सोमबारदेखि अमेरिका प्रवेशका लागि २४ घण्टाभित्रको नेगेटिभ कोरोना रिपोर्ट अनिवार्य


प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार

अमेरिकामा बाइडेन प्रशासनले अमेरिका प्रवेश गर्ने ग्रिनकार्डवाहक र नागरिक लगायत सबैलाई २४ घण्टाभित्रको कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम घोषणा गरेको छ । सोमबारदेखि लागु हुने यो नियम बिहिबार घोषणा गरिएको हो । त्यस्तै मार्च १८ सम्मका लागि सार्वजनिक यातायात र हवाई उडानमा मास्क अनिवार्य गरिएको छ ।

अमेरिकामा ३० देशबाट आउनमा लगाइएको प्रतिबन्ध हटाइएको तीनसातापछि नयाँ नियमको घोषणा गरिएको हो । यस अगाडि ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट र भ्याक्सिन लगाएको हुनुपर्ने प्रावधान रहेको थियो । भ्याक्सिन अनिवार्यको नियम भने नोभेम्बरबाटमात्र लागु गरिएको हो ।

कोरोनाको ओमिक्रोन भेरियन्टका कारण अमेरिकाले नयाँ नियमको घोषणा गरेको हो । यसले कोरोना सम्बन्धि पहिलेदेखि लागु भइरहेका नियमलाई अझ मजबुत बनाउने सीडीसीको भनाई छ ।

गतसाता राष्ट्रपति जो बाइडेनले दक्षिण अफ्रिका र ७ देशबाट अमेरिका आउनमा प्रतिबन्ध घोषणा गरेका थिए । यो यात्रा प्रतिबन्ध कहिलेसम्म लागु हुने भन्नेबारे केही बताइएको छैन । राष्ट्रपति जो बाइडेनले आगामी अवस्थामा भर पर्ने बताएका छन् । हरेक साताको अवस्थाको मूल्यांकन गरेर निर्णय लिइने उनले बताएका छन् ।

बिहिबार बाइडेनले चिसो मौषमका लागि कोरोनाबिरुद्ध लड्ने नयाँ रणनीति सार्वजनिक गरेका हुन् । जसमा लकडाउन र शटडाउन होइन, भ्याक्सिन अभियान, बुस्टर शट अभियान, परीक्षण तीब्र लगायतका योजनाहरु समेटिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com