४२ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा फेब्रुअरीमा करेन्ट, डीएस २६० मात्र बुझाए पुग्ने


प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार

आगामी फेब्रुअरीमा डिभी २०२२ का ४२ सयसम्म केस नम्बर हुने नेपाली विजेताहरुको भिसा करेन्ट हुने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार फेब्रुअरीमा डाइभर्सिटी भिसा पाउन सक्ने नेपालीहरुको संख्या तोकिएको हो ।

जनवरीमा ३२ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुको भिसा करेन्ट हुनेछ । अर्थात् सबै प्रकृया पूरा भएको खण्डमा र सबै योग्यताका मापदण्ड पूरा गरेको खण्डमा उनीहरुले जनवरीमा भिसा पाउन सक्नेछन् । यद्यपी अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताहरुलाई प्रयाप्त भिसा अप्वाइन्टमेन्टहरु उपलब्ध भने गराउन सकेको छैन ।

आर्थिक बर्ष सन् २०२२ का लागि गत मे ८ मा डिभी लोटरीको नतिजा सार्वजनिक गरिएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् ।

बढीमा ५५ हजार डिभी विजेताहरुले भिसा पाउनसक्ने भएतापनि १ लाख १९ हजार २१ जनाले सन् २०२२ को डिभी पारेका छन् । उनीहरुमध्ये कैयन अयोग्य हुनसक्ने भएकाले अमेरिकाले भिसा दिने नम्बरभन्दा धेरैलाई डिभी पार्दै आएको छ ।

सन् २०२२ का लागि कुल ७३ लाख ३६ हजार ३ सय २ जनाले डिभी भरेका थिए । आफन्तहरुसहित सन् २०२२ को डिभीमा सहभागी हुनेहरु विश्वभरबाट कुल १ करोड ३१ लाख ९१ हजार २ सय ९६ जना रहेका थिए ।

डिभी २०२२ का विजेताले केन्टकी सर्भिस सेन्टरमा डीएस २६० मात्र बुझाए पुग्ने

तत्कालदेखि लागु हुने गरी अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी २०२२ का विजेताहरुका लागि केन्टकी सर्भिस सेन्टरमा डीएस २६० आप्रवासी भिसा आवेदन फर्ममात्र बुझाए पुग्ने व्यवस्था गरेको छ । उनीहरुले आफ्नो र साथमा अमेरिका आउने परिवारका सदस्यहरुको डीएस २६० फर्म बुझाउनुपर्ने र अन्य थप कागजात आवश्यक नपर्ने जनाइएको छ ।

केससँग सम्बन्धित सबै आवेदकको डीएस २६० आप्रवासी भिसा आवेदन फर्म प्राप्त गरिसकेपछि केन्टकी सर्भिस सेन्टरले भिसा अन्तरवार्ता तय गर्नेछ । दूतावास वा कन्सुलेटमा भिसा अन्तरवार्ता तय गर्नका लागि आवेदकले अबदेखि केन्टकी सर्भिस सेन्टरमा थप कागजातहरु बुझाउन नपर्ने विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

थप कागजातहरु दूतावास वा कन्सुलेटमा अन्तरवार्ताका समयमा संकलन गरिने भएको छ । अमेरिकी कानूनले भिसाको योग्यता पूरा गर्नका लागि आवेदकले सबै आवश्यक कागजातहरु बुझाउनुपर्ने व्यवस्था गरेको छ । आवश्यक कागजातको सुची यहाँ हेर्न सक्नुहुनेछ ।

आवश्यक कागजात नबुझाएको खण्डमा दूतावास वा कन्सुलेटले भिसा अस्वीकृत गर्ने जनाइएको छ । कागजातको अभावका कारण भिसा अस्वीकृत भएको अवस्थामा पछि कागजातहरु पेश गरेर भिसा प्राप्त गर्नभने सकिने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । आवश्यक सबै कागजातका साथ अन्तरवार्ताकै समयमा भिसाका लागि योग्यता प्रमाणित गर्न सुझाव दिइएको छ ।

केन्टकी सर्भिस सेन्टर

अन्तवार्ताभन्दा अगाडि भिसा आवेदकले राम्रोसँग तयारी गरेको र आवश्यक कागजात सुरक्षित रहेको सुनिश्चित गर्न केन्टकी सर्भिस सेन्टरले आवेदनहरु पूर्व प्रकृयामा लैजादै आएको छ । यसले कन्सुलर सेक्सनको प्रभावकारिता बढाउनुका साथै आवश्यकहरुलाई आफ्नो योग्यता प्रमाणित गर्न सहयोग गरेको थियो ।

केन्टकी सर्भिस सेन्टरमा कागजात प्रमाणिकरण गर्दा लामो समय लाग्ने भएपछि डिभी विजेताहरुले समयमा भिसा पाउन नसकेको अवस्थामा सबै उपलब्ध डिभी अप्वाइन्टमेन्टहरुको प्रयोग गर्नका लागि नयाँ नियम ल्याइएको अमेरिकी विदेश मन्त्रालयको भनाई छ । यसलाई पाइलट कार्यक्रमका रुपमा ल्याइएको र बर्षको अन्तिममा कार्यक्रमको लागत र लाभबारे विश्लेषण गरिने जनाइएको छ ।

केन्टकी सर्भिस सेन्टरले आवश्यक कागजात समेत मूल्यांकन गरेर डिभीका लागि दूतावासमा अन्तरवार्ता तय गर्दा गत अक्टोबरमा विश्वभरबाट निकै कममात्र विजेताहरुले भिसा प्राप्त गरे । केन्टकी सर्भिस सेन्टरको ढिलाई कारण अक्टोबरमा कोही पनि नेपाली डिभी विजेताहरुले भिसा प्राप्त गर्न सकेका थिएनन् ।

अक्टोबरमा भिसा नदिइएको खुलासा

डिभी २०२२ का डिभी विजेताहरुले अक्टोबर १ देखि अमेरिकाको भिसा पाउने प्रावधान रहेपनि कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबरमा भिसा नदिइएको खुलासा भएको छ । अक्टोबरमा ४५० जना नेपालीहरुलाई आप्रवासी भिसा दिइएपनि डिभी विजेता भने कसैले पनि पाउन सकेनन् ।

अक्टोबरमा विश्वभरबाट जम्मा १० जनालाईमात्र डाइभर्सिटी भिसा दिइएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सबाट जारी रेकर्डमा उल्लेख गरिएको छ । जबकी कोरोना महामारी अगाडि सन् २०१९ को अक्टोबरमा ८० जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो ।

अक्टोबरमा ९ सयसम्म केस नम्बर हुने नेपालीहरुका लागि डाइभर्सिटी भिसा करेन्ट रहेको थियो । २०२२ का डिभी विजेताहरुले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्ने प्रावधान रहेको छ । अदालतले विदेश मन्त्रालयबाट लागु भिसाको प्राथमिकता खारेज गरेपनि दूतावासले भने भिसा जारी गर्नमा देखाएको उदासिनताका कारण डिभी विजेताहरु चिन्तित छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com