण ट्रान्सफर्मरमा समस्या देखिएको हो र ओभरलोड भएको हो । उहाँले भन्नुभयो, “लोडअनुसार हामीले ट्रान्सफर्मरहरू फेर्ने काम गरिरहेका छौँ । केही फिडरमा पनि आगलागी भयो । केही स्थानमा भने ट्रान्सफर्मर पछि पनि घरमा लगिएका तारमा आगलागी भएकाले समस्या देखा प¥यो ।”

उहाँले काठमाडौँ उपत्यकामा ट्रान्सफर्मर परिवर्तन भइसक्ने हुनाले बिजुलीको समस्या नहुने जानकारी दिनुभयो । जग्गाको अभाव तथा केही स्थानमा स्थानीयले सबस्टेशन राख्न नदिएको तथा ट्रान्सफर्मर समेत राख्न नपाएकाले पनि समस्या पैदा भएको उहाँको गुनासो छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com